स्थानीय तहमा ‘कांग्रेस पहिलो’

स्थानीय तहमा ‘कांग्रेस पहिलो’

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ मा नेपालको पहिलो पार्टी बनेको दाबी गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ। कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस पहिलो पार्टी रहेको प्रतिवेदनको निष्कर्ष छ। 

कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन उपसमिति अनुगमन, मूल्यांकन संयोजक प्रदीप पौडेलको नेतृत्वमा तयार गरेको प्रतिवेदनअनुसार कांग्रेस पहिलो पार्टी भएको देखाएको छ। कुल ७५२ स्थानीय तहमध्ये प्रमुख पदमा ३२९ स्थानमा कांग्रेस विजयी भएको छ। जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन्छ। कुल ७५२  स्थानमध्ये उपप्रमुख पदमा ३ सय स्थानमा विजयी भएको छ। जुन ४० प्रतिशत हो। कार्यकारी पदमा १५०४ मध्ये ६२९ स्थानमा कांग्रेसको उपस्थिति भएको छ। जुन ४२ प्रतिशत हो। 

हालसम्म निर्वाचन भएको ७ हजार ६३३ वडाध्यक्षमध्ये २ हजार ६६५ वडाध्यक्ष, २ हजार ६०६ महिला सदस्य, २ हजार ५५१ दलित महिला सदस्य र ५ हजार ३०७ खुल्ला सदस्यमा कांग्रेसले जित निकालेको छ। जसअन्तर्गत वडाध्यक्षमा कुल संख्याको ३९ प्रतिशत विजयी भएका हुन्। 

कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले ३८ लाख ८३ हजार १३८ मत पाएका छन्। जुन एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मतभन्दा १ लाख ७५ हजार ७६ ले बढी हो। 

प्रदेशमा पनि कांग्रेस अगाडि

प्रतिवेदनअनुसार प्रदेश १ मा ६९ स्थानमा कांग्रेसले जित हासिल गरेको छ। एमाले ४७ स्थानमा सीमित रहेको छ। त्यस्तै, मधेश प्रदेशमा कांग्रेसले ४६  र एमाले ३० स्थान जितेको छ।

बागमतीमा कांग्रेसले ५८ र एमालेले २५ सिट जितेको छ। गण्डकीमा कांग्रेसले ३६ र एमालेले ३५ सिट जितेको छ। लुम्बिनीमा कांग्रेसले ४८ र एमाले २७ सिटमा सीमित छ। त्यस्तै, कर्णालीमा ३५ सिटमा कांग्रेस र एमाले १५ सिटमा सीमित हुन पुग्यो। सुदूरपश्चिममा कांग्रेसले ४० सिट जित्दा र एमालेले २५ स्थानमा सीमित भएको छ । 

२०७४ र २०७९ को तुलनात्मक विश्लेषण 

स्थानीय निर्वाचन २०७४ मा कांग्रेस प्रमुख/अध्यक्षमा २६६ करिब ३५ प्रतिशत स्थानीय तहमा विजयी भएको थियो। यसपटक भने ३२९ करिब ४४ प्रतिशत स्थानीय तहमा विजय प्राप्त गरेको छ। उपप्रमुख/उपाध्यक्ष २०७४ मा २२३ करिब ३१ प्रतिशत स्थानीय तहमा विजय प्राप्त गरेको थियो भने यसपटक ३ सय अर्थात् करिब ४० प्रतिशत स्थानमा जितेको छ। 

२०७४ मा वडाध्यक्षमा ६ हजार ७४३ मध्ये २ हजार २८७ करिब ३४ प्रतिशत जितेको थियो भने यसपटक २ हजार ६६५ करिब ३९.५ प्रतिशत जितेको छ। 

गाउँपालिका र नगरपालिकामा कांग्रेस 

स्थानीय निर्वाचन २०७४ मा १०५ नगरपालिकामा जितेको कांग्रेसले यसपालि १४० नगरमा जित निकालेको छ। त्यस्तै, गाउँपालिकामा १६१ सिट जितेको कांग्रेस यसपटक १८८ गापामा जितेको छ। कांग्रेसको यसपटक गाउँपालिकाको तुलनामा नगरपालिकाको उपस्थिति राम्रो देखिएको उपसमिति संयोजक पौडेलले बताए। उनले महानगर र उपमहानगरमा पनि सन्तोषजनक नतिजा नआएको बताए। 

