भुक्तमान भोगिरहेको एक दलित परिवार
दैलेख : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्ग। यही राजमार्गबाट २ सय मिटर दूरीमा एउटा झुपडी छ। काठका खाबा छन्, त्रिपालको छानो। त्रिपाल हावाहुरीले धुजाधुजा बनेको छ। यहीं झुपडीको अघिल्तिर गाउँलेका पुराना जुत्ताचप्पल सिलाइरहेका भेटिन्छन्, ७९ वर्षीय गौरे सार्की। गौरेले यही काम गरेर आफू, श्रीमती र छोरोसहित तीन जनाको परिवार पालिरहेका छन्। नत्र यो उनीहरूको चुलो बल्दैन। काम नपाएका दिन भोकभोकै बस्नुपर्छ।
पुराना र च्यातिएका जुत्ताचप्पल सिलाउन उनी कहिले गाउँका घर–घरमा पुग्छन्। कहिले गाउँलेहरू यहीं नै आउँछन्। गौरेलाई भाग्यले मात्र ठगेन ! राज्यबाट समेत बेवास्तामा परिरहेका छन्। तीनै तहका सरकारको नजरमा पर्न नसकेको यो एउटा विपन्न दलित परिवार हो।
उनको बस्नलाई न घर छ न त बिहान–साँझको छाक टार्ने अन्न नै। गाउँलेहरू जुत्ताचप्पल सिलाउन आए मात्र छाक टर्छ। गौरेले आफूलाई एकसरो नयाँ कपडा किन्न सकेका छैनन्। जीवनमा थुप्रै समस्या झेल्दै आएका गौरे आफ्नो परिवार राज्यको नजरमा पर्न नसकेको दुःखेसो पोख्छन्।
२०७४ को चुनावपछि जनप्रतिनिधिलाई पटक–पटक आफ्नो समस्या सुनाएका थियौं। गाउँपालिकाले घर बनाइदिन्छौं भन्दै आश्वासन मात्र दियो। तर, पाँच वर्ष बित्यो। कसैले वास्ता गरेन।
गौरे सार्की,
भैरवी गाउँपालिका
गाउँलेले हामीलाई पानीसमेत भर्न दिँदैनन्। हामीले पैसा उठाएर खानेपानी ल्याएका हौं भन्छन्। टाढाबाट बोकेर ल्याउनुपर्छ।
बुदि सार्की,
भैरवी गाउँपालिका
गाउँपालिकाका कोही पनि नागरिक अब खुला आकाशमुनि बस्नुपर्दैन। गौरे सार्कीको परिवारले भोगिरहेको पीडाबारे हामीलाई जानकारी आएको
छ। समस्या समाधान गर्न
पहल गर्छौं।
रीताकुमारी शाही, अध्यक्ष, भैरवी गाउँपालिका
‘हामी गरिब र दिनदुखीको त कोही नहुँदो रहेछ। भगवान्ले पनि ठग्यो। बस्नलाई घर छैन। त्रिपालमुनि बस्थ्यौं। त्यो पनि हावाहुरीले उडायो’, भैरवी गाउँपालिका–१ रावतकोटस्थित मेहेलटा कुरा गाउँका उनी भन्छन्, ‘एक गाँस खानलाई अन्न छैन। कैयौं दिन त भोकभोकै बिताएका छौं। अब हामी कहाँ जाऔं ?’
