मुहार बदलिएको काँक्रेविहार

मुहार बदलिएको काँक्रेविहार

सुर्खेत : काँक्रेविहार कर्णालीको पहिचान हो। अझ भनौं कर्णालीमा प्रवेश गर्दा पर्यटकको पहिलो रोजाइमा पर्छ, काँक्रेविहार। कर्णालीमा आउने जो कोही एकपटक काँक्रेविहार अवलोकन गर्छन्। यसकारण पनि कर्णाली मुख्य पर्यटकीय स्थल बनेको हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेकाले पनि यसको महत्त्व र चर्चा धेरै भएको छ।

सहरीकरणले विस्तारै भरिने क्रममा रहेको वीरेन्द्रनगर उपत्यकाको बीच भागमा अवस्थित छ, काँक्रेविहार। मुख्य बजारभन्दा केही मिनेटको दूरीमा उपत्यकाको बीच भागमा दक्षिणतर्फ डाँडो छ। त्यही डाँडामा घना जंगल छ। सोही जंगलको बीचमा अवस्थित छ, ऐतिहासिक महत्व बोकेको काँक्रेविहार। जहाँ २१ मिटर अग्लो शिखर शैलीमा मन्दिर निर्माण गरिएको छ। वर्षांैसम्म अलपत्र रहेको काँक्रेविहारको भग्नावशेषलाई उत्खनन गरेर पुरातत्व विभागले हाल जीर्णोद्धार गरेको छ।  

जीर्णोद्धारपछि काँक्रेविहारको मुहार बदलिएको छ। यहाँ घुम्न आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ। काँक्रेविहार विशेषतः हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण मानिन्छ। वीरेन्द्रनगर नगरपालिका–९ मा अवस्थित काँक्रेविहार पुरातात्विक र ऐतिहासिकताले भरिपूर्ण छ। यसअघि यहाँका ऐतिहासिक महत्त्वका शिलालेख, मूर्ति र सामग्रीहरू अलपत्र थिए। संरक्षणको अभावमा तोडफोडसमेत भएको थियो। जसले गर्दा सुर्खेत आउने राज्यका उच्चपदस्थ अधिकारीहरूसँग यहाँका नागरिकले यसको उत्खनन र जीर्णोद्धारका लागि हारगुहार गरे। 

स्थानीयको निरन्तर आवाज र दबाबका कारण हाल मन्दिर निर्माण सम्पन्न भइसकेको छ। मन्दिरले काँक्रेविहारको आकर्षण पनि बढाएको छ। हाल काँक्रेविहार मन्दिर वरिपरि घेरबार गरिएको छ। जम्मा १७५ हेक्टर क्षेत्रफल रहेको काँक्रेविहार नेपालको एकमात्र संरक्षित वन पनि हो। प्रमुख पर्यटकीय स्थल भएकाले पनि हाल प्रदेश र स्थानीय सरकारले पनि काँक्रेविहारको विकासमा लगानी र संरक्षण गर्न आवश्यक योजनासमेत बनाउन थालेका छन्। 

काँक्रेविहारको इतिहा

काँक्रेविहारका बारेमा अनेकौं अड्कलबाजी हुने गरेको छ। यसबारेमा केही किम्बदन्ती पनि पाइन्छ। तर, यसको वास्तविक सम्बन्ध जुम्लाको तत्कालीन सिञ्जा राज्यसँग जोडिएको पाइन्छ। सिञ्जाका तत्कालीन राजा अशोक चल्लले आफ्नो शासनकाल (वि.स. १३१२—१३३५) रहेको र उनले वि.स.१३२५ मा काँक्रेविहार बनाएको अभिलेखमा पाइन्छ। सूर्यमणि अधिकारीको खस साम्राज्यको इतिहास तथा विश्व केसीको कीर्ति खम्बको स्रोतको आधारमा हाल काँक्रेविहार मन्दिरको छेउमा अभिलेख बोर्ड राखिएको छ। राजा अशोक चल्ल महाज्ञानी भएको र बौद्ध धर्म मान्ने हुँदा उनले थर चल्लबाट मल्ल बनाएको अभिलेखमा उल्लेख छ। 

