मिनी ग्रेटवाल बन्दीपुरको कमाल
तनहुँ : प्रकृति र संस्कृतिको अनुपम थलो हो, बन्दीपुर। पहाडकी रानी उपनापले समेत चर्चित बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षण केन्द्र बनेको छ। समुद्र सहतदेखि १ हजार ३० मिटर उचाइमा अवस्थित यो ठाउँ पर्यटकीय आवागमनको दृष्टिले पनि उच्च शिखरमा छ।
बजार क्षेत्रमा नेवार समुदायको पुरानो भक्तपुरे शैलीमा निर्माण गरिएका मौलिक घरहरू, ४५० वर्षभन्दा पुरानो खड्गदेवी मन्दिरलगायत महालक्ष्मी, मुकुन्देश्वरी देवी, चण्डीथान जस्ता धार्मिक स्थल, लाखे नाच, झ्याउरे, चुट्का, ख्याली, झ्याली, झ्यालेपुतली जस्ता संस्कृतिले भरिपूर्ण छ। त्यस्तै, पृथ्वीनारायण शाहको मावली गाउँ, पराक्रमी राजा मुकुन्द सेनको तपस्या स्थल बन्दीपुरको गर्विलो इतिहास, पातालाद्वार, सिद्ध गुफा, मुकुन्देश्वरी डाँडा, तारेभीर र राजनीतिक लोमहर्षक पृष्ठभूमि बोकेको टुँडिखेल, नेवार, गुरुङ र मगर जातिको फरक–फरक संस्कृति, शान्त, सफासुग्घर र मनोरम वातावरण बन्दिरपुरको प्रमुख विशेषता हो।
सिंगो विश्वलाई लोभ्याउने हिमालको सिरानी हाली छिम्मेश्वरीको काखमा रित्तो टुँडिखेल बिछ्याएर बन्दीपुरले पाहुनाको स्वागत गरिरहेको छ। आधुनिक विकासले बन्दीपुरे मौलिकतालाई प्रभाव पारेको भए पनि इतिहासबाट पाएको मायाले बन्दीपुर मौलिकतामा धपक्क बलेको छ, बन्दीपुर। घुम्न, हेर्न र रम्न चाहने जोसुकैका लागि हरपल हिमालको मुस्कान पोखिरहने बन्दीपुर प्राकृतिक र साँस्कृतिक सौन्दर्यको एक अनुपम भएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बन्दीपुरलाई अझै सिँगार्न ‘मुकुन्देश्वरी पर्खाल’को अवधारणा ल्याइयो। झट्ट हेर्दा, चीनको ‘ग्रेटवाल’ जस्तो देखिने भएकाले यो पर्खाल मिनी ग्रेटवालको नामले चर्चित छ। २.६ किलोमिटर लम्बाइ भएको उक्त पर्खालले प्रारम्भिक चरणमै बाह्य तथा आन्तरिक पर्यटकको ध्यान खिचेको छ। निर्माणको सुरुआती चरणमै ग्रेटवालको आकार लिएको मुकुन्दसेन पर्खालले बन्दीपुर पुग्ने जोकोहीलाई नजर लागाउने बनाएको छ। बन्दीपुर जानेहरू मिनी ग्रेटवाल नपुग्ने सायदै कोही होलान्।
निर्माणाधीन ‘मुकुन्देश्वरी पर्खाल’ प्रति पर्यटकको आकर्षणले बन्दीपुरको पर्यटन व्यवसायमा थप टेवा पुगेको छ। स्थानीय तहको पहिलो निर्वाचनपछि भएका उल्लेख्य कामहरूमध्ये पर्यटन प्रबद्र्धनका लागि भनेर ल्याइएको अवधारणा हो, यो। यसलाई एउटा गतिलो सुरुआत मान्न सकिन्छ। डाँडाकाँडा, भीरपाखा र कहीँ कतै थुम्का परेको भौगोलिक बनावट लिएर स्थापित बन्दीपुरको सुन्दरतामा मुकुन्देश्वरीले थप सौन्दर्य भरेको छ। मुकुन्देश्वरी पर्खाल अर्थात् मिनी ग्रेटवाल बन्दीपुर आउने पाहुनाका लागि अब अर्को प्रमुख आकर्षण गन्तव्य हो।
