घरमा झगडा गरेर हिँडेका माइला जब हाइटेन्सन लाइनमा झुन्डिएको देखिए
नुवाकोट : नुवाकोटमा एक युवकको 'पागलपन्ती'ले शनिबार आठ घण्टा तनावग्रस्त बन्यो। सर्वसाधारण, सुरक्षाकर्मी, जनप्रतिनिधि, प्रहरी, प्रशासन तथा विद्युत क्षेत्रका सरोकारवालाले नसोचेको घटना हुँदा तनाव भएको हो।
ककनी गाउँपालिका-७ स्थित त्रिशुली ‘थ्रि ए’ जलविद्युत केन्द्रबाट उत्पादित विजुली काठमाडौं लगिएको ठूलो र जोखिमपूर्ण क्षमताको विजुलीको टावरमा चढेर एक युवकले तारै तार हिँडेर सबैलाई सिरिंग पारिदिएका छन्। विदेशी चलचित्रको दृश्यझैँ लाग्ने सो घटना देखेर सबै दंग परेका थिए। प्रशासनलाई चर्को दबाब परेपछि नेपाली सेनाको टोलीले शनिबार साँझ उद्धार गरेको थियो।
बेलकोटगढी नगरपालिका-१३ घलेगाउँको ४४ वर्षीय माइला विक टावरमा चढेपछि स्थानीयबासीले प्रहरी तथा प्रशासनसँग गुहार मागेपछि सामे टावरको तारबाट प्रवाहित माथिल्लो त्रिशुली थ्रिए जलविद्युत आयोजना बन्द गरेर विद्युत आवागमन ठप्प पारिएको थियो। विक टावर हुँदै तारमा पुगेको आधिकारिक जानकारी आएपछि विहान ११ बजेर २९ मिनेटमा आयोजनाले विद्युत उत्पादन बन्द गरेको आयोजना प्रमुख सुरेश राउतले जानकारी दिए।
विद्युत उत्पादन बन्द गरिएपछि उत्पादन नहुँदा विद्युत प्राधिकरणलाई ठूलो घाटा लागेको छ। आफ्नो जीवनमै पहिलोपटक यस्तो घटना व्यहोर्नुपरेको उल्लेख गर्दै प्रमुख राउतले कहिलेकाहीँ चलचित्रका दृश्यमा देखिएको यसखालको अद्भूत र साहसीपूर्ण दृश्य अहिले देखिँदा निकै अचम्म लागेको बताए।
उनका अनुसार यस घटनाका कारण ६० मेगावाट विद्युत उत्पादन गर्दै आइरहेको माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको उत्पादन बन्द गरिँदा प्राधिकरणको चार लाख ८० हजार युनिट विद्युत खेर गएको छ।
नेपाली सेनाको रेन्जर गणको उपसेनानी मंगल श्रेष्ठसहितको चार जनाको उद्धार टोलीले टावरमा चढेर विकको उद्धार गरेको घटनास्थल पुगेका नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए। उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर मगाइएको थियो।
विक बिहान ११ बजेदेखि सोही प्रसारण लाइनमा झुन्डिएका थिए। उनी तल झर्न नमानेपछि आफूसहितको टोली घटनास्थल पुगेको सहायक प्रजिअ अर्यालले बताए। उनको उद्धार गरेर मानसिक अवस्थाको पहिचानका लागि अस्पताल पठाइएको अर्यालले बताए। उनी विहान घरमा वादविववाद गरेर विद्युतको टावर चढेर तारैतार हिँडेका थिए। उनले परिवारलाई खुकुरी देखाएर झगडा गरेर हिँडेको स्थानीयको भनाइ छ।
नुवाकोट प्रहरी प्रवक्ता तथा डीएसपी रुपक खड्काका अनुसार विकको मानसिक सन्तुलन गुमेको स्थानीयको भनाइ छ। जसकारण पनि उनको लामो सममयदेखि उद्धारमा कठिनाइ भएको नुवाकोट प्रहरीले जनाएको छ।
खाना खाने समयमा बिहान स्थानीयले उनलाई पोलमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। टावरमा करेन्ट लाग्न सक्ने डरले विद्युत प्राधिकरणलाई पनि खबर गरिएको थियो।
नुवाकोटको किस्पाङ गाउँपालिकाको शान्ति बजारमा रहेको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत गृहबाट काठमाडौं लगिएको २२० केभीए क्षमताको प्रसारण लाइनको पोल रहेको ककनी गाउँपालिका-७ मा मानसिक सन्तुलन गुमाएका युवक चढेपछि आर्थिक नाफा घाटाको विषयभन्दा मानवीय जीवन महत्वपूर्ण विषय भएका कारण उत्पादन बन्द गर्नु परेको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाले जनाएको छ।
बिहान ११ बजे र २९ मिनेटबाट उत्पादन बन्द गरिएको थियो। ‘६० मेगावाटको फुलफेजमा उत्पादन भइरहेको थियो। पोलमा चढेको मानिस नउत्रेसम्म बेलुकी साढे ७ बजेसम्म उत्पादन बन्द गरिएको थियो,' आयोजनाले जनाएको छ।
उनी बिजुलीको तारसम्म नै पुगेकाले उनलाई ओराल्ने दिनभरlको प्रयास निरर्थक भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए। ‘तलबाट बोलाउँदा पनि दिनैभर नओर्लिएपछि सेनाको सहयोग लिइएको हो,' उनले भने।