रसुवामा पहिरोसम्बन्धी कृतिम घटना अभ्यास

रसुवा : रसुवामा पहिरोसम्बन्धी कृतिम घटना अभ्यास गरिएको छ ।
रसुवा जिल्ला पहिरोको उच्च जोखिममा रहेकाले पहिरोसम्बन्धी नै कृतिम घटना अभ्यास गरिएको हो ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित नागुङको पहिरो गएको क्षेत्रमा आइतबार संयुक्त सुरक्षा फौजले पहिरोपीडित उद्धार तालिम तथा डेमोष्ट्रेसन (अभ्यास मनसुन–२) सञ्चालन गरेको हो ।
नेपाली सेनाको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायसँग मिलेर यो अभ्यास सञ्चालन गरिएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा अभ्यास गरेर देखाएका थिए ।
विपद्को दृष्टिकोणले महत्वपूर्ण र संवेदनशील देखिएका स्थानहरूमा वर्षायाममा हुनसक्ने पहिरोबारे खबर संकलन गरी अभ्यास सञ्चालन गर्ने र परेको समयमा प्रभावकारी रूपमा परिचालित भइ धनजनको क्षति न्यूनीकरण गर्नका लागि अभ्यास सञ्चालन गरिएको विष्णु दल गणका गणपति प्रमुख सेनानी नरेश केसीले बताए ।
कार्यक्रममा पहिरोसम्बन्धी जानकारी दिनुका साथै पहिरोमा परि साधारण घाइते भएका व्यक्तिलाई डोरी, जुमर, क्याराबिनर र ल्याडरको सहायताले उद्धार गरी सुरक्षित स्थानमा लैजाने कार्य गरिएको थियो ।
यसैगरी पहिरोमा परि पुरिएका पीडित व्यक्तिको खोजतलास तथा शवलाई डोरी, जुमर र स्टे«चरको सहायताले सुरक्षित स्थानमा लगिने अभ्यास गरिएको थियो ।
अभ्यासमा र्याप्लिङ, होरिजेन्टल रोप वृज र हाइलाइन रेस्क्युको बारेमा अभ्यास गरिएको प्रमुख सेनानी केसीले बताए ।
वर्खा सुरु भएसँगै जिल्लामा पहिरोको घटना हुने गरेको छ । जसले गर्दा बर्सेनि जनधनको ठूलो क्षति गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