मिनी ग्रेटवाल बनाउन गाउँपालिकाले गुरुयोजना बनाएको थियो। निर्माण सम्पन्न गर्न कुल १९ करोड ४४ लाख १३ हजार ४२० रुपैयाँ लागत अनुमान गरिएको छ। पहिलो चरणमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ३ करोड ५० लाख विनियोजित भएको थियो। र, गाउँपालिकाले आन्तरिक स्रोतबाट १ करोड ५० लाख लगानी गरेको प्राविधिक शाखा प्रमुख इन्जिनियर सन्तोष थापाले बताए। थापाका अनुसार योजना सम्पन्न गर्न धर्म एन्ड कश्यप जेभी कलंकी काठमाडौंसँग ३ करोड ६९ लाख ३४ हजार ५३० रुपैयाँमा सम्झौता भएको छ।
दुई पक्षबीच २०७८ भदौ १२ गते सम्झौता भएको हो। उनले भने, ‘सम्झौताअनुसार ठेक्का पाएको निर्माण कम्पनीले आगामी फागुन ३० गतेभित्र योजना सम्पन्न गर्नुपर्ने छ। तर, हालसम्म १२ प्रतिशत मात्र काम भएकोे छ।’ उनका अनुसार ग्रेटवालमा पैदलमार्गका लागि दुवै पर्खालमा स्थानीय बन्दीपुरे ढुंगा छाप्ने, ढुंगाकै सिँढी बनाउने, बन्दीपुर लेखिएको गेट तयार गर्ने, (जुन गेट डुम्रे बजारबाट देखिनेछ), घुम्न आउनेहरूका लागि बस्ने ठाउँ, क्यान्टिन, बाथरुम, पानी टयांकी निर्माण गरिनेछ। रातमा समेत पैदल हिँड्न मिल्ने गरी ३ सयवटा बत्ती राख्नेछ।
मिनी ग्रेटवाल देशकै नौलो र नमुना योजना
बन्दीपुर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र थापाले मिनी ग्रेटवाल देशकै नौलो र नमुना योजना भएको बताए। उनले यो निर्माण सम्पन्न भइसकेपछि पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्ने दाबी गरे। ‘यो चाइनाको ग्रेटवालको झल्को दिने खालको छ। दुवैतर्फ पर्खाल छ। त्यसमा बन्दीपुरे ढुंगा छापेर सिँढीको हिसाबले अगाडि बढाउँदै लगेपछि यसले एउटा छुट्टै रौनकता दिनेछ। बन्दीपुरको पर्यटनलाई यसले अझै उचाइमा पुर्याउने हामीले विश्वास गरेका छौं।’
अध्यक्ष थापाले आफ्नो ५ वर्षे कार्यकालमा मिनी ग्रेटवालको निर्माणलाई प्राथमिकतामा राखेको बताए। उनले बन्दीपुर बजारको डीपीआर गरेर सोहीअनुसारको प्राकृतिक खालको देखिने र पुरानो सम्पदा नमेटिने गरी सबै पार्क, धारा, चौतारा र घरहरूको संरचनालाई मौलिकतामा परिणत गर्ने बताए। उनले भने ‘हामीले भवन संहितालाई पनि परिवर्तन गरेर आरसीसी गरी बनाइएका घरहरू सबैलाई पौराणिकतामा ढाल्ने गरी बाहिरबाट कभर लगाउँछौं। पुरै घरको माथिबाट मौलिकता प्रदर्शन हुने गरी छाना हालेर छुट्टै किसिमको बन्दीपुरको आभास दिने किसिमले हामी अगाडी बढ्नेछौं।’
स्थानीय पर्यटन व्यवसायीमा उत्साह