अभिलेख बोर्डमा उल्लेख गरिएअनुसार वि.सं. १८९० मा ठूलो भूकम्प गएका कारण यो विहार भत्किएको थियो। भूकम्पले विहार भत्किएपछि वर्षौंसम्म उक्त ठाउँ खण्डहरजस्तै बनेको थियो। त्यतिमात्र नभई वीरेन्द्रनगर उपत्यकाको बीचमा काँक्राको चिरा जस्तो जंगल भएकाले पनि यसको नाम काँक्रेविहार भएको जनश्रुति छ। यसको उत्खननदेखि संरक्षणको सबै काम पुरातत्व विभागले नै गर्छ। अद्भूत कला र इतिहासको नमुनाका रूपमा काँक्रेविहारलाई लिने गरिन्छ। 

जीर्णोद्धारमा ७ करोड खर्च

काँक्रेविहारको संरक्षण तथा उत्खनन गर्ने अधिकार पुरातत्व विभागलाई मात्र छ। विभागका अनुसार काँक्रेविहारको जीर्णोद्धारमा हालसम्म ७ करोड १९ लाख ९७ हजार ४ सय ३३ रुपैयाँ खर्च भएको छ।  जीर्णोद्धारको काम २०७५ असोज ११ गतेदेखि सुरु भई २०७७ पुस ३१ मा सम्पन्न भएको हो। काँक्रेविहारको जीर्णोद्धारको पहिलो चरणको काम सकिएको भन्दै विभागले अब काँक्रेविहार विकासपरिषद् स्थापना गरेर त्यसैबाट काम थालिने जनाएको छ। यदि कुनै स्थानीय तहले काम गर्न चाहेमा पुरातत्व विभागको स्वीकृति लिएर निश्चित मापदण्डभित्र रही काम गर्न सकिनेछ। कसैले पनि काँक्रेविहारमा आफूखुसी काम गर्न नपाउने भन्दै विभागको स्वीकृति लिएर तोकिएको मापदण्डभित्र रहेमा संरक्षण एवं सम्बद्र्धन गर्न पाउने विभागको भनाइ छ। 

काँक्रेविहार आफैंमा खुला चिडियाखाना हो। यहाँको जंगलमा विभिन्न वन्यजन्तु देख्न पाइन्छ। पर्यटकलाई थप आकर्षित गर्न हामीले यहाँ मिनी चिडियाखाना बनाउने योजना बनाएका छौं। यसका लागि हामी आवश्यक प्रक्रिया पूरा गरेर काम थाल्नेछौं। काँक्रेविहार क्षेत्रमा रहेको जंगललाई पूरै घेरबार गर्नेछौं। चिडियाखाना स्थापना भएपछि रैथाने वनजन्तुको संरक्षण हुनेछ।

मोहनमाया ढकाल
मेयर, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत 

काँक्रेविहार नेपालको दोस्रो लुम्बिनी नै हो। अब काँक्रेविहारलाई लुम्बिनीसँग जोड्नुपर्छ। लुम्बिनी आउने पर्यटकलाई काँक्रेविहारसम्म ल्याउने वातावरण निर्माण गरौं। यसका लागि हामीले पहल थालेका छौं। लुम्बिनी आएका पर्यटकलाई मात्र यहाँसम्म ल्याउन सके कर्णालीको समृद्धि धेरै टाढा छैन।
लक्ष्मण कँडेल
अध्यक्ष, सुर्खेत उद्योग वाणिज्य संघ 


काँक्रेविहार आउने पर्यटकलाई सन्तुष्ट बनाउने योजनाअनुसार काम अगाडि बढाउने छौं। यसको दीर्घकालीन विकास र गुरुयोजना कार्यान्वयनका लागि हामी प्रतिबद्ध छौं। काँक्रेविहारको संरक्षण गर्नु हाम्र्रो दायित्व हो। रारा घुम्न जाने पर्यटकलाई एकपटक काँक्रेविहार पनि घुम्ने वातावरण निर्माणका लागि हामी निरन्तर लाग्ने छौं।
ऋषि गिरी
वडाध्यक्ष, वीरेन्द्रनगर नगरपालिका–९

