कोरोनापछि ब्युँतिएको पर्यटन
विदेशी मुद्रा आर्जनको हाम्रो महत्त्वपूर्ण स्रोत पर्यटन हो। तर पर्यटन क्षेत्रको आर्थिक गतिशीलता बितेको दुई वर्ष करिब–करिब शून्य प्रायः रह्यो। यस क्षेत्रमा संसारभर नै कोभिड– १९ को प्रभाव बेजोड रह्यो। तर सन् २०२२ को सुरुवातीसँगै कोभिड— १९ को प्रभाव भने घट्दै गएको छ। फलस्वरूप विश्वव्यापी रूपमा पर्यटन क्षेत्रमा उत्साह पनि थपिएको छ। नेपालमा पनि पर्यटन आगमनको अवस्था सुधारोन्मुख छ।
तर, सरकारले पर्यटकीय क्षेत्रको विकासमा दूरदृष्टि राखेको छैन। अनगिन्ती सम्भावना भए पनि यस क्षेत्रबाट लाभ लिन सकेको छैन। पर्यटक आगमन यथेष्ट रूपमा बढ्न सकेको छैन। भित्रिएका पर्यटकहरू पनि पर्यटन गन्तव्यहरूको विस्तारको कमी, पर्यटन पूर्वाधार (होटल, लज तथा रिसोर्टहरू)को कमी, पर्यटन सडक अभाव, आवश्यक पर्यटन जनशक्तिको अभाव, सुरक्षा अभाव आदिले बसाइ लम्बिएको छैन । यत्रो सम्भावनाको पर्यटन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ३–४ प्रतिशत भन्दा बढी योगदान दिन सकेको छैन।
सरकार र दलहरूले मुलुकलाई समृद्ध बनाउन सक्ने क्षेत्र पर्यटन नै हो भनेर बुझ्न जरुरी छ। कृषिले नेपालको कृषिजन्य वस्तुको आत्मनिर्भरता ग्यारेन्टी गर्न सक्ला। जलविद्युत्को पनि निर्यात गरेर नेपालले केही विदेशी मुद्रा आर्जन गर्ने ठाउँ छ। तर त्यसलाई देखाएर नेपालले ठूलो सपना बुन्नु बेकार हुन्छ। किनकि संसारले यतिबेला ऊर्जाका अनेक आयामका विकल्पहरूमा प्रगति गरिरहेको छ। नेपालले ऊर्जाको व्यापार गर्ने भनेको छिमेकी भारत, बंगलादेश, पाकिस्तान आदि मुलुकहरूमा मात्रै हुन्। अन्यत्र त्यो सम्भावना कमै छ। चीन आफैंमा ऊर्जामा आत्मनिर्भर मुलुक हो। तसर्थ दीर्घकालीन हिसाबले हेर्ने हो भने नेपालको समृद्धिको मात्रै होइन, विदेशी मुद्रा आर्जनकै बलियो स्रोत बन्ने सम्भावना पर्यटनले मात्रै राख्छ।
पर्यटन क्षेत्र रेमिट्यान्सजस्तो पनि हुँदैन। विदेशमा जे जतिले श्रम गरिरहेका छन्। उमेर ढल्केर बुढ्यौलीतिर लम्किरहँदा उनीहरूले त्यसरी नै काम गर्न सक्दैनन्। र, त्यो स्रोत क्रमशः फिक्का पनि हुन्छ। त्यसकारण नेपालले पर्यटन पूर्वाधारमा लगानी बढाउन जरुरी छ। पर्यटकीय गन्तव्यहरूको विस्तार गर्न जरुरी छ। नयाँ–नयाँ पर्यटकीय गन्तव्यको खोजी, त्यसको संरक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रचारबाट मात्रै हामीले पर्यटन आम्दानी बढाउन सक्छौं। त्यसको लागि पर्यटकमैत्री जनशक्ति विस्तार, होटल–रेस्टुरेन्ट तथा रिसोर्टहरूको विस्तार, पर्यटकीय सडक पूर्वाधारहरूको विस्तार, पर्यटन सुरक्षा, हवाई सुविधामा जोड दिन जरुरी छ। आजको सूचना सञ्चारको युगमा इन्टरनेटको माध्यमबाट हामीले हाम्रा पर्यटकीय गन्तव्यहरूलाई विश्वमाझ सजिलै चिनाउन सक्छौ। पर्यटकहरूलाई विश्वस्त तुल्याउन संसारका लब्ध प्रतिष्ठित सञ्चार माध्यमहरूमा विज्ञापन गरेर, प्रचारमा उनीहरूको साथ मागेर पनि पर्यटन प्रचार गर्न सकिन्छ। तर पर्यटन क्षेत्रको विकास एवं विस्तारको लागि निरन्तरको अभियान चलाउन भने जरुरी देखिन्छ।
