जिसस नुवाकोटमा प्रमुख माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध
नुवाकोट : जिल्ला समन्वय समिति नुवाकोटका लागि वुधबार मनोनयन पत्र दर्ता भएको छ। मनोनय अनुसार प्रमुख र उपप्रमुखसहित सबै पदमा निर्विरोध भएको छ।
आगामी पाँचवर्षे कार्यकालका लागि स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सत्तारुढ दलहरुले गठवन्धन गरेसंगै नुवाकोटमा बुधबारै जिल्ला समन्वय समिति गठन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्ने निर्णय गरेसँगै आवश्यक पदमा उम्मेदवारी दिएपछि सबै नौं पद नै निर्विरोध भएको छ। तालमेल गर्दा माओवादी केन्द्रले प्रमुखसहित चार र कांग्रेसले उपप्रमुखसहित पाँच पद पाएको छ।
उम्मेदवारी दर्ता अवधिसम्म जिल्ला समन्वय समिति नुवाकोटको प्रमुखमा माओवादी केन्द्रका तर्फबाट पन्चकन्या गाउँपालिकाका राजेन्द्रविक्रमसिंह ठकुरी र उपप्रमुखमा कांग्रेसकातर्फबाट विदुर नगरपालिका-१३ का दलबहादुर तामाङसहित नौं जना नै निर्विरोध निर्वाचित भएका छन्। यद्यपि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध निर्वाचित भएको घोषण भने गर्न बाँकी रहेको छ।
जिल्ला समन्वय समितिका सदस्यहरुमा वेलकोटगढी नगरपालिका माओवादी केन्द्रका मोहन पुडासैनी, लिखु गाउँपालिका काग्रेसका राजेन्द्र श्रेष्ठ, विदुरका माओवादी केन्द्रका रामचन्द्र पौडेल, महिला सदस्यमा किस्पाङ गाउँपालिकाकी माओवादी केन्द्रकी धनमाया विक, विदुरकी कांग्रेसका सन्तोषी देवकोटा, ककनी गाउँपालिकाकी कांग्रेसकी सम्झना सेढाई र दलित महिला सदस्यमा किस्पाङ गाउँपालिकाकी माओवादी केन्द्रकी कान्छी सुनार रहेकी छन्।
नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत र माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछानेबीच जिल्ला समन्वय समितिको निर्वाचनमा बुधबार बिहानमात्रै दुई दलको गठबन्धन गर्ने निर्णय भएको हो।