जाव जाव रे दोलाहार  ! तुम्ही रन बन जितिए बसेन

जाव जाव रे दोलाहार  ! तुम्ही रन बन जितिए बसेन

जग्गेमा गाइने गीतहरू छोरीचेलीलाई बडो मायास्नेहका साथ हुर्काइएको केटापक्ष सामुन्ने गीतका माध्यमबाट निवेदन गरिन्छ। नव दम्पतीको सुखद दाम्पत्य जीवनको कामनाका साथै कारुणिक र मांगालिक गीत गाइन्छ।


उमेरका आधारमा केवरत जातिका लोकगीतहरूलाई बालबालिकाका लोकगीत, किशोरकिशोरीका लोकगीत, तरुणतरुणी तथा प्रौढका लोकगीत भनी वर्गीकरण एवं अध्ययन गरिएको छ। यस जातिमा ८/९ वर्षदेखि ११/१२ वर्षसम्मको उमेर समूहका केटाकेटीलाई बाल वयमा राखिन्छ। केवरत केटाकेटीहरू अन्य अरू जातजातिका केटाकेटीझैं घरआँगन, खलिहान, करेसाबारी, उद्यान आदिमा उफ्रँदै, रमाउँदै 

गीत गाउँदै रमाउँछन्। उनीहरू आफ्ना केवरत मातृभाषी गीतमा रमाउँदै खुसी हुन्छन्।

पेन्हा मरौनि पेन्हा देऊ, इरकि बिरकि दाँत किरिङ, ठुम्मा ठुम्मा भाक्रीको डुम्मा, चन्द्रमा रे चन्द्रमा, जूनकीरी ए जूनकीरी, सर्प घस्रियो विस्तारै विस्तारै, यति थोरै पानी, आऊ चन्द्रमा आऊ आऊ, आऊ कुकुर आऊ आऊ, एकजनाको टाउकोमा पुतली छ, हगुवा हागी पदुवा पादी, नाङ्गो केटाकेटीजस्ता लोकगीतलाई बालवयका गीतमा राखिन्छन्। यी लोकगीतले केवरत बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथसाथै शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा समेत ठूलो मद्दत पुर्‍याउँछ। केवरत बाल लोकगीतमा माटो, पानी, सर्प, भ्यागुतो, जून, जूनकीरी, चन्द्रमा, दूध, जामुनो, धान, ढिकी, चिउरा, आगो, बेल, गोरु, कुकुर, नाक, कान आदि शारीरिक अंग उपांग, प्राकृतिक विषयवस्तु, पशुपक्षी, बोटबिरुवा, सरिसृप शब्दहरू प्रयोग गरिएको पाइन्छ।

वयगत आधारमा गाइने गीत

रागात्मकता एवं लयात्मकताले भरिएका यी बालखेलगीत केवरत केटाकेटी प्रायःजसो सामूहिक रूपमा गायन गर्छन्। केवरत बालबालिका आफूसँग दिदी तथा दाइहरू खेल्न आएको मन पराउँदैनन्। खेल्न आए तिनीहरू बाबुआमालाई गुनासो गर्छन्। केटाकेटीहरू स्वच्छन्द रूपमा आफ्ना बालसखा एवं दौतरीसँग खेल्न पराउने मनोवैज्ञानिक पक्षलाई यसले उजागर गर्दछ। केवरत बालवयका लोकगीतलाई केवरत बालगीत, केवरत बालखेलगीत पनि भन्न सकिन्छ। यस्ता शब्दहरूको प्रयोगले केटाकेटीलाई मनोरञ्जन प्रदान गर्नुका साथै व्यावहारिक ज्ञानसमेत दिने गर्छ। मातृभाषामा गीत गाएर खेल्न पाउँदा तिनीहरूका मानसिक क्रियाशीलतामा विकास हुन्छ।

केवरत किशोरकिशोरीले फरक लोकगीत गाउने परम्परा छ। केवरत किशोरकिशोरीका लोकगीतअन्तर्गत चैत्रमसान्तदेखि नयाँ वर्षको संक्रान्तिका दिनसम्म मनाइने घाँट पावनका गीत पर्छन्। यो पर्व खास गरिकन किशोरीहरूले मनाउने गर्छन्। घरपरिवारमा चर्मरोग नलागोस्, घरपरिवारमा अमनचयन तथा समृद्धि कायम होस् भन्ने कामनाका साथ यो पर्व मनाइन्छ। यस पर्वमा नदी, तलाउको तटमा फूल टिप्न जाँदा यो गीत सामूहिक तवरले गाइने परम्परागत चलन छ। केवरत किशोरीहरू पंक्तिबद्ध भएर घाँट पावनको गीत गाउँछन्।

केवरत युवाहरू फागु पूर्णिमाका अवसरमा मनाइने होली पर्वका गीत एकल वा सामूहिक रूपमा गाउँछन्। यसअन्तर्गत वसन्त ऋतुको आगमन र हिउँदे बाली घर भित्र्याइसकेको खुसीयालीमा मनोरञ्जक गीत गाउँछन्। खीर, पुवा खाँदै ढोलक, खोल, करताल त कतै खाली टिन बजाउँदै होलीका गीत गाउने चलन छ। केवरत युवतीहरू सामूहिक रूपमा विवाह संस्कारका गीत गाउँछन्। तिनीहरू पार्विक गीतसमेत गाउने चलन अद्यापि छ।

पार्विक र विवाहगीत

कुनै पनि जाति एवं समुदायमा मौखिक तवरले गाइँदै आएको रागात्मक गीत नै लोकगीत हो। लोकसाहित्यका विभिन्न विधामध्ये लोकगीत सर्वप्राचीन विधा हो। यसको रचनाकार अज्ञात हुन्छ। लोकगीत श्रुतिमाधुर्य हुनुका साथै सन्देशमूलक पनि हुन्छ। लोकगीत मांगलिक कार्यदेखि विभिन्न अवसरमा गाइने प्रचलन छ। लोकगीतले सम्बन्धित जातजाति एवं जनजातिका हर्ष, विस्मात, राग, प्रेम, प्रहसन, हाँसो ठट्टा, भलाकुसारीजस्ता लोकधुकधुकीलाई बोकेको हुन्छ।

केवरत जातिमा विभिन्न अवसरमा गाइने पारम्परिक गीत नै केवरत लोकगीत हुन्। यसमा केवरत जातिका विभिन्न सन्दर्भमा गाइने लोकगीतको सैद्धान्तिक आधारमा वर्गीकरण र विश्लेषण गरिएको छ। केवरत जातिमा वयगत गीत, संस्कार गीत र पार्विक गीतहरू विद्यमान छन्। वयगत गीतअन्तर्गत बालखेलगीत पर्छन्। संस्कारअन्तर्गत विवाहगीत गाइने प्रचलन छ। पार्विक गीतअन्तर्गत डाली पावन, हुक्का पावन, होली पावन र घाँट पावनका सन्दर्भमा गाइने गीतहरू पर्छन्।

संस्कार गीतमा युवा पुस्ता

केवरत युवकयुवतीले संस्कार गीतअन्तर्गत विवाह गीत गाउँदछन्। केवरत जातिमा विवाह सुरुआत हुनु पूर्वदेखि नै गीत गाइन्छ। विशेषगरी बेहुला र बेहुली पट्टिमा कसई (लाम्चो पात हुने एक प्रकारको वनस्पति) खन्ने बेलादेखि नै वैवाहिक गीत गाइन्छ। यस जातिमा सबैभन्दा बढी विवाह संस्कारमा गाइने लोकगीत छन्। वैवाहिक कार्यक्रम सुरुआत भएपछि सोजुम पानफेरिका दिनदेखि जन्ती जाने र जन्ती फर्किने दिनसम्म विवाह गीत गाइन्छ। सोजुम पानफेरिका दिन बेहुलापट्टि र बेहुलीपट्टिमा बेलुकीपख केवरत जातीय संस्कार गीत गाइन्छ। यस जातिमा स्थानीय लोकदेवी देवताको पूजाआजा गर्दाखेरि थानी नजिकै गएर मांगलिक गीत गाउने गरिन्छ।

केवरत जातिमा आँगनको पूर्वोत्तर कुनामा स्थापना गरिएका कुल लोक देवीदेवता ठाकुर र ब्रह्माणीको पूजाआजा गरिन्छ। यस जातिमा वैवाहिक कार्यक्रमको सन्दर्भमा गाउँघर नजिकै स्थापना गरिएका लोकदेवी देवताहरू गैय्याँ महाराज, काजलमाजल, मसान, बधुवाल आदिको लौकिक तवरले गीत गाउँदै पूजाआजा गर्ने चलन छ। केवरत जातिको विवाहका सन्दर्भमा वरका विवाहित दिदीबहिनी तथा अविवाहित दिदीबहिनीहरू वरलाई बीचमा राखेर स्थानीय देवीदेवताका थानमा गई सामूहिक रूपमा गीत गाउँदै पूजा गर्ने परम्परा छ।

देवीथानमा दाम्पत्य जीवनको कामना

देवीदेवताको थानमा पूजाआजा गर्दै सामूहिक गीत गाउनुको तात्पर्य सफल दाम्पत्य जीवनको कामना र परिवारमा वंश वृद्धिको कामना रहेको प्रस्ट हुन्छ। देवीदेवताका थानीमा गाइने गीतका माध्यमबाट देवीदेवतालाई खुसी तुल्याउन खोजिनुका साथै मनोवाञ्छित फल प्राप्तिको कामनासमेत गरिन्छ। पानफेरिका सन्दर्भमा गाइने गीतमा स्थानीय दहर पथै (कमल फूलको पात), केराको पात, जलपान (भुजा/मुर्ही), करुतेल, घुम्नी (चनाको तरकारी), दही, चिउरा, सक्खर आदि शब्द प्रयोग गरिन्छन्।

केटापट्टिबाट आएका पानफेरिवालाहरूलाई कन्यापट्टिका डालीधोरीहरूले अश्लील तथा लाजभाँडका शब्द प्रयोग गरी गीत गाउँछन्। त्यतिबेला पानफेरिबालाहरूले समेत हाँसो, ठट्टा गरी रमाइलो गर्ने परम्परागत चलन छ। यस्तो गीत गाउँदाखेरि कोही पनि रिसाउँदैन। बरु आनन्दको अनुभूति गर्छन्। स्थानीय देवीदेवताका थानीमा गीत गाउँदै पूजाआजा गरिसकेपछि वरलाई आँगनमा लगिन्छ। त्यहाँ आँगनको मध्यभागमा वरलाई बस्न लगाइन्छ।

मांगलिक गीतमा वर

डालीधोरीहरू विभिन्न मांगलिक गीत गाइने चलन रहेको छ। मांगलिक गीतमा वरका आमा, बाबुले दुःख गरेर हुर्काएका विभिन्न प्रसंगहरूबारे गायन गरिन्छ। विवाहपश्चात् आमाबाबुलाई बिर्सन नहुने सन्देशसमेत दिइन्छ। वरले आफूलाई हुर्काउन सहयोग गरेका काका, काकी, बडीआमा, बडाबा, मामा माइजू, फुपू फुपाजु, सानीआमा, सानोबुबाका गुणलाई बिर्सेर कृतघ्न हुन नहुने सन्देश दिने गरिन्छ। जन्ती जानुपूर्व डालीधोरीहरू वरलाई साथमा राखेर पानीको पूजा (इनार/ट्युबवेल)को पूजाआजा गर्छन्।

केवरत जातिका पार्विक गीतअन्तर्गत डाली पावनका गीत, हुक्काहुक्कीका गीत, होली पर्वका गीत र घाँट पावनका गीत पर्छन्। डाली पावनमा नव दम्पतीका लागि सर्वगुण सम्पन्न सन्तानको कामना गरेर गीत गाइन्छ।

पानीका साथै घरनजिकैको खलिहानमा रोपिएको आँपको रुखको परम्परित तवरले गीत गाउँदै पुज्ने चलन छ। पानीको पूजा गर्नु भनेको प्रकृतिप्रतिको कृतज्ञताज्ञापनका साथै गतिशील दाम्पत्य जीवनको कामना पनि हो। त्यसैगरी रुखको पूजा गर्नु भनेको प्रकृतिप्रतिको कृतज्ञताका साथै समृद्ध दाम्पत्य जीवनको कामना निहित रहेको हुन्छ। केवरत जातीय गीतका सन्दर्भमा स्थानीय वनस्पतिहरू भाँट, सहरा, जामुनो आदिका प्रसंग पनि जोडिएका हुन्छन्। व्यावहारिक जीवनमा प्रयुक्त वनस्पतिप्रति गीत गाइँदै कृतज्ञताज्ञापन गरिन्छ।