पर्यटकको आकर्षण बढ्दो

काँक्रेविहार जीर्णोद्धार पछि अवलोकन गर्न पर्यटकको संख्या बढेको छ। दैनिक ६ सयसम्म पर्यटक आउने गरेका छन्। हाल वडा कार्यालयले यहाँ टिकट काट्न कर्मचारी नै खटाएको छ। पर्यटकको चाप बढेपछि वडा कार्यालयलाई आम्दानी पनि वृद्धि भएको हो। काँक्रेविहारमा टिकट काट्दै आएका कर्मचारी विष्णु कार्कीले भने, ‘अचेल पर्यटक धेरै आउन थालेका छन्, दैनिक २ सय जनासम्म अवलोकन गर्न आउँछन्। बिदाको दिनमा त पर्यटकको चाप थेग्नै गाह्रो हुन्छ। देशका विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने गरेका छन्।’ 

उनकाअनुसार हाल यहाँ अवलोकनका लागि आउने स्वदेशी पर्यटकका लागि १० रुपैयाँ र विदेशीका लागि २० रुपैयाँको टिकट लाग्ने गरेको छ। मुख्यगरी विद्यार्थीहरू अध्ययनका लागि यहाँ आउने गरेका छन्। कैलालीबाट घुम्न आएका तपराज जैसीले भने, ‘यो त इतिहासको संग्रह नै रहेछ। यसले हाम्रो इतिहास जोगाएको पाएँ। यहाँ घुम्न आउँदा केही नयाँ जानकारी पनि पाएँ। इतिहास र पुरातत्वको खोजी गर्नेहरूका लागि यो निकै महत्त्वपूर्ण रहेछ।’ 

यस्तै, बुटवलबाट घुम्न आएका धुव्र पन्थीले पनि मन्दिर निर्माणको शैली नयाँ भएको बताए। उनले भने, ‘जंगलको बीचमा मन्दिर देख्दा अनौठो लाग्यो। यहाँको संरचना र शान्त वातावरण देख्दा त दोस्रो लुम्बिनी जस्तै पो लाग्यो।’ काँक्रेविहार क्षेत्रमा वनभोज खान पनि पर्यटक पुग्छन्। त्यसैगरी पर्यटकलाई आकर्षित गर्न जंगल सफारीको सुविधा पनि उपलब्ध छ। हाल घोडामा सवार गरेर जंगल सफारीको सुविधा पनि उपलब्ध छ। यसले पनि पर्यटकलाई मनोरन्जन प्रदान गरिरहेको छ। सहर नजिकै शान्त जंगल भएकाले पनि काँक्रेविहारमा घुम्दा आनन्द आउने गरेको वीरेन्द्रनगरका सुमित्रा गिरीले बताइन्। आफू फुर्सदको समयमा परिवारसँगै यहाँ घुम्न आउने गरेको उनको भनाइ छ। 

मिनी चिडियाखानाको योजना 

काँक्रेविहार क्षेत्रमा चिडियाखाना निर्माणको योजना पनि अगाडि सारिएको छ। वीरेन्द्रनगर नगरपालिकाले काँक्रेविहारमा पर्यटकलाई थप आकर्षित गर्न खुला चिडियाखाना स्थापनाको योजना बनाएको हो। यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न डीपीआरको काम सम्पन्न भइसकेको वीरेन्द्रनगरका मेयर मोहनमाया ढकालले बताइन्। ‘सानो आकारको मिनी चिडियाखाना बनाउने योजना छ,’ ढकालले भनिन्, ‘काँक्रेविहार आफैंमा खुला चिडियाखाना हो। यहाँको जंगलमा विभिन्न वन्यजन्तु देख्न पाइन्छ। पर्यटकलाई थप आकर्षित गर्न हामीले यहाँ  चिडियाखाना बनाउने योजना बनाएका छौं। यसका लागि हामी आवश्यक प्रक्रिया पूरा गरेर काम थाल्नेछौं।’ 

काँक्रेविहारमा रहेको जंगललाई पूरै घेरबार गरिने र मिनी चिडियाखानाको रूपमा विकास गरिने नगरपालिकाले जनाएको छ। चिडियाखाना स्थापना भएपछि रैथाने वनजन्तुको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ। रैथाने वन्यजन्तु विस्थापित नहुन् भन्ने उद्देश्यले उनीहरूका लागि पिउने पानीको पोखरी र आहाराका लागि बोटविरुवा र बास बस्नका लागि बासस्थान निर्माण गरिनेछ। चिडियाखानाका लागि करिब ३ हेक्टर क्षेत्रलाई घेरबार गर्ने काम भइरहेको हो। 

काँक्रेविहार क्षेत्र जरायोको प्रमुख वासस्थान मानिन्छ। हाल काँक्रेविहारमा जरायोसहित मृग, खरायो, स्याल, दुम्सीलगायतका जनावर र पन्छीहरू पाइन्छन्। चिडियाखाना निर्माण भएमा वन्यजन्तुको संरक्षण हुने, पर्यटकको आकर्षण बढ्ने, आर्थिक क्रियाकलाप बढ्ने र काँक्रेविहारको आकर्षण पनि थप बढ्ने अपेक्षा गरिएको छ। यो वन क्षेत्र नेपालको एक मात्र संरक्षित वन क्षेत्र हो। 

काँक्रेविहारलाई लुम्बिनीसँग जोड्ने कसरत

बौद्ध धर्मसँग सम्बन्धित भएकाले पनि काँक्रेविहारलाई नेपालको दोस्रो लुम्बिनी भन्ने गरिन्छ। यसकारण पनि काँक्रेविहारलाई लुम्बिनीसँग जोड्नुपर्ने बहस हुन थालेको छ। विशेषगरी निजी क्षेत्रले यसका लागि बारम्बार आवाज उठाउँदै आएको छ। सुर्खेत उद्योग वाणिज्य संघले काँक्रेविहारलाई लुम्बिनीसँग जोड्न र लुम्बिनी आउने पर्यटकलाई काँक्रेविहारसम्म ल्याउनका लागि आवश्यक पहल थालिने जनाएको छ।

‘काँक्रेविहार नेपालको दोस्रो लुम्बिनी नै हो’ संघका अध्यक्ष लक्ष्मण कँडेल भन्छन्, ‘अब काँक्रेविहारलाई लुम्बिनीसँग जोड्नुपर्छ। लुम्बिनी आउने पर्यटकलाई काँक्रेविहारसम्म ल्याउने वातावरण निर्माण गरौं। यसका लागि हामीले पहल थालेका छौं। लुम्बिनी आएका पर्यटकलाई मात्र यहाँसम्म ल्याउन सके कर्णालीको समृद्धि धेरै टाढा छैन।’ काँक्रेविहार मुख्य पर्यटकीयस्थल भए पनि थप पूर्वाधार विकास र प्रबद्र्धन आवश्यक रहेको उनको भनाइ छ। ‘काँक्रेविहार नजिकै अर्को महत्त्वपूर्ण पर्यटकीयस्थल बुलबुले ताल रहेको छ,’ उनले भने, ‘बुलबुलेको पानीलाई नहरमार्फत काँक्रेविहारसम्म लगेर डुंगा सञ्चालन गर्न सकिन्छ। यस्तो गर्न सके काँक्रेविहार र बुलबुले पनि जोडिएर पर्यटकहरू थप आकर्षित हुनेछन्।’

‘रारा जाने पर्यटक काँक्रेविहार घुम्नेछन्’

