कालीप्रसाद बाँस्कोटाले नचाए दर्शक
काठमाडौं : गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाले काठमाडौंबासीलाई नचाएका छन्। कोभिड महामारीपछि पहिलोपटक दर्शकमाझ उपस्थित भएका कालीले दरबारमार्गस्थित क्लब प्लाटिनममा उपस्थित दर्शकलाई ‘कालीप्रसाद बाँस्कोटा लाइभ’मा आफ्ना गीतमार्फत नचाएका हुन्।
कालीले आफ्नो प्रस्तुति दिनुअघि गायक उदीपध्वज थापाले गीत गाउँदा उनलाई चन्दनध्वज केसीले गीतार तथा स्वर र पुरस्कार खड्काले गीतारमा साथ दिएका थिए। रातको ११ बजे स्टेजमा देखिएका कालीले ‘हेराईका थलहरू’सहित कुल ११ वटा आफ्ना गीत गाएका थिए। उनले ‘साइली’, ‘नाँचन मैया नाँचन’ गीत गाउँदा उनको गीत सुन्न अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी, निर्देशक अनमोल गुरुङ, हेमराज बिसी, गायक सनुप पौडेल र निर्देशक आसिफ शाह उपस्थित थिए।
कार्यक्रममा निश्चलले कालीसँगै फिल्म ‘कबड्डी कबड्डी’को ‘नाँचन मैया नाँचन’ बोलको गीत गाएका थिए। यसै महिना नयाँ गीत ल्याउन लागेका गायक उदीपध्वजले एकै स्टेजमा कालीसँगै गीत गाउन पाउँदा खुसी लागेको बताए। पोजेटिभ भाइब्स इन्टरटेनमेन्टका प्रस्तुति र सुमन श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा दर्शक निकै रमाएका थिए।