बेहुला ! युद्ध जितेर आऊ

जन्ती जाँदाखेरि वर पक्षका डालीधोरी (बिद गर्न निम्त्याइएका बेहुला/बेहुलीका विवाहित दिदीबहिनी)हरूले वर, वरका बुबा, काका, ठूलोबुबाका साथै जन्तहरूको पराक्रमको प्रशंसा गर्दै गीत गाउँछन्। यतिबेला गाइने गीतमा वर पक्षको शूरता, वीरताको बखान गरिनुका साथै वधू पक्षको अभिभावक निम्छरा भएको गीतका माध्यमबाट अभिव्यक्त गर्छन्। जन्ती पठाइने बेला वधूको तुलना गर्दै वरको राम्रा पक्षहरू केलाइँदै निकै प्रशंसा गरिन्छ।

जन्ती प्रस्थान गर्ने बेला गाइने गीतमा जन्ती जानुलाई युद्ध गर्न जान लागेको भनिन्छ। वरले जसरी भए पनि वधू भित्र्याउनु पर्छ भनेर वरको मनोबल बृद्धि गरेर गीत गाइने चलन छ, डालीधोरीले वरको पुरुषार्थको प्रशंसा गर्दै गाइने गीतको एक पंक्ति यस प्रकार छ, ‘...जाव जाव जाव रे दोलाहार, दोलाहार ! तुम्ही रन बन जितिए बसेन’ जाऊ जाऊ जाऊ बेहुला, बेहुला ! तिमी युद्ध जितेर आउनू)। गीतको यस पंक्तिले हाम्रो समाजको पितृसत्तात्मक पुरुषप्रधान सोचलाई उजागर गरेको देखिन्छ। यतिबेला गाइने गीतमा केटीपट्टिका अभिभावकहरूलाई होच्याएर गीत गाइएको हुन्छ। हाम्रो नेपाली समाजमा केटा पक्षलाई महान् देख्ने र केटी पक्षलाई तुलनात्मक रूपमा निम्छरो मानिने प्रवृत्ति केवरत लोकगीतमा पनि पाइन्छ। यसले हाम्रो समाजको मनोविज्ञानलाई चिनाउने काम गर्दछ।

जग्गेमा आँसु रसाउने गीत

जग्गेमा बस्दा छोरीचेलीलाई बडो कष्टले हुर्काएको वेदनाका गीत गाइने चलन रहेको छ। छोरीचेलीलाई कन्यादान गर्दाखेरि गाइने गीत कारुणिकताले भरिपूर्ण हुन्छन्। त्यतिबेला गाइने गीत सुनेर त्यहाँ उपस्थित जो कोही द्रविभूत हुन्छ र आँखाबाट आँसु रसाउन खोज्छ। ती गीत एकदमै मर्मस्पर्शी र मार्मिक हुन्छन्।

कन्यादानको लगत्तै गरिने सिन्दुर दानमा आफ्नी चेलीलाई वरभन्दा बाठी रहेको भावको गीत गाइन्छ। कमजोर मनोबल भएका श्रोताहरू त्यस्ता गीत सुन्न नसकेर बाहिर गएर बस्छन्। वरकी ठूलीआमा, कान्छ्यामालाई गालीगलौजका शब्दावली प्रयुक्त गीत गाइन्छ। यस्ता गीतका भावले छोरीचेली माइतीबाट विच्छेद हुनुको पीडालाई इंगित गर्दछ।

जग्गेमा गाइने गीतहरू छोरीचेलीलाई बडो मायास्नेहका साथ हुर्काइएको केटापक्ष सामुन्ने गीतका माध्यमबाट निवेदन गरिन्छ। छोरीचेलीलाई कुनै किसिमको दुःख, कष्ट नदिइयोस् भन्ने बिन्ती भाव पनि अभिव्यक्त हुन्छ। नव दम्पतीको सुखद दाम्पत्य जीवनको कामनाका साथै कारुणिक र मांगालिक गीत गाइन्छ। छोरीचेलीलाई बिहे गरेर पठाउँदा घरआँगन रित्तो हुने भावका गीत पनि गाइन्छ। 

