पुस्तकमा ‘नेपाली रैथाने जडीबुटी’
काठमाडौं : खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक भएको छ। पूर्वमन्त्री तथा सांसद गगनकुमार थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समीक्षक राजकुमार बानियाँ, राजनीतिक विश्लेषक शंकर तिवारी, लेखक नारायण घिमिरे र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।
पुस्तक सार्वजनिक गर्दै पूर्वमन्त्री थापाले नेपाली रैथाने जडीबुटी निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताए। योग, आयुर्वेद, रैथाने ज्ञान र जडीबुटीलाई पर्यटनसँग मिलाएर लैजान राज्यले योजना बनाउनुपर्ने उनको भनाइ छ। अमेरिकामा विश्वविद्यालयका लेक्चरलसमेत रहेका आमोद पोखरेलले पुस्तकमा रैथाने जडीबुटीका बारेमा खँदिलो जानकारी भएको बताए।
औषधिजन्य जडीबुटीको क्लिनिकल ट्रायल गर्न सके नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने धारणा उनले राखे। विश्लेषक तिवारीले लोक परम्परा र आफ्नो भोगाइ मिसाएर सरल मीठो भाषाशैलीमा सुन्दर पुस्तक लेखेकामा घिमिरेलाई धन्यवाद दिए। नेपालको जडीबुटीलाई विश्व बजारले महत्वका साथ हेरेको र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनुपर्ने लेखक घिमिरेले बताए। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।