जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण हुनुपर्छ : उपेन्द्र यादव
जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई पुनः निर्धारण हुनुपर्ने माग अघि सारेको छ ।
समयानुसार जनसंख्याको आधारमा मधेशमा निर्वाचन क्षेत्रलाई हरेक पाँच वर्षमा पुनः निर्धारण हुनुपर्ने बताए ।
जनकपुरधाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संसदको निर्वाचन क्षेत्र निर्धारण भएको सो समयमा मधेशको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ४६ प्रतिशत जनसंख्या थियो तर अहिले त्यो बढेर गएकोमा जनसंख्याको अनुपातमा संघीय निर्वाचन क्षेत्र निर्धारणको माग गरे ।
‘अहिलेको जनगणना अनुसार तराइ मधेशको जनसंख्या ५३ प्रतिशत छ । तर प्रतिनिधिसभाको क्षेत्र त्यही छ जुन ४६ प्रतिशत हुँदा थियो,' यादवले भने, ‘अब ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि अब त्यसअनुरुपकै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्छ । त्यसैले निर्वाचन क्षेत्रलाई पुनः रिभ्यु गर्नुपर्छ । पहिला रिभ्यु गरौँ र त्यसपछि निर्वाचन क्षेत्रको निर्धारण गरौँ ।’
अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि त्रुटीपुर्ण रहेको बताउँदै समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणाली त्रुटीपूर्ण रहेको र गलत प्रणालीका कारण निर्वाचन अत्याधिक खर्चिलो भइरहेको दाबी गरे ।
विश्वको ७१ वटा मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यही परिपार्टीलाई अगाडि बढाउन माग गरे । उनले भने, ‘हाम्रो यहाँ पार्टीलाई भोट दिने र पार्टीले नातावाद, जातिवाद, पावरको आधारमा सामानुपातिक सुचिमा पठाउने गरेकोले निर्वाचन खर्चिलो बनेको हो । नेपाल जस्तो गरिब मुलुकमा विकृतिमुलक र महँगो निर्वाचनले आउने दिनमा राजनीतिक सत्ता र शक्ति कहाँ जाने, मुलुक कुन दिशामा जाने, जनताको लोकतन्त्रबाट विश्वास उठने खतरा बढ्दै गएको छ ।’
वर्तमान पाँच दलीय गठबन्धनबाट नै प्रदेश र संघीय निर्वाचनमा जाने र यो गठबन्धन कायमै रहने अध्यक्ष यादवले बताए । उनले गठबन्धनमा कहिलेकाँही दलहरुमा घाटा–नाफा भइरहने स्वभाविक भएकोले गठबन्धनले लोकतन्त्रमा मास्ने संकटबाट बचाएकोले तत्काल गठबन्धन सक्रिय नै रहने बताए।
यस्तै जसपा र लोसपा एकताको सवालमा अध्यक्ष यादवले मधेशको जनमत बाँडिएकाले कसैलाई फाइदा नभएको बताए । उनले भने, ‘अहिले समिक्षा गर्ने समय रहेको छ र पार्टी फोडनेलाई के फाइदा भएको छ ?’
अध्यक्ष यादवले पार्टी फुटेर कसैलाई फाइदा नभएकाले हिजोको समिक्षा गरेर एक जुट भएर अगाडि बढ्नुपर्ने बताए ।