अहिले मिनी ग्रेटवालको प्रारम्भिक चरणको काम भइरहेको छ। पर्खालको दुवैतर्फ गारो लगाउने कामले निरन्तरता पाएको हो। कोरोना कहर र चुनावी गतिविधिले स्थिर बनेको काम अहिले तीव्र गतिमा भइरहेको छ। ग्रेटवालको काम सुरु हुँदै गर्दा बन्दीपुरका पर्यटन व्यवसायीहरूमा पनि उत्साह थपिएको छ। ग्रेटवालको अवधारणाले बन्दीपुरको पर्यटन विकासमा महŒवपूर्ण टेवा पुग्ने बन्दीपुर पर्यटन विकास बोर्डका अध्यक्ष वंैश गुरुङले बताए। उनले भने ‘ यो ग्रेटवाल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको थलो बन्नेछ र यसले बन्दीपुरको पर्यटनमा थप टेवा पुर्याउनेछ।’ अध्यक्ष गुरुङले संरचना निर्माण गर्दा प्रकृतिमैत्री हुनुपर्ने र समयमै योजना सक्नुपर्नेमा जोड दिए।
यता, बन्दीपुर सामुदायिक होमस्टेकी अध्यक्ष दिलकुमारी रानाले मिनी ग्रेटवालको निर्माणलाई लिएर आफूहरू उत्साहित भएको बताइन्। उनले भनिन्, ‘हाम्रो होमस्टेमा आउनु हुने पाहुनाहरूले मिनी ग्रेटवालको विषयमा निकै चासो र जिज्ञासाहरू राख्नुहुन्छ। कहिले बन्छ ? अब कस्तो बन्छ ? भनेर प्रश्न गर्नुहुन्छ।’ पहिले हामीले बन्दीपुरमा थानीमाई मन्दिर रहेको डाँडा छ। सिद्ध गुफा र टुँडिखेल छ। तीनधारे छ। हाम्रो संस्कार र संस्कृति छ भनेर भन्थ्यौं। अब मिनी ग्रेटवाल छ भनेर भन्न पाएका छौं। गर्व लाग्छ।’
मिनी ग्रेटवालको अवधारणा
स्थानीय तहको निर्वाचन २०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएपछि पूर्णसिङ थापालाई बन्दीपुरको मौलिकतालाई बचाउने, इतिहासको उजागर गर्ने र पाहुनाको बसाइँ लम्ब्याउनुपर्ने प्रमुख चुनौती थियो। अन्य विकास निर्माणका कामहरू नियमित नै थिए। तर, पर्यटनका क्षेत्रमा नयाँ केही गर्नुपर्छ भन्ने विषयले अध्यक्ष थापालाई पिरोलिरहन्थ्यो।
मिनी ग्रेटवालको थ्रीडी तस्बिर ।
पूर्वअध्यक्ष थापा ग्रेटवाल र टुँडिखेलमा सीसाको पुल बनाउने योजना हच्चुवाको भरमा आएको बताउँछन्। ‘नयाँ केही गरौं भनेपछि संसारमा अहिले के चलेको छ भन्ने विषयमा अध्ययन गर्न सुरु गरें,’ उनले भने, ‘चीनको ग्रेटवालकोे इतिहासबारे मलाई राम्रोसँग थाहा थियो। बन्दीपुर बजारसँग जोडेर केही गर्न पाए पर्यटकको बसाइ पनि लम्बिएला। यसले गर्दा व्यवसायहरू फस्टाउँथ्यो र रोजगारको अवसरहरू खुल्थ्यो भन्ने लाग्यो।’
उनले पर्यटन प्रबद्र्धनका लागि ऐतिहासिक सम्पदा र इतिहासलाई जोड्नुर्पछ भन्ने आफ्नोे धारणा रहेको सुनाए। ‘पर्यटन क्षेत्रमा हाम्रो सम्पदा र इतिहासलाई जोडेर काम गर्यौं भने धैरे प्रचार गर्नुपर्दैन। किनकी इतिहास आफैं बोल्छ। त्यसैले पनि इतिहासलाई उजागर गर्न बन्दीपुरलाई मुकुन्देश्वरी डाँडासम्म जोड्ने निधोअनुरूप मुकुन्दसेन पर्खालको कन्सेप्ट (अवधारणा) आएको हो,’ उनले भने, ‘किन भन्दा त्यहाँ बाटो लैजान पनि सम्भव थिएन। लगेको भए प्रकृति बिग्रन्थ्यो। बरू पहिला हाम्रा पुर्खाहरू जुन–जुन बाटो जसरी हिँड्नुभयो। त्यही बाटोलाई नयाँ स्वरूपमा बनाएर लैजाउन त। पुर्खाहरू डाँडामै बस्थे। डाँडडाँडै हिँडथे। त्यो पुर्खाको चिनारी हामीले किन उजागर नगर्ने ? त्यो गर्नुपर्छ भनेर पर्खालको कन्सेप्ट ल्याएको हो। म त्यो डाँडामा धेरै घुमें। खासमा प्राविधिकसहित घुम्दाघुम्दै त्यो किसिमको कन्सेप्ट आएको हो।’
यो चीनको ग्रेटवालको झल्को दिने खालको छ। यसको दुवैतर्फ पर्खाल छ। त्यसमा बन्दीपुरे ढुंगा छापेर सिँढी बनाएर अगाडि बढाउँदै लगेपछि यसले एउटा छुट्टै रौनकता दिनेछ। बन्दीपुरको पर्यटनलाई यसले अझै उचाइमा पुर्याउने हामीले विश्वास गरेका छौं।
सुरेन्द्र थापा - अध्यक्ष, बन्दीपुर गाउँपालिका
यो ग्रेटवाल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको थलो बन्नेछ र यसले बन्दीपुरको पर्यटनमा थप टेवा पुर्याउनेछ। संरचना निर्माण गर्दा प्रकृतिमैत्री हुनुपर्ने र समयमै योजना सक्नुपर्नेमा जोड दिन जरुरी छ।
वैंश गुरुङ - अध्यक्ष, बन्दीपुर पर्यटन विकास बोर्ड
हाम्रो होमस्टेमा आउनु हुने पाहुनाहरूले मिनी ग्रेटवालको विषयमा निकै चासो र जिज्ञासाहरू राख्नुहुन्छ। कहिले बन्छ ? अब कस्तो बन्छ ? भनेर प्रश्न गर्नुहुन्छ। पहिले हामीले बन्दीपुरमा थानीमाई मन्दिर रहेको डाँडा छ। सिद्ध गुफा र टुँडिखेल छ। तीनधारे छ। हाम्रो संस्कार र संस्कृति छ भनेर भन्थ्यौं। अब मिनी ग्रेटवाल छ भनेर भन्न पाएका छौं। गर्व लाग्छ।
दिलकुमारी राना - अध्यक्ष, बन्दीपुर सामुदायिक होमस्टे
विश्वभर ग्रेटवालको चर्चा र बन्दीपुरको भौगोलिक स्वरूप पनि उस्तै किसिमको भएकाले ‘मुकुन्दसेन पर्खाल’ बनाउने अवधारणालाई जोड दिइएको उनले बताए। थापा भन्छन् ‘मुकुन्दसेन पर्खाल बनाउने अवधारणा त ल्याइयो। तर, अब यसलाई कसरी बनाउने होला ? डिपीआर कसरी गर्ने होला त भनेर बहुत तनाव भयो।’ उपाय त खोज्नु पर्यो। त्यसपछि म आफ्नै खर्चमा हङकङ हुदै चाइना घुम्न गएँ।’ आफुले त्यहाँ देखेको र बुझेको डिजाइनको आधारमा बन्दीपुरको मौलिकता झल्कने गरी गुरुयोजना बनाइएको उनको भनाइ छ।
यो पर्खालले वि.सं १५८१ मा बन्दीपुर आएका राजा मणिमुकुन्द सेनको इतिहास उजागर गरी जीवन्त राख्ने र बन्दीपुरको पर्यटन प्रबद्र्धनमा पनि ठूलो टेवा पुग्ने उनको विश्वास छ। अहिले आफू पालिकाको कार्यकारी भूमिकामा आउन नसके पनि आफूले परिकल्पना गरेको योजना सम्पन्न गर्न बाहिरै रहेर पनि लागिपर्ने बताएका छन्।
ग्रेटवालबारे के भन्छन्, स्थानीय ?
