भारतमा कोरोना तीव्र रुपमा फैलँदै : हेर्नुहोस् पछिल्लो १० दिनको बढ्दो संक्रमणदर
नयाँ दिल्ली : भारतमा पछिल्लो समयमा फेरि कोरोना संक्रमणदर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढी कोरोना (कोभिड–१९)का नयाँ संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ । तथ्यांकअनुसार भारतमा संक्रमणका कारण मृत्यु भएका थप १० जनामध्ये केरलाका पाँच, दिल्लीका दुई र गुजरात, उत्तर प्रदेश र मध्य प्रदेशका एक–एक जना रहेका छन् । भारतमा १०३ दिनपछि एकै दिन आठ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका हुन् ।
तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३२९ नयाँ कोरोना संक्रमित थपिएका छन् भने थप १० जना बिरामीको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ७५७ पुगेको छ । कुल संक्रमितको संख्या ४ करोड ३२ लाख १३ हजार ४३५ पुगेको छ।
उपचाररत बिरामीको संख्या ४० हजार ३७० पुगेको छ । उपचारमा रहेका बिरामीको संख्या कुल संक्रमणको ०.०९ प्रतिशत रहेको छ भने ९८.६९ प्रतिशत कोभिड–१९ संक्रमणमुक्त भएका छन्।
हाल भारतमा दैनिक संक्रमण दर २.४१ प्रतिशत र साप्ताहिक संक्रमण दर १.७५ प्रतिशत रहेको छ भने मृत्युदर १ दशमलव २१ प्रतिशत रहेको छ । राष्ट्रव्यापी कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत हालसम्म भारतमा १९२.९२ करोडभन्दा बढी खोप लगाइएको छ।
पछिल्लो १० दिनको संक्रमण
मिति संक्रमण
जुन १० ८३२९
जुन ९ ७५८४
जुन ८ ७२४०
जुन७ ५२३३
जुन ६ ३७१४
जुन ५ ४५१८
जुन ४ ४२७०
जुन ३ ३९६२
जुन २ ४०४१
जुन १ ३७१२
विज्ञहरूका अनुसार कोरोना संक्रमण बढ्नुको कारण मानिसको ढिलासुस्ती र बिदाको अवधि रहेको बताएका छन् । राममनोहर लोहिया (आरएमएल) अस्पतालका सुपरिटेन्डेन्ट बीएल शेरवालले संक्रमण भए पनि आत्तिनु पर्ने अवस्था नरहेको बताए । उनले भने, ‘सबैले सतर्कता कम गरेका छन्, त्यसैले संक्रमण बढेको हो । बिरामीहरु तीन–चार दिनमा निको हुन्छन्। संक्रमितलाई प्राय ज्वरो आउने, शरीर दुख्ने र झाडापखाला लाग्ने गरेको छ। अहिलेको कोरोनामा फोक्सोमा इन्फेक्सन नदेखिएको र अक्सिजन नचाहिने राम्रो पक्ष हो ।' एबीपी न्यूज