मुस्ताङमा ४८ हजार थान उच्चघनत्व स्याउ बिरुवा भित्रियो
जोमसोम : मुस्ताङमा ईटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा आधारित ४८ हजार थान रुट स्टक कलमी स्याउका बिरुवा आईपुगेको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि विकास निर्देशानालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ईटालीबाट ढुवानी गरी उच्चघनत्वको स्याउ बिरुवा मुस्ताङ ल्याईएर वितरण गरिएको हो।
गण्डकी प्रदेशको कृषि विकास निर्देशानालयले मुस्ताङका स्याउ किसानको माग अनुसार ईटालीबाट आयात गरिएको ४८ हजार थान उच्च घनत्व प्रविधिमा आधारित स्याउका कलमी बिरुवा पोखराबाट ९ वटा ट्रकमा ढुवानी गरी मुस्ताङ ल्याईएको हो। अहिलेसम्मकै ठूलो परिमाणमा उच्च घनत्वको स्याउ बिरुवा मुस्ताङमा ल्याएर वितरण गरेको निर्देशानालय जनाएको छ। प्रदेश सरकारमार्फत वितरण गरिएका स्याउ बिरुवामा गोल्डेन डेलिसियस, रेड डेलिसियस, फुजी र गावा जातका छन्। मुस्ताङ ल्याएका स्याउ बिरुवा जिल्लाको ५ वटै तहमा पुर्याईने जनाईएको छ।
सुरुवाती चरणमा मनाङको मनाङ एग्रो फार्मले उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेतीको नमूना परीक्षण गरेको थियो। मनाङमा यसप्रकारको उच्च घनत्व प्रविधिमा स्याउ खेती सफल भएपछि मुस्ताङमा यो प्रविधि भित्रिएको हो। मुस्ताङका स्याउ किसानले यसअघि परम्परागत स्याउ खेती गर्दैआईरहेकोमा आर्थिक वर्ष २०७६/०७७ सालदेखि उच्चघनत्वमा आधारित स्याउ बिरुवा लगाउन सुरु गरेका थिए।
मुस्ताङमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती सफल हुन थालेपछि यहाँका किसानको आर्कषण यसतर्फ बढेको हो।
गण्डकी प्रदेशको कृषि विकास निर्देशानालयले २०७६ सालदेखि बर्सेनि स्याउ किसानको मागका आधारमा ७५ अनुदान सहुलियतमा ईटालियन उच्च घनत्वको रुट स्टक कलमी बिरुवा बितरण गर्दैआईरहेको छ। निर्देशानालयले ईटालीबाट आयात गरिएको करिव ५ करोड ४ लाख मुल्य बराबरको उच्च घनत्वको स्याउ बिरुवा मुस्ताङमा ल्याएर वितरण गरेको हो।
स्थानीय जाँतका परम्परागत स्याउ बिरुवाभन्दा १० औं गुणा महङ्गो पर्ने एउटै बिरुवाको मुल्य ईटालीबाट मुस्ताङसम्म आईपुग्दा १ हजार ५० रुपैया पर्न जान्छ। ढुवानीका कारण महङ्गो पर्ने भएपनि उच्च घनत्वको स्याउ बिरुवा खरिद गर्दा स्याउ किसानले २५ प्रतिशत मात्र तिरे पुग्ने भएकाले यहाँका स्याउ किसानले उच्च घनत्वको स्याउ बिरुवामा राहतको महशुस गरेका छन्।
स्याउ उत्पादनले प्रचुर सम्भावना रहेको मुस्ताङमा स्याउ किसान, कृषि समूह, कृषि सहकारी, कृषि फार्म र कृषि प्राईभेट लिमिटेडलगायतलाई ७५ प्रतिशत अनुदान दिने गरी गण्डकी प्रदेश सरकारले उच्चघनत्वमा आधारित रुट स्टक स्याउका कलमी बिरुवा वितरण गरेको प्रदेश कृषि विकास निर्देशनालयका लेखा अधिकृत ढाकाप्रसाद शर्माले जानकारी दिए।