अवैधानिक लघुवित्तको नाममा रकम असुली, कानूनको दायरामा ल्याउन संघको आग्रह
काठमाडौं : लघुवित्त वित्तिय संस्थाविरूद्धको संघर्ष समिति नामको अवैधानिक संगठन नाममा केही व्यक्तिहरूले सर्वसाधारणबाट उक्त समितिको सदस्यता प्रदानगर्ने भन्दै अवैधानिकरुपमा रकम असुल गरेको खुलासा भएको छ। नेपाल लघुवित्त बैंकर्स संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दैयस्ता कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याउन आग्रह गरेको छ।
लघुवित्त कम्पनीहरूको खारेज गर्नुपर्ने माग राख्दै आएको संघर्ष समिति ‘लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति’प्रति संघको ध्यानाकर्षण भएको छ। संघका अध्यक्ष प्रकाश राज शर्माका अनुसार तिनीहरुले लघुवित्तलाई खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋण मिनाहा गर्नुपर्ने जस्ता मागहरू राज्यको प्रचलित नियम तथा कानूनहरूको ठाडो उल्लघंन तथा विपरित देखिएको भन्दै संघले यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई यथाशिघ्र कानूनको दायरमा ल्याउनसमेत सरोकारवालासंग अनुरोध गरेको छ। लघुवित्त संस्थाहरूको भूमिका र योगदानलाई नजर अन्दाज गर्दै यस क्षेत्रको बदनाम गरीएको संघको भनाइ छ।
‘लघुवित्त संस्थाहरूको भूमिका र योगदानलाई नजर अन्दाज गर्दै यस क्षेत्रलाई बदनाम गर्ने र वित्तीय पहुँचमा वाधा पुर्याउने उद्देश्यले केही निहित स्वार्थ भएका व्यक्तिहरुले विभिन्न माध्यमबाट समग्र लघुवित्त वित्तीय संस्थाहरू प्रति लगाएको भ्रामक आरोपहरू प्रति लघुवित्त वित्तीय संस्थाहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको गम्भिर ध्यानाकर्षण भएको छ’ संघद्वारा जारी बिज्ञप्तीमा भनिएको छ।
हाल देशका ७७ जिल्लाका करिब ५८ लाख सदस्यहरू लघुवित्त संस्थाहरूमा संलग्न छन्। करिब ३३ लाख सदस्यहरूले विभिन्न परियोजनाको लागि ऋण लिई आयमुलक व्यवसायमा संलग्न रहेको संघले जानकारी दिएको छ।