चोरीएका ३० सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं : ट्राफिक प्रहरीले फेला परेका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। शुक्रबार काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भएको एक कार्यक्रममा कार्यालय प्रमुख एसएसपी उमेशराज जोशीले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेका हुन्।
मोटरसाइकल धनीले विभिन्न समयमा हराएको भनी हुलिया निवेदन ट्राफिक कार्यालयमा दर्ता गराएका थिए। ट्राफिक प्रहरीको विशेष टोलीले सक्रियताका साथ खोजतलास गर्ने क्रममा उपत्यका आसपासका ठाउँबाट ति मोटरसाइकल स्कुटर फेला पारेको हो। कायक्रममा बोल्दै कार्यालय प्रमुख उमेशराज जोशीले मोटरसाइकल चोरी हुनबाट रोक्नको लागि सम्वन्धीत धनी नै चनाखो हुनुपर्ने बताए। यसका साथै उनले सुरक्षित ठाउँमा पार्किङ गर्ने, अतिरिक्त लक र सुरक्षाका उपायसमेत अपनाउन आग्रह गरे।
ट्राफिक कार्यालयका प्रमुख जोशीका अनुसार मोटरसाइकल हराएको भनी निवेदन आएपछि हुलियाको आधारमा प्रहरीले विशेष निगरानी र खोजी गर्ने गर्छ।
आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक कार्यालयले ४३१ वटा मोटरसाइकल सम्वन्धीत धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए।