क्लान्त देहमा पौष्टिक आहार
‘युद्ध र शान्ति’, ‘वैशालीको नगरवधू’, ‘आदि विद्रोही’ तीन औपन्यासिक साहित्यिक संरचना–ग्रन्थहरूमाथि गहिरो घोत्ल्याइँ साधनामा फुले फलेको ‘शान्ति र स्वतन्त्रता’ कृति नेपाली वाङ्मय जगत्अनुरागी हाम्रा लागि गौरवशाली देन बनेको छ। स्वनामधन्य ‘शान्ति र स्वतन्त्रता’ ग्रन्थले हाम्रो वाङ्मयको उदयाचलमा नौलो–थप अभियानका किरण झुल्काएको भन्न रुचाएछ।
रसियाली भाषा, समाज, जीवन जगत्लाई दशकौं दशक विद्यार्थीकाल व्यतीत गरी आर्जेको ज्ञानचक्षुले ग्रन्थमा सिञ्चिएको अनुभूतिको झिल्का झुल्केको पाएछ। भन्नुको तात्पर्य ‘युद्ध र शान्ति’ उपन्यास विश्वविख्यात सर्जक साहित्यकार ‘टल्सटायका मस्तिष्कका किरण बनेको सदाबहार–सार्वकालिक छ। सर्वत्र–एकछत्र समान रुचिकर कृतिकार–सर्जक भएरै टल्सटाय विश्वकै सर्वमान्य स्रष्टा दर्जिएका छन्। जुद्धोदय पब्लिक हाइस्कुलमा पठनपाठन गर्दा २००८–२००९ सालमै दिवंगत कथाकार टल्सटायका घतलाग्दो ‘तीन प्रश्न’ अंग्रेजी विषयमा अध्ययन गरेको थिएँ।
सबैभन्दा महत्त्वपूर्ण मानिस, समय, काम हुन् ? चासो त्यस कथाको केन्द्रविन्दु बनेथ्यो। ममा अत्यन्तै गहिरो प्रभाव छोडेथ्यो। उनले आजीवन छाप पारेको अझै जस्ताको तस्तै ताजा छ। त्यसबेला उनबारे अरू ज्ञान हुन सकेको थिएन। कालान्तरमा उनको ‘युद्ध र शान्ति’ उपन्यासमाथि विचरणले मानसिक क्षितिज बढी उघ्रिएछ। वादेवादे तत्त्वबोधयते संस्कृत वाङ्मयको मर्म बोध हुन पुग्यो। चन्द्रकान्त आचार्यज्यूले भारतीय आचार्य चतुरसेन, अमेरिकी स्रष्टा हार्वर्ड फास्ट महाशयका युद्ध र शान्ति, वैशालीकी नगरवधू र आदि विद्रोहमाथि विचरण गरेर समीक्षा गर्नुभएको छ। मजस्तो उमेरले सुमेरु अभियानको अभियान भर्दै गरेका चेतका लागि कठिन साध्य हुनु अनौठो लागेन। तथापि वचननिष्ठ बन्नु नै आयुको महिमा मानेछु। विज्ञान र प्रविधिले अनेकानेक छलाङ मार्दै आविष्कृत प्रविधिका प्रभाव विमुख हुन कुनै पनि युगीन पुरुषार्थ महिषीलाई अवसर कहाँ ? युगविमुख हहमंकारलाई प्राचीनताका बोधीज्ञान सूचक सन्देश सञ्चारक सहृदयी चन्द्रकान्त आचार्यज्यूले गर्नु भई युगीन चेत जगाउनु मेरा लागि पौष्टिक आधार बनेको छ। आठ दशकमाथिको उमेर पारिको जीवनशैली तपस्यामग्न दृढ संकल्पित चेतनाका सार्थकता भन्न मन लाग्छ।
अग्रजहरूले भोगेर गएका तपोवनका जीवनयोग अहिले सम्भव छैन भन्ठान्छु। तर यो ग्रन्थ पढेर जीवन ऊर्जा पाएझैं मगनमस्त छु।
