बन्चरेडाँडा दिनभरि तनावग्रस्त
नुवाकोट : डेढ दशकदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको पूर्वी भेगमा रहेको औखरपौवामा बुधबार दिनभरि तनावग्रस्त बन्यो। फोहोर विसर्जनको विषयलाई लिएर स्थानीयबासी र प्रहरीबीच झडपसममेत भयो।
विदुरदेखि ५५ किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका-२ स्थित बञ्चरेडाँडामा एकतर्फीरुपमा फोहोर फाल्न नपाइने जनाउँदै स्थानीयबासीले अवरुद्ध गरेका छन्। प्रहरीले नियन्त्रणमा लिएपछि तोडफोडामा उत्रनु परेको स्थानीयबासीको भनाइ छ।
काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका तीन सयभन्दा बढी टिपरलाई स्थानीयले रोकेका छन्। नवीय स्वास्थ्य सुरक्षालाई बेवास्ता गरिएको भन्दै स्थानीयबासी आक्रोशित बनेको चन्द्रबहादुर बलामीले बताए।
उनका अनुसार जनताको स्वास्थ्य प्रमुख विषय भएको हुँदा स्थानीयका समस्यालाई समाधान गर्नु सरकारको पहिलो दायित्व भएका कारण स्थानीयबासीले फोहोर फाल्न रोकेको हो। दुई पक्षबीच झडप हुँदा दुवैतर्फका केही व्यक्ति घाइते भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार ३ जना प्रहरी जवान र १२ जना स्थानीय सामान्य घाइते भएको ककनी-२ का वडाध्यक्ष तीलकबहादुर लामाको भनाइ छ।
प्रहरीका अनुसार १५ वटा गाडीमाथि तोडफोड गरिएको छ। जनताको माग पूरा गर्नु सरकारको दायित्व भएको भन्दै उनीहरुले प्रहरी लगाएर बल प्रयोग गरेको गुनासो गरे। झडप नियन्त्रणमा लिन प्रहरीले ५ राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको स्थानीयहरुको दाबी छ। तर प्रहरीले दुई सेल अश्रुग्यास मात्र प्रहार गरेको जनाएको छ।
आक्रामक भीडले फोहोर कोकेका गाडीमाथि तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको काठामाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताए। बन्चरेडाँडामा दुई सय प्रहरी परिचालन गरिएको छ।
तीन दिनअघि सरकार, काठमाडौ महानगर र स्थानीबच फोहोर फाल्ने विषयमा सहमति जुटे पनि मुआब्बा, स्वास्थ्य, सुरक्षालगायत माग राखी स्थानीयहरुले अवरोध गर्न छाडेका छैनन्। ओखरपौवाको सिसडोल र बन्चारेडाँडामा उनीहरुले मुआब्जा, रोजगारी, स्वास्थ्य बिमालगायतका माग राख्दै दिनहुँ प्रदर्शन गरिरहेका छन्।
फोहर व्यवस्थापनमा सोमबारमात्रै सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधिहरूको रोहवरमा भएको सहमतिअनुसार फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधान स्थानाीयले रोकेका हुन्।
स्थानीयका अनुसार बिहानैदेखि काठमाडौँबाट फोहोर बोकेर पुगेका ट्रकहरू खाली गर्न दिइएको छैन। स्थानीयले फोहोर व्यवस्थापनमा सरकारले राजनीति गरेको जनाउँदै विरोध गरेको प्रत्यक्षदर्शीले बताएका छन।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेकै बेलामा स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गर्ने घोषणा गरेका थिए।