नेपाल संसारकै एक सुन्दर प्राकृतिक पर्यटकीय मुलुक हो। अन्तर्राष्ट्रिय स्तरका धेरै प्रतिष्ठित संस्थाहरूले नेपाल पर्यटकीय हिसाबले ५–६ नम्बर भित्रैपर्ने गन्तव्यको रूपमा देखाउँदै आएका छन। विडम्बना हामीले पर्यटकलाई बोलाउनै सकेका छैनौ। आतिथ्यता गराउनै सकेका छैनौ। जस्तो कि संसारभर ख्याति कमाएका भारतीय अभिनेता सलमान खानसहितका कलाकारहरूलाई नेपाल बोलाउन प्रयत्न भएको छ । यस्ता कार्यक्रमले पर्यटन क्षेत्र ब्युँझाउन, अन्तर्राष्ट्रिय मुलुकहरूको नेपालप्रति ध्यान खिच्न सहयोग नै गर्छ। पर्यटन क्षेत्रको लागि त्यस्ता कार्यक्रम प्रभावकारी हुन्छन् नै।
पर्यटन हाम्रा लागि व्यापार हो। व्यापारमा व्यापारीले लिने पनि गर्छ, दिने पनि त गर्छ। त्यसकारण संकीर्ण हिसाबले सोच्न हुँदैन। पर्यटन गतिविधिहरू निरन्तर बढाउन सक्दा मात्रै पर्यटन आय बढ्ने हो। जस्तो कि बुद्धजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी भम्रण आए। उनले त्यहाँ बुद्धको महिमा गाए। त्यसको प्रभावस्वरूप लुम्बिनीमा गत महिना पर्यटक बढिरहेको समाचार आएका छन्। त्यसकारण पर्यटकीय गन्तव्यको प्रवद्र्धन त्यसको महŒव बढाउन अन्तर्राष्ट्रिय स्तरमा दह्रिलो ओज राख्ने व्यक्तित्वहरूलाई रातो कार्पेट बिछ्याउनै पर्छ।
यसरी कोभिड कहरबाट विस्तारै लयमा फर्कंदै गर्दा अहिले पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । बन्द भएका होटलहरू खुलेका छन्। अलमल्लिएका पर्यटन जनशक्तिहरू फेरि काममा फर्किएका छन्। यस्तै बेला सरकारले पनि पर्यटन गतिविधि बढाउन जरुरी छ। सन् २०२२ को पछिल्लो ५ महिनामा १ लाख ९० हजार ७ सय ३९ जना पर्यटक नेपाल आएका छन्। पछिल्लो समय दैनिक १५ सयदेखि दुई हजारसम्म पर्यटक नेपाल आइरहेको पर्यटन बोर्डले जनाएको छ। यो एउटा कोरोना कहर कम हुँदै गएसँगै पर्यटन बढ्न थालेको सुखद संकेत हो। पर्यटन बढ्न थालेसँगै निराश पर्यटन उद्यमीहरू खुसी हुन थालेका छन्।
आँखाले हेरेर नभ्याउने भीमकाय महाभारत पर्वतहरू नेपालमै छन्। तराईका समथर उर्वर जमिनहरू छन्। विश्वमै दुर्लभ मानिने ७ सय ५० भन्दा बढी प्रजातिका पक्षीहरू यही पाइन्छन्। दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैंडाहरू हेर्न नेपालमै आउनुपर्छ। वर्षैभरि अविछिन्न बगिरहने नदीहरूले जताततै छन्। सयौं भाषा, सयौं भेष र संस्कृति यहीँ छन्। फरक–फरक जलवायु यहीँ छ। अर्थात् नेपालमा अथाह पर्यटकीय सम्भावनाका स्रोत छन्।नेपालले अरू सब छोडेर पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ प्रवद्र्धन गर्ने हो भने, आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्दै लग्ने हो भने समृद्धिको ढोका सहजै खुल्नेछ।
विदेशी मुद्राको दुःख हरदम हुने छैन। पर्यटन क्षेत्रकै लागि विश्वमा हाल पाँच सय विलियन डलरभन्दा बढी लगानी भइसकेको अवस्था छ। त्यसमा आधा खर्च चीन र अमेरिकाले गरेको बताइन्छन्। लगानी उच्च भएकै कारण चीनमा बर्सेनि १० करोड बढी मानिसले पर्यटक भएर भ्रमण गर्न थालिसकेका छन्। चीनमा बढ्दै गएको पर्यटकीय व्यापारलाई राजनीतिक स्थायित्व र शान्ति, सुव्यवस्थालाई पनि जोडेर हेरिएको पाइन्छ। त्यस्तै भारतमा करोडभन्दा बढी मानिसले पर्यटन क्षेत्रमा रोजगारी पाइरहेको अवस्था छ। राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ। त्यस्तै फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तव्यस्थल नभए पनि सबैभन्दा बढी पर्यटक भित्र्याउने राष्ट्रमा पर्ने गर्छ। पर्यटक आगमनको यस खालको तथ्यांकले प्रकृति मात्रै पनि सबैथोक होइन, पर्यटनमैत्री वातावरणको खाँचो छ भन्ने दर्शाउँछ। यसर्थ नेपालमा खाँचो भनेको दीर्घकालीन पर्यटन नीति र पर्यटनमैत्री वातावरणको हो।