आठौं शताब्दीमा बनेको १३ सय वर्ष पुरानो ‘लोघेकर गुम्बा’
जोमसोम : उपल्लो मुस्ताङ ऐतिहासिक तथा धार्मिक सम्पदाले महत्वपूर्ण मानिन्छ। तिब्बती कलासंस्कृति र ऐतिहासिक तथा पुराताक्तिक सम्पदाले उपल्लो मुस्ताङ पर्यटकीय गन्तव्य बनेको हो।
उपल्लो मुस्ताङमा यस्तै एक महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तब्य छ, लोघेकर गुम्बा। यो ऐतिहासिकस्थल लोघेकर दामोदरकुण्ड–१ को मराङ गाउँमा पर्दछ। समुन्द्री सतहदेखि झन्डै ४५ सय मिटर अग्लो उचाईमा रहेको ऐतिहासिक लोघेकर गुम्बालाई स्थानीय भाषामा ‘घर’ गुम्बाकोरुपमा पनि लिने गरिन्छ।
जोमसोम–कोरला राष्ट्रिय राजमार्ग अन्तर्गत चराङ खोलादेखि उकालो पश्चिमतर्फ १ घण्टाको पैदलयात्रापछि मराङमा अवस्थित लोघेकर गुम्बा पुग्न सकिन्छ। यहाँसम्म पुग्न स्थानीय तह प्रदेश सरकारको साझेदारीमा कच्ची सडकसमेत स्तरोन्नति गरिएको छ। चराङदेखि मोटर चढेर पश्चिमतर्फ उकालो लागेमा १५ मिनेटमा मराङ गाउँ आईपुग्छ। मराङ गाउँको मराङ खोला कटेर केहीबेरको पैदल उक्लिदा त्यहाँ पुग्न सकिन्छ। लोमान्थाङबाट फर्किदा र चराङबाट सिधै लोघेकर गुम्बा जान अलग/अलग दुई वटा कच्ची सडक छ। पर्यटकलाई त्यहाँ पुग्न कुनै कठिनाई पर्दैन।
भिरालो जमिनको सतह त्यस आसपासका फुस्रा डाडाँकाडाँकोबीचमा लोघेकर गुम्बा अवस्थित छ। झन्डै ४ सय रोपनी क्षेत्रफल रहेको लोघेकर गुम्बाका चारैतिर झन्डै ६ सयभन्दा बढी माने र छोर्तेनहरु अवस्थित छन् भने गुम्बा वरिपरि हरिया बुट्यान छन्। त्यहाँको बीच भागमा ऐतिहाँसिक गुम्बा छ। यहाँ एकजना पूजारी लामाले गोम्पाको रेखदेख र पूजाआजा गर्ने गर्छन्। सदियौंदेखि मुस्ताङी राजाको रेखदेखमा संञ्चालन हुँदै आईरहेको लोघेकर गुम्बा सन् २००७ देखि स्थानीयस्तरमा मराङ गाउँलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि स्थानीयले लोघेकर गोम्पा रेखदेखका लागि पूजारी लामालाई खटाएका छन्। अहिले पनि गुम्बामा लामा बस्छन्।
लोघेकर गुम्बा विश्वकै पहिलो र पुरानो दाबी गरिएको छ। लोघेकर गुम्बा गुरु पद्यसम्भवको ईतिहाँससंग जोडिएको चाखलाग्दो कथा छ। ८ औं शताब्दीमा तिब्बतका धर्म राजा ठिसोङ देउचान सम्राट थिए। उनले आफ्नो पालामा भारतबाट तिब्बतमा बुद्ध धर्म फैलाउन र प्रचारप्रसार गर्न चाहन्थे। त्यसैले धर्म राजा देउचानले बुद्ध धर्म फैलाउन भारतमा रहेका अत्तेरिया शान्तिलाई तिब्बत बोलाए। त्यसअघि तिब्बतमा पेम्भो धर्म थियो। भारतबाट तिब्बत पुगेका अत्तेरिया शान्तीले बुद्ध धर्मको प्रचार प्रसार र तिब्बतीहरुलाई शिक्षा दिन थाले। सोही क्रममा उनले बौद्ध परम्परा अनुसार पूजापाठ गरी साम्य गुम्बा निर्माण गर्ने कामको थालनी गरे।
तर अत्तेरियाले बौद्ध धर्म अनुसार पूजापाठ र गुम्बा निर्माणको थालनी गरेपनि पेम्भो धर्मका अनुयायीहरुले साम्ये गोम्पा निर्माण र पूजापाठमा अवरोध सृजना गर्न थाले। तिब्बतमा दिनभरी साम्ये गुम्बा निर्माण हुन्थ्यो तर राति आएर अवरोध सृजना गर्ने व्यक्तिहरुले भत्काईदिन्थे। यसरी कुनै धार्मिक अनुष्ठानकार्यमा बाधा र अवरोध सृजना गर्ने व्यक्तिलाई राक्षसको संज्ञा दिईन्थ्यो त्यसबेला। राक्षसहरुको पटक/पटकको अवरोध र बितण्डाले साम्ये गुम्बा निर्माणको काम पूरा हुन सकेन। अत्तेरिया शान्तिले धर्म गुरु ठिसोङ देउचानलाई भने,‘यो गुम्बा निर्माणको काम तपाईं र मबाट सम्भव देखिएन। भारतमा अलौकिक शक्ति भएका तान्त्रिक गुरु पद्यसम्भव हुनुहुन्छ। उहाँ १ हजार बुद्धका औतारी हुनुहुन्छ। उहाँलाई बोलाएर मात्र यो काम पूरा गर्न सकिन्छ।’
तिब्बतमा साम्ये गोम्पा निर्माणमा अवरोध सृजना भईरहेको कुरा भारतमा रहेका पद्यसम्भवले थाहा पाईसकेका थिए। तर तिब्बतबाट धर्म गुरु देउचानले पद्यसम्भवलाई लिन ५ जना व्यक्तिलाई भारत पठाए। त्यसबेलासम्म पद्यसम्भव तिब्बत जान नेपाल छिरिसकेका थिए। तिब्बती धर्म राजा देउचानले पठाएका ५ जना व्यक्तिसंग पद्यसम्भवको भेट भोटको हिमाली बोर्डर क्षेत्रमा भयो। पद्यसम्भव त्यसपछि तिब्बत पुगेर बौद्ध धर्म फैलाउन र गुम्बा निर्माणको काममा सहजीकरण गर्न थाले। गुरु पद्यसम्भव तिब्बत पुग्दा पनि धर्म विरोधी राक्षसहरुको उपद्रो रोकिएन। गुम्बा निर्माणमा भाँजो हाल्ने राक्षसलाई पद्यसम्भवले धपाउँन थाले। यसरी पद्यसम्भवले राक्षस धपाउँदा राक्षसहरु नेपालतर्फ पसे। यसरी तिब्बतबाट राक्षस धपाउँदै पद्यसम्भव थासाङको कोवाङ आईपुगे। कोवाङबाट फेरिमाथि तिब्बततर्फ फर्किन खोजेका राक्षसलाई लखेट्दै गुरु पद्यसम्भव मुस्ताङको घमी आईपुगे।
उनले त्यहाँबाट राक्षसलाई धनुषवाण प्रहार गरे। यसरी प्रहार गर्दा घमी खोला उत्तर पारीपट्टी राक