जिसस नुवाकोटका पदाधिकारीले लिए सपथ
नुवाकोट : स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति(जिसस) नुवाकोटका पदाधिकारीले शुक्रबार पद तथा गोपनियता शपथ लिएका छन्। मनोनयनको अन्तिम समयसिमा बुधबार आवश्यक नौं पदमा मात्रै उम्मेदवारी परेको थियो। जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख, उपप्रमुख र सदस्य सबै पद निर्विरोध निर्वाचित भएको हो।
जिल्ला समन्वय समिति प्रमुखमा माओवादी केन्द्रबाट पन्चकन्याका रजिन्द्रविक्रमसिंह ठकुरी, उपप्रमुखमा कांग्रेसका तर्फबाट विदुर नगरपालिका दलबहादुर तामाङलगायत ७ जना सदस्यले शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन्। समिति गठन गर्न सत्तारुढ कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए।
सोही गठबन्धनका कारण जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले क्लीन स्वीप भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरमा आयोजित कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले जिसस प्रमुख ठकुरीलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्।
जिसस नुवाकोटको कार्यालयमा पदभार ग्रहण गर्दै प्रमुख ठकुरीले समग्र जिल्लाको विकासको लागि सबै स्थानीय तह, राजनीतिक दल, सरोकारवालाहरुसँग समन्वय गर्ने बताए। उनले विकास तथा जनताको परिवर्तनमा दल विशेष हेरिन नहुने बताए।
प्रमुख ठकुरीले उपप्रमुख तामाङलगायत सबै सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराए। सदस्यहरु रामचन्द्र पौडेल, सन्तोषी देवकोटा, राजेन्द्र श्रेष्ठ, मोहन पुडासैनी, सम्झना सेढाँई, कान्छी सुनवार र धनमाया विकलाई रहेका छन्।
मनोनयन दर्तामा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट साझा उम्मेदवार ठकुरीको नाम मात्र प्रमुखको लागि उम्मेदवारको रुपमा दर्ता भएपछि उनीसहित पुरै प्यानल नै निर्विरोध निर्वाचित भएको हो।