पार्विक गीतमा मनोरञ्जन

केवरत जातिका पार्विक गीतअन्तर्गत डाली पावनका गीत, हुक्काहुक्कीका गीत, होली पर्वका गीत र घाँट पावनका गीत पर्छन्। जितिया पर्वलाई केवरतहरू डाली पावन भन्छन्। यस जातिमा डाली पावनमा नव दम्पतीका लागि सर्वगुण सम्पन्न सन्तानको कामना गरेर गीत गाइन्छ।

हुक्काहुक्की गीतमा धानबाली सप्रियोस् भन्ने कामना गर्दै धानखेतको ईशान कुनामा गीत गाइने चलन रहेको छ। उक्त गीत यसप्रकार रहेको छ, खाँटनाम्ह खाँटनाम्ह सेर्हो सेर्हो, लोकेर धानला आउल बाउल हम्सार धानला धर्मेर चाउल (अग्ला होचा अग्ला होचा धानका बिटा बराबर होओस्, अरूका धान जिङ्रिङ्ग परेका हाम्रा धानका बिटा सर्लक्क परेका) एक्लै अथवा सामूहिक रूपमा गीत गाइन्छ। यसमा धर्ती र अन्नबालीप्रति गीत गाएर कृतज्ञता ज्ञापन गरिने चलन छ। होली पावनमा र घाँट पावनमा समेत सामूहिक गीत गाएर मनोरञ्जन गर्ने परम्परा छ।

केवरत लोकगीतमा लोकबोली

केवरत लोकगीतमा ग्राम्यका लोकबोलीको यथोचित प्रयोग गरिएको पाइन्छ। यस जातिका गीतमास्थानीय बोटबिरुवा, जडीबुटी, रुख, फलफूल, स्थानीय ठाउँहरू, नदीनाला, तालतलैया, पोखरी, दह आदिको प्रयोग गरिएको पाइन्छ। नदीनालाका सन्दर्भमा स्थानीय चन्ननखार्ही, तेलियामुनी, बक्राहा नदी, रतुवा नदी, धाध्री आदिको यथोचित अत्युक्ति नहोला।

लोकगीतमा केवरत लोकदेवीदेवताहरू जस्तै गै्याँ महाराज, काजलमाजल, मसान, बधुवाल आदिको प्रयोग गरिएका छन्। केवरतहरूको छिमेकी मुलुक भारतका केवरतहरूसँग वैवाहिक सम्बन्ध हुने भएकाले भारतका बेनुगढ, मगलान (मुग्लान), कुर्हेला, बहादुरगन्ज आदि स्थान पनि प्रयोग भएका पाइन्छन्। भारतका पूर्णियाँ, फारबिसगञ्ज, सीमावर्ती भारतीय साना बजारहरू जोगबनी, सिक्टि, कुआरीजस्ता स्थानका नामसमेत प्रयोग भएका छन्।

नेपालका जस्तै सुनवर्षी, डाइनियाँ, दहमना हाट, दमना हाट, खिखिरडाङी हाट, बेलडाङी हाट, गोविन्दपुर, दर्वेसा, रंगेली, विराटनगरजस्ता स्थानीय ठाउँको प्रयोग गरिएको भेटिन्छ। केवरत जातिमा हुक्काहुक्की गीत र होली गीत मात्र युवा तथा प्रौढ पुरुषहरूले गाउने गर्छन्। बालबालिकाका गीतबाहेक संस्कार तथा घाँट पावन र डाली पावनमा महिलाहरूले नै गीत गाइने चलन छ। रस प्रयोगका हिसाबले केवरत गीतमा वीर, शृंगार, करुण, हास्य रसको प्रयोग गरिएको पाइन्छ। स्थायी, अन्तरा र थेगो प्रयोगका हिसाबले केवरत लोकगीतहरू राम्ररी मिलेका छन्।

केवरत लोकतत्त्वको संवाहक

स्थायी, अन्तरा र थेगोको समुचित उपयोगले केवरत लोकगीतमा श्रुति मधुरता थपेको पाइन्छ। यस जातिका लोकगीतमा कथन पद्धतिको प्रयोग पाइन्छ। यी गीतहरू वर्णनात्मक, आख्यानात्मक, दृश्यात्मक र संवादात्मक ढाँचामा रचिएका छन्। गति र यतिको समुचित उपयोग गरिएको छ। गति र यतिको समुचित उपयोगले लयात्मकतालाई अझ बढाएको देखिन्छ। केवरत लोकगीतमा जातीय क्रियाकलाप, मूल्यमान्यता, लोकविश्वास, लोकव्यवहार, चालचलन, प्रथा, प्रणाली, रैथाने बोलीचाली, लोकज्ञान, लोकवेशभूषा, वस्त्राभूषण, शस्त्रादिजस्ता लोकगीतको उद्बोधन पाइन्छ।