अहिलेको स्थानीय निर्वाचनमा कुल १२२ स्थानमा कांग्रेसले साबिक विजेतालाई नै दोहोर्‍याएर टिकट दिएको थियो। जसमध्ये ६१ उम्मेदवार पुनः विजयी भएका छन्। अरू, ६१ जनाले पराजय बेहोरेको प्रतिवेदनमा उल्लेख छ। 

यसपटक सबैभन्दा धेरै स्थानीय तह जितेका जिल्ला काठमाडौं र डोटी छन्। कुनै पनि स्थानिय तह नजितेको जिल्ला रूकुम पूर्व र दार्चुला छन्।  १ सयभन्दा कम मतले १८ जना जनप्रतिनिधि विजयी भएका छन्। 

गठबन्धनको नतिजा 

स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनको चुनावी तालमेलबाट सबैभन्दा बढी लाभ नेकपा माओवादी केन्द्रले लिएको छ। ५ दलीय गठबन्धनबीच ३२४ स्थानीय तहमा चुनावी तालमेल भएको थियो। जसमध्ये ८१ स्थानीय तहको नेतृत्व माओवादीले पाएको थियो। तीमध्ये माओवादीले ८५ प्रतिशत अर्थात् ६९ स्थानीय तहको नेतृत्वमा जित हासिल गरेको छ। माओवादीले गठबन्धनबाट १४१ उपप्रमुख पदमा प्रतिस्पर्धा गर्दा ७९ मा जित हासिल गरेको छ।

गठबन्धनको सबैभन्दा ठूलो घटक कांग्रेसले भने गठबन्धन भएका मध्ये ६१ प्रतिशत स्थानीय तहमा मात्रै नेतृत्वमा सफलता पाएको छ। ३२४ तहमा गठबन्धन हुँदा कांग्रेसले २०९ तहमा नेतृत्वका लागि प्रतिस्पर्धा गरेको थियो। जसमध्ये १२८ तहको नेतृत्वमा कांग्रेसले जित हासिल गर्‍यो। गठबन्धनबाट ११५ उपप्रमुखमा प्रतिस्पर्धा गरेको कांग्रेसले ८५ स्थानमा जित हासिल गर्‍यो।

त्यस्तै, एकीकृत समाजवादीले गठबन्धनबाट २७ पालिका प्रमुख र ४३ उपप्रमुखमा प्रतिस्पर्धा गरेको थियो। जसमध्ये १३ प्रमुख र १४ उपप्रमुखमा जित हासिल गरेको छ। गठबन्धनभित्र प्रमुख पदमा नेकपा एसले ४८.१४ प्रतिशत सफलता प्राप्त गरेको छ। गठबन्धनबाट जसपाले भने उल्लेख्य सफलता पाउन सकेन। उसले गठबन्धनबाट २ प्रमुख र ४ उपप्रमुखमा जित हासिल गरेको छ। 

राष्ट्रिय जनमोर्चाललाई प्रतिशतका आधारमा सबैभन्दा लाभ भएको देखिन्छ। उसले गठबन्धनबाट प्रतिस्पर्धा गरेका ४ प्रमुखमा शतप्रतिशत सफलता पायो। उपप्रमुखमा ६ स्थानमा प्रतिस्पर्धा गर्दा ३ जना विजयी भए।

कांग्रेसको प्रतिवेदनमा उल्लेखित गठबन्धन पाँच दलीयभित्रको हो। यसबाहेक कांग्रेस, माओवादी र जसपाले कतिपय स्थानीय तहमा अलग–अलग रूपमा एमाले र राप्रपासँग पनि तालमेल गरेका थिए। त्यो संख्या भने कम छ। कांग्रेसको प्रतिवेदनअनुसार माओवादीले जितेका १२१ पालिका प्रमुखमध्ये पाँच दलीय गठबन्धनबाट ६९ ठाउँमा जितेको छ। यो भनेको करिब ५७ प्रतिशत हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.