समाचार प्रभाव : गौरे सार्कीको परिवारलाई सेनाको सहयोग
दैलेख : चरम गरिबीको चपेटामा परेर कष्टकर जीवनयापन गरिरहेका दैलेखको भैरबी गाउँपालिका-१ रावतकोटस्थित मेहलटाकुरा गाउँका गौरे सार्कीको परिवारलाई राहत उपलब्ध गराइएको छ।
नेपाली सेनाको कालीदत्त गुल्म काँडाचौर ब्यारेकले गौरेको परिवारलाई खाद्यान्न सहयोग गरेको हो। गौरेको परिवारले झेलिरहेको समस्याबारे बिहीबार अन्नपूर्ण पोस्ट्मा ‘भुक्तमान भोगिरहेको एक दलित परिवार’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।
समाचार प्रकाशन भएपछि बिहीबार नै नेपाली सेनाको टोली उनीहरु बसोबास गरिरहेको ठाउँमा पुगेर खाद्यान्न र लत्ता कपडा सहयोग उपलब्ध गराएको हो। कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईले राहत स्वरुप खाद्यान्न र लत्ता कपडा सहयोग गरेको बताए।
उनका अनुसार ५० केजी चामल, दाल, नुन, गेडागुडी, तेल, नुन र चिनी तथा लत्ताकपडा सहयोग गरिएको हो। त्यस्तै एउटा त्रिपाल र २ वटा कम्बल समेत सहयोग उपलब्ध गराइएको गुल्मपति चौलागाईले बताए। ‘गौरेको परिवारको अवस्था असाध्यै दयनीय छ, हामीले थोरै भए पनि राहत पुगोस् भनेर खाद्यान्न, लत्ता कपडा र पाल उपलब्ध गराएका छौं,’ गुल्मपति चौलागाईले भने। त्रिपालमुनिको बसाई थप कष्टकर रहेको उनले बताए।
गौरेको परिवार राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गदेखि २ सय मिटर दूरीमा बस्दै आएका छन्। उनीहरु काठका खाबा र त्रिपालको छानोमुनि कष्टकर जीवनयापन गरिरहेका छन्। गौरेले गाउँलेका पुराना च्यातिएका जुत्ता चप्पल सिलाएर आफू, श्रीमती र छोरोसहित तीन जनाको परिवार पालिरहेका छन्। जुत्ता चप्पल सिलाउने काम नपाए यो उनीहरूको चुलो बल्दैन। गौरेको नामको लालपुर्जामा जग्गा छ। आफ्नो नाममा भएको जग्गा उपभोग गर्न नपाएको गौरेको गुनासो छ।