वस्तुतः केवरत जातिका लोकगीत केवरत लोकतत्त्वको संवाहक हो। यसमा केवरत जातिको मौलिक पहिचान सन्निहीत छ। केवरत लोकगीतको चाँडो अभिलेखन र रेकर्ड गरी पुस्तान्तरण र हस्तान्तरण गर्नु आवश्यक छ। केवरत लोकगीत केवरत मात्रको निधि नभई राष्ट्र अमूल्य निधि भएकाले सम्बन्धित सबैले यसको संरक्षण तथा संवद्र्धनमा ध्यान दिनु वाञ्छनीय छ।

केवरत कथा

केवरत पूर्वी तराईको आदिवासी जनजाति होे। यस जातिको बसोबास मोरङ जिल्लाको दक्षिणपूर्वी सीमावर्ती नगरपालिका सुनवर्षी रहेकोे छ। लगभग १५ हजार जनसंख्या रहे पनि केन्द्रीय तथ्यांक विभागमा हालसम्म यस जातिको अभिलेख छैन।

राज्यले हालसम्म केवरतलाई तराईकै अर्को केवट जातिसँग गाभेर देखाइँदै आएकाले केवरतको पृथक् अस्तित्व ओझेलमा पर्न गएको हो। यो सीमान्तीकृत आदिवासी जनजाति हो। तराईमा बसोबास गर्ने केवरत र केवट दुई फरक जातजाति हुन्। केवरत जातिको आफ्नै केवरत मातृभाषा छ। यो भाषा हालसम्म कथ्य परम्परामै छ। प्रकृतिपूजक केवरतहरू धर्ती, पानी, रुख, बोटबिरुवा, वायु, रोपाइँ, आगोको परम्परित तवरले पूजा गर्छन्। यिनीहरू गै्याँ महाराज, काजलमाजल, मसान, बधुवालजस्ता लौकिक देवीदेवताका पूजाआजा गर्छन्। धामीझाँक्रीमा विश्वास गर्ने केवरतहरू स्थानीय जडीबुटीको प्रयोग गरेर घाउखटिरा तथा विभिन्न रोग आदिको उपचार गर्छन्। केवरत भाषामा लोककथा, लोकगीत, लोकगाथा, लोकनाटक, उखान टुक्का, प्रहसन, गाउँखाने कथा, गोठालेका पेचिला प्रश्नोत्तर आदि विद्यमान छन्।

केवरत भाषामा पहिलोपल्ट २०६५ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पंक्तिकारको ‘प्रिथ्वि सब्हार घर’ शीर्षकको कविता प्रकाशन भयो। यस भाषामा भरौवा हँयगेल कविता संग्रह प्रकाशित छ। प्रतिष्ठानले केवरत भाषाका लगभग ३५ सय शब्द संकलित केवरत शब्दसंग्रह प्रकाशन गरेको छ। यस जातिको केवरत आदिवासीत्वका आधारहरू, केवरत लोकजीवन, केवरत जातिका लोकगीत प्रकाशित छन्।

प्रतिष्ठानको बालसाहित्य तथा लोकवार्ता विभागबाट केवरत जातिका लोककथाहरू संकलन भएको छ। यी  कार्य पंक्तिकारले गरेको हो। केवरत जातेर बिहार गिदला (२३६ गीत) नामक कृति हेमन्ती केवरतले केवरत भाषाकै हो। राजकुमार दास केवरतले केवरत भाषा र नेपाली भाषाको व्यतिरेकी अध्ययन, रञ्जन घिमिरेले केवरत शब्दसंग्रहको भाषावैज्ञानिक अध्ययन शीर्षकमा शोधकार्य गरे। बेचन उराँवले गोविन्दपुर मोरङका केवरत जाति : एक जनजातीय अध्ययन शीर्षकमा शोध गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.