बन्दीपुरको ५ सय वर्षभन्दा लामो इतिहास छ। स्थानीय बन्दीपुर क्याम्पसका प्राध्यापक ७१ वर्षीय गोबद्र्धन भट्टराईले बन्दीपुर नाम रहनुका विभिन्न रोचक किंम्बदन्ती, जनश्रुति र कहावतहरू रहेको बताउँछन्। भट्टराईका अनुसार यहाँ पहिला मगरहरूको बसोबास थियो। ‘वन’ भनेको ‘जंगल’ र मगर भाषामा ‘डी’ भनेको ‘पानी’ हो। जहाँ वनजंगल हुन्छ, त्यहाँ पानी हुन्छ। यो प्राकृतिको नियम हो। यसैले वन+डी ः बन्दी हुन जाँदा ‘पुर’ भनेको ‘नगर वा बस्ती’ हो। जंगलको चारैतिर पानीको स्रोत भएकाले पनि बन्दी भन्दाभन्दै बन्दी भएको र पछि ‘पुर’ आफैं थपिँदै गएर ‘बन्दीपुर’ नाम रहन गएको भट्टराई बताउँछन्।
राणाकालीन समयमा बन्दीपुरमा गण्डकी प्रदेशकै ठूलो बन्दी गृह थियो। जहाँ अपराधीहरूलाई बन्दी बनाएर राखिने सहर भन्दाभन्दै बन्दीपुर हुन गएको भट्टराईको भनाइ छ। उनका अनुसार चण्डीको ११ अध्यायको पहिलो श्लोकमा बनहीपुर लेखिएको छ। संस्कृतमा वनही भनेको ‘आगो’ हो। आगोले डढाएर भष्म भएको ठाँउमा बस्ती बसेको हुनाले बन्दीपुर हुन गएको भट्टराईको तर्क छ।
प्राध्यापक भट्टराईले बन्दीपुर भौगोलिक र साँस्कृतिक वातावरणको केन्द्र भएको बताउँछन्। यहाँका स्वच्छ, सफा र शीतल हावापानी, प्रष्ट हिमशृङ्खला हेर्न सकिने स्थान, धुवाँ, धुलो र ध्वनिमुक्त वातावरण, पुराना कला, संस्कृति र रहनसहन भएकै कारण बन्दीपुरमा पर्यटकहरू घुम्न, रमाउन, अध्ययन गर्न आउने उनले बताए। उनका अनुसार बन्दीपुरमा यी आकर्षणका बीच मिनी ग्रेटवाल थपिएको छ। यसले झनै सुन्दरता थपेको बताउँछन्।
पर्यटकहरूको आकर्षण
काठमाडौंबाट बन्दीपुर घुम्न आएकी ७० वर्षीया लालकुमारी दरैले बन्दीपुरको वातावरण, स्वागत सत्कार, बोलीचाली, रहनसहन सबै राम्रो लागेको बताइन्। बन्दीपुर बजारको उत्तरतर्फ रहेको थानीमाई मन्दिर उक्लेकी दरैले त्यहाँबाट देखिने सुन्दर प्राकृतिक र साँस्कृतिक दृश्यहरू देख्दा बन्दीपुर आएर ठूलो खेल जितेको महसुस भएको उल्लेख गरिन्। समूहसहित आएकी दरैले भनिन्, ‘७० वर्षको म बूढी माथी थानीमाई पुग्दा त ठूलै जित हासिल गरेको जस्तो भो। पुराना शैलीका घरहरू, बन्दै गरेको पर्खाल, जतातै हरियाली साह्रै रमाइलो लाग्यो।’
त्यस्तै, छिम्केश्वरी भाँगेकी डिलमाया आलेले बन्दीपुर वातावरण अत्यन्तै सफा र शान्त लागेको प्रतिक्रिया दिइन्। उनले मिनी ग्रेटवाल बनेको छ भन्ने सुनेर साथीहरूलाई लिएर घुम्न आएको बताइन्। ‘यसपालि साथीहरूसँग आएँ। बाबुनानीहरू ल्याउन पाइनँ। श्रीमान् पनि विदेशमा हुनुहुन्छ। उहाँ आउनु भएपछि सबै जना यहाँ आएर घुम्नी भनेछु,’ उनले भनिन् ‘बन्दीपुरमा सबै कुरा राम्रो छ।’