उनी पत्नी ६५ वर्षीया बुदि सार्की गरिबलाई सबैले हेला गर्ने गरेको बताउँछिन्। ‘पानी पर्दा ओत लाग्ने घर छैन। बिहान साँझ हातमुख जोर्ने अन्न छैन। कैयांै दिन त भोक भोकै बस्नुपर्छ’, बुद्धि भन्छिन्।
छिमेकीले आफूलाई पानीसमेत भर्न नदिएको गुनासो उनको छ। ‘गाउँलेले हामीले पैसा उठाएर खानेपानी ल्याएका हौं भन्छन्। घरनजिककाले खानेपानी भर्न दिँदैनन्। टाढाबाट बोकेर ल्याउनुपर्छ,’ उनी भन्छिन्।
घरमा कमाउने कोही नभएको उनको भनाइ छ। ‘श्रीमान्ले च्यातिएका जुत्ता चप्पल सिलाएर घर नभए पनि खुला आकासमुनि दैनिकी काटिरहेका छौं। छोरा सानै छ। उसको पढाइ खर्च जोहो गर्न पनि सकेका छैनौं’, उनी भन्छिन्।
लालपुर्जा छ, जग्गा छैन
गौरेको नामको लालपुर्जामा जग्गा देखिन्छ। तर, उपभोग गर्न पाएका छैनन्। जेठा दाइ रत्ने सार्की र भाउजू नाङ्चे सार्कीले आफूलाई धोका दिएको आरोप उनी लगाउँछन्। ‘बुबा आमाको निधनपछि दाइ र म छट्टिएका थिएनौं। सबै जग्गा जमिन दाइको नाउँमा नापी गर्यौं। २०५० सालमा दाइ रत्नेको निधन भयो। दाइका सन्तान थिएनन्’ उनी भन्छन्, ‘दाइको मृत्युपछि घरमा भाउजू नाङ्चे र म मात्रै घरमा बच्यौं।’
त्यसपछि स्थानीय केही व्यक्तिले दाइको नाउँमा रहेको जग्गा हडप्ने रणनीति बनाएको उनको भनाइ छ। ‘गाउँका केही व्यक्तिले जग्गा हडप्ने रणनीति बनाएर भाउजू र मेरो बीचमा हुँदै नभएको नाजायज सम्बन्धको आरोप लगाउन थाले। त्यो पीडा सहन नसकेर म ऐराडी भन्ने गाउँको शरणमा पुगेँ,’ उनी भन्छन्।
ऐराडीका राजु रानाको गोठमा जीवनको ऊर्जाशील समय कटाएको उनको तितो अनुभव छ। त्यहाँ उनले च्यातिएका जुत्ता चप्पल धुने, गाउँलेका जुठा भाँडाकुँडा धोएर दैनिकी गुजारे। उनले त्यहीँ नै विवाह गरे। छोरा जन्मियो। केही वर्ष उनी रोजगारीका लागि भारतसमेत गए। पछि गाउँ फर्किए।
आफ्नो आधा भाग लाग्ने जग्गा भाउजू नाङ्चेले गाउँकै कृष्णा थापालाई बेचिसकेको चाल पाए। उनले कानुनी लडाइँ लडे। दुई भाग जग्गाको एक भाग बिक्री बदर गर्न माग गर्दै उनले अदालतमा मुद्दा दिए। दैलेख जिल्ला अदालतले उनले पाउने भागको जग्गा बिक्री बदर गरिदियो।
उक्त फैसलाविरुद्ध नाङ्चे र थापा तत्कालीन पुनरावेदन अदालत सुर्खेत पुगे। पुनरावेदनले जिल्लाकै फैसला सदर गरिदियो। फैसला आफ्नो नाममा भए पनि भाउजूले जग्गा बेचेर लिएको रकम फिर्ता गर्न नसक्दा जग्गा उपभोग गर्न नपाएको उनी सुनाउँछन्। उपभोग गर्न नपाए पनि भैरवी गाउँपालिका–१ मा रहेको कित्ता नं. ५६४, ६७८ र ६०५ मा रहेको १४१५ वर्गमिटर जग्गाको तिरो भने तिर्दै आएका छन्।
गाउँपालिकाले पनि बेवास्ता गरेको गौरेको दुखेसो छ। भन्छन्, ‘२०७४ को चुनावपछि जनप्रतिनिधिलाई पटक–पटक आफ्नो समस्या सुनाएका थियौं। गाउँपालिकाले घर बनाइदिन्छौं भन्दै आश्वासन मात्र दियो। तर, पाँच वर्ष बित्यो कसैले वास्ता गरेन।’
सरकारले दलित, घरबारविहीनलाई जनता आवास कार्यक्रमलगायतबाट घर बनाइदिन्छ भन्ने सुनेको उनको भनाइ छ। तर, आफूहरूलाई गाउँपालिका र अन्य कुनै निकायले वास्ता नगरेको उनी बताउँछन्। ‘केही महिनाअघि गाउँपालिकाले सहयोगको नाउँमा एउटा त्रिपाल दिएको थियो। त्यो त्रिपाल पनि हावाहुरीले उडायो। अब बर्खा लाग्न लाग्यो कहाँ ओत लाग्ने भन्ने चिन्ता थपिएको छ’, उनी भन्छन्।
कसरी पढ्नु ?