अग्रजहरूले भोगेर गएका तपोवनका जीवनयोग अहिले सम्भव छैन भन्ठान्छु। तथापि मानयवर–मित्रवर चन्द्रकान्त आचार्यले अनवरत गरिरहेको यो अध्ययन–चिन्तन–विश्लेषणात्मक ग्रन्थ पढेर अरू थप जीवन ऊर्जा पाएझैं मगनमस्त छु। यस ‘शान्ति र स्वतन्त्रता’ ग्रन्थमा रसियाली जीवन–संस्कार–रुसी भाषा–साहित्यका अध्येता–ज्ञाताका बोधीतत्त्व–ज्ञानले यस ग्रन्थका भूमिकाकारका दायित्व निर्वाह भए गरेको छ। भूमिकाका पृष्ठ पल्टाउँदै दत्तचित्त राख्दै ग्रन्थ अन्तरघुलन गर्दै गर्दा आत्मोसर्गका सन्तोषपूर्ण स्वाद चाख्दै गएँ। भूमिका लेखन सामान्य दायित्व निर्वाह मात्र नभएर विशेष चिन्तनयुक्त संश्लेषण रहेको आत्मबोधी ज्ञानका किरणजस्तै अनुभूत गरेँ।
ग्रन्थभित्रका गम्भीर विषय ज्ञानलाई मेरो शारीरिक दुर्बलताले थकित चेतलाई टेको लाएको पाएँ। नेपाल रुस साहित्य समाजका वर्तमान अध्यक्ष प्रा.डा. जंगब चौहानले यस ग्रन्थमा विवेचित स्रष्टा महिषीहरूको ऐतिहासिक युद्धका वर्णनभन्दा जीवन के हो ? सुख के हो ? दर्शनका किरण छर्न उद्यत् लेखक चन्द्रकान्त आचार्यका सार्थकता उल्लेख गरेका छन्। ‘शान्ति र स्वतन्त्रता’ ग्रन्थ प्रकाशक नेपाल विश्वशान्ति विकास समाज, काठमाडौंका अध्यक्ष प्रा.डा. खेम कोइराला बन्धुले पनि ग्रन्थका विविध पक्ष र सान्दर्भिक आयाम अँगालेर सारगर्भित मन्तव्य दिएर आलोकित पारे। जहाँ प्राचीन–पौराणिक ग्रन्थका उद्धरण गरी ‘पृथ्वी शान्ति... द्यौ शान्ति.... अन्तरिक्षलगायत शान्ति क्षेत्र अपेक्षा हाम्रा पूर्वीय जीवन दर्शनले पूर्वाभास गरेको गर्यै छ।
टल्सटाय रुसी भूमि क्रेमलिनमाथि नेपोलियन बोनापार्टले धावा बोल्दाको परिणामस्वरूप सिर्जित कीर्ति मानव मस्तिष्कमा तहल्का मच्चाउँदो ठानिएको छ। युद्ध र धावा बोलेकैबाट प्रेरित उनी सीमाहीन रसियाली भूमिपति थिए। उनले जीवन परित्याग गर्ने बेला सत्यार्थको प्रकाश अनुभूत गरे। पूर्वीय जीवन दर्शनले उजेलिएका हामी पारमार्थिक चिन्तन भन्छौं यसलाई। यो जीवन दर्शन विश्वव्यापी छ। पूर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, ईशा, नैऋत्य, वायव्य सर्वव्यापी।
शारीरिक दुर्बलतालाई मानसिक प्रबलताका कारण अध्ययन–चिन्तन–मनन्का माला बनिँदो रैछ। यसले यो चेतले चन्द्रकान्त आचार्यका यो ‘शान्ति र स्वतन्त्रता’ पुस्तकभित्र विचरण गर्ने उत्सुकता जगायो। क्लान्त देहलाई औपन्यासिक विचरणले पौष्टिक आहार पाएँ। अपेक्षासाथ अम्बपालीका भिक्षुणी बने जीवनलीला परिवर्तनका परिवेशमूलक पत्रहरूमाथि विचरण गर्दा बुद्ध जीवनीका प्रभावमय लीला बोध गरें। यसले युद्ध र स्वतन्त्रताका महिमा चाखें। अम्बपालिका भिक्षुणीमा परिणत हुनुको मर्म सांसारिक भोग विलासमय लीला मुक्तिदायक नहुने अर्थप्रद सन्तोष स्वादन गरें। आफैंसित भनें– दिग्विजय गर्ने महत्त्वाकांक्षी जनका क्षुधाले कलंक र संहार मात्र थुपार्दो रहेछ।