तीन कृति लोकार्पण
काठमाडौं : प्रा. राजेन्द्र सुवेदीको स्मृतिमा उनीद्वारा लिखित कविता संग्रह ‘अन्तः समवेदना’, शब्दाङकुर मासिकद्वारा प्रकाशित राजेन्द्र सुवेदी स्मृति अंक र साहित्यकार धीरकुमार श्रेष्ठ, भोगेन्द्र लिङ्देन, टेकेन्द्र चेम्जोङ, प्रकाशचन्द्र निङ्लेकु र गोविन्द घिमिरेद्वारा लिखित संयुक्त गीत, गजल तथा कविताहरूको संग्रह ‘सहयात्रा’ लोकार्पण गरिएको छ।
कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठीले स्व.सुवेदीको संस्मरण गर्दै पूर्वीय र पाश्चात्य दर्शनमा उत्तिकै अब्बल सुवेदीको निधनले नेपाली साहित्यको समालोचना क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए। उनले समालोचना हराए राजेन्द्र सुवेदीलाई खोज्नुपर्ने र राजेन्द्र सुवेदी हराए उनका समालोचनासम्बन्धी कृतिहरू खोज्नुपर्ने भन्दै सुवेदीको योगदानको चर्चा गरेका थिए।
सुवेदीद्वारा लिखित ३८ वटा कविताहरूको संग्रह ‘अन्तः समवेदना’ माथि समीक्षात्मक धारणा राख्दै प्रा.डा. रमेशप्रसाद भट्टराईले सुवेदीका कृतिहरू उनका वास्तविक अनुभुतिहरूको संगालो भएको बताए। कार्यक्रममा साहित्यकार राजन मुकारुङले पाँच स्रष्टाहरूद्वारा लिखित
संयुक्त गीत, गजल तथा कविता संग्रह ‘सहयात्रा’माथि समीक्षा गर्दै साहित्य लेखनमा नयाँ बहस सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए। प्रा.डा. कृष्णप्रसाद घिमिरेले राजेन्द्र सुवेदी स्मृति अंकमाथि समीक्षा गर्दै सामान्य कुरालाई व्यङ्गात्मक शैलीमा भन्न सक्ने तथा हँसिलो अनुहार, मिठो शैली र व्यङ्गात्मक चेतका व्यक्तित्वका रूपमा चर्चा गरेका थिए।