१६ वर्षीय उज्जल सार्की कक्षा ६ मा पढ्छन्। उनी घरदेखि स्कुलसम्म समस्या झेलिरहेका छन्। ‘ढुक्कसँग बस्नलाई घर छैन। त्रिपालमुनिको बसाई छ। कति खेर पानी पर्ने हो ? कति खेर हावाहुरी आएर त्रिपाल उडाउने हो ? चिन्ताले पिरोल्छ,’ उज्जल भन्छन्, ‘दिनभरि स्कुल गएर फर्किपछि घरमा बसेर पढुँला भन्ने अवस्था छैन।’
अँध्यारोमा रात कटाउनुपर्ने बाध्यता छ। ‘बुबा आमाको अवस्था नाजुक छ। घरमा बिहान साँझको छाक टार्न हम्मेहम्मे छ। यस्तो बेला मेरो पढाइ खर्च कसरी जुटाउनु ?’, उनी भन्छन्, ‘गतिलो र नयाँ विद्यालय पोसाक लगाउने रहर सपना नै भयो, कापी कलमसमेत किन्न पैसा छैन।’
गाउँका अगुवाहरू स्थानीय सरकार जनताको समस्याप्रति अनुदार भएको बताउँछन्। गौरेजस्ता विपन्न नागरिकको जीवन सुधार्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउँछन् स्थानीय युवा मानबहादुर थापा। सोही वडामा रत्ने कुमालको परिवारले पनि समस्या झेलिरहेको थापाको भनाइ छ। ‘गौरे र रत्नेको परिवारका लागि यसअघिका जनप्रतिनिधिले कुनै काम गर्न सकेनन्,’ थापा भन्छन्, ‘अहिले निर्वाचित जनप्रतिनिधिहरूले त्यसतर्फ ध्यान दिउँन्।’
अधिकारकर्मी प्रभाकुमार विश्वकर्मा दलित समुदाय सबैको चेपुवामा पर्ने गरेको बताउँछन्। जातीय विभेद भोगिरहेको समुदायलाई गरिबीले पनि उत्तिकै पिरोलेको विश्वकर्माको भनाइ छ। विपन्न दलितको समस्या र पीडामा मलम लगाउने गरी संघ, प्रदेश र स्थानीय सरकारले काम गर्नुपर्ने उनी बताउँछन्। तीनै तहका सरकारले विपन्न तथा दलित समुदायका नागरिकको जीवनशैली सुधार्ने नीति तथा कार्यक्रममा जोड दिँदै कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ।
‘अहिले पनि यस्ता विपन्न नागरिकको दैनिकी निकै कष्टकर छ’, उनी भन्छन्, ‘सरकारले त्यस्ता नागरिकको जीवन निर्वाहका लागि उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ।’ तीनै तहका सरकारले भौतिक पूर्वाधार विकास मात्र नभई सामाजिक विकासको पाटोमा पनि प्राथमिकताका साथ काम गर्न उनी सुझाउँछन्।
गाउँपालिका अध्यक्ष रीताकुमारी शाही गौरेलगायत विपन्न नागरिकको सवालमा प्राथमिकताका साथ काम गर्ने बताउँछिन्। ‘अब गाउँपालिकाका कोही पनि नागरिक खुला आकासमुनि बस्नुपर्दैन। हामी सोहीअनुसार काम गर्छौँ’, अध्यक्ष शाही भन्छिन्, ‘गौरे सार्कीको परिवारले भोगिरहेको पीडाबारे हामीलाई जानकारीमा आएको छ। त्यहाँ पुग्न त पाएका छैनौं। तर, समस्या समाधान गर्न पहल गर्छौं।’
अहिले वर्षात सुरु हुनुअघि टिनले छाएको घर भए पनि निर्माण गर्ने उनको भनाइ छ। ‘तत्काललाई खुला आकासमुनिबाट ओभानोमा बस्ने अवस्था निर्माण गर्छौं,’ उनी भन्छिन्, ‘विस्तारै स्थायी घर बनाउने योजना छ।’
गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकका स–साना समस्या र पीडामा मल्हम लगाउने गरी आफूले पालिकाको गतिविधि अघि बढाउने शाहीको भनाइ छ। यो गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुवै महिला छन्। हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट अध्यक्षमा रीताकुमारी शाही र उपाध्यक्षमा देवी भण्डारी निर्वाचित भएका छन्।