गोदावरी धाममा पशुपतिनाथको झल्को दिने कैवल्यनाथ मन्दिर
धनगढी : सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा कैवल्यनाथ मन्दिर (मोक्षद्वार) को स्थापना गरिएको छ ।
पञ्चमुखी शिवलिङगको मूर्तिसहितको मन्दिरको एक विशेष समारोहका बीच १००८ स्वामी लोकानन्द महाराजले प्राण प्रतिष्ठा गरेका छन् ।
कलात्मक शैलीमा मन्दिरको निर्माण गरिएको छ ।
२०७३ सालदेखि मन्दिर निर्माण गरिएको थियो । संघ सरकारको शहरी विकास कार्यक्रमको सहयोगमा उपभोक्तामार्फत मन्दिर निर्माण गरिएको हो ।
झण्डैं ढेड करोड बढीको लगानीमा मन्दिर निर्माण गरिएको गोदावरी धाम विकास समितिले जनाएको छ ।
मन्दिर परिसरमा १००८ शिवलिङग स्थापना गरिएका छन्।
मन्दिरमा पुगेर बिहीबार सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पूजाआजा गरेका छन् ।
पशुपतिनाथ मन्दिरको झल्को दिने गरी मन्दिरको निर्माण भएको छ ।
मन्दिर निर्माणमा सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको छ । गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले मन्दिर निर्माण भएसँगै यस क्षेत्रमा धार्मिक पर्यटन बढने विश्वास व्यक्त गरे।
उनले लामो समयदेखि मन्दिर निर्माण गर्ने सपना पनि पूरा भएको बताए ।
गोदावरी धाम विकास समितिले गोदावरीमा कुम्भ मेला अर्ध कुम्भ मेलाको पनि आयोजना गरिसकेको छ ।