काँक्रेविहार वीरेन्द्रनगर–९ मा पर्छ। वडा कार्यालयले काँक्रेविहारको प्रचारप्रसार, मन्दिर वरिपरिको क्षेत्रलाई थप फराकिलो बनाउने, बगैंचा निर्माण गर्ने, दुबो रोप्ने र सरसफाइमा ध्यान दिने भएको छ। काँक्रेविहार आउने पर्यटकलाई सन्तुष्ट बनाउने योजनाअनुसार काम अगाडि बढाइने वडा–९ का वडाध्यक्ष ऋषि गिरीले बताए। उनले भने, ‘यसको दीर्घकालीन विकास र गुरुयोजना कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं। पर्यटकलाई लोभ्याउने गरी काँक्रेविहारको संरक्षण गर्नु हाम्र्रो दायित्व हो।’ 

उनले रारा घुम्न जाने पर्यटकलाई एकपटक काँक्रेविहार पनि घुम्ने वातावरण निर्माणका लागि आफूहरू लागि पर्ने बताए। यसका लागि काँक्रेविहारसम्म पुग्ने सडकको विस्तारमा पनि ध्यान दिइने उनको भनाइ छ। पर्यटकहरू आकर्षित भए स्थानीयले रोजगारी पाउने र वडाले पनि लाभ लिन सक्ने उनले बताए।

फराकिलो बनाइँदै सडक

काँक्रेविहारसम्म जोड्ने सडकलाई फराकिलो बनाउने काम चलिरहेको छ। वीरेन्द्रनगरको मंगलगढी चोकदेखि काँक्रेविहारसम्म जोड्ने सडकलाई फराकिलो बनाउन लागिएको हो। यो सडक विस्तार भएमा काँक्रेविहार पुग्ने पर्यकटलाई थप सहज हुनेछ। 

हाल त्यहाँसम्म पुग्ने सडक कमजोर छ। यसले पर्यटकलाई सास्ती हुने गरेको थियो। तर, अब यो सडक फराकिलो हुने भएपछि काँक्रेविहार अवलोकनका लागि आउने पर्यटकहरू पनि बढ्ने स्थानीयको अपेक्षा छ। सडक स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गरेको हो। यो सडक विस्तारका लागि १२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले ठेक्का लिएको छ। भौतिक पूर्वाधार विकास निर्देशनालयले गत मंसिर १४ गते निर्माण कम्पनीसँग सम्झौता गरेको छ। सम्झौतासँगै कम्पनीले स्तरोन्नतिको काम सुरु गरेको हो। 

भौतिक पूर्वाधार विकास निर्देशनालयका अनुसार २०८० को असार १५ गतेसम्म सडकको काम सक्ने लक्ष्य छ। अब मंगलगढी–काँक्रेविहार जोड्ने सडकलाई २५ मिटर चौडा बनाइने भएको छ। यस्तै १५ मिटर क्षेत्रभित्र सवारीसाधन गुडाउने मिल्ने बनाइनेछ। पर्यटकीय क्षेत्र पुग्ने सडक भएका कारण पनि यो सडकलाई आकर्षक र दीर्घकालीन बनाउने गरी अक्सफोर्ड प्रविधिमा विस्तार गरिन लागिएको हो। जिल्लाकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्र जोड्ने सडकको स्तरोन्नति हुने भएपछि स्थानीय बासिन्दा पनि हर्षित बनेका छन्। 

राष्ट्रपतिको भ्रमणले उत्साह     

राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि मात्र पर्यटकीय स्थल काँक्रेविहार क्षेत्रको भ्रमण गरिन्। राष्ट्रपतिको भ्रमणले काँक्रेविहारको थप विकास र संरक्षण हुने उत्साह पैदा भएको छ। काँक्रेविहारको अवलोकन गर्दै राष्ट्रपतिले यसको संरक्षणमा पनि चासो दिएकी थिइन्। यसकोे विकास र संरक्षणमा राज्यको ध्यान पुग्ने स्थानीयको अपेक्षा छ। राष्ट्रपतिबाट कर्णालीकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको यस क्षेत्रको अवलोकन भएसँगै यसको संरक्षणमा थप टेवा पुग्ने स्थानीयको भनाइ छ। साथै, काँक्रेविहारको संरक्षण र विकास भए कर्णालीमा पर्यटकलाई आकर्षित गर्न सकिने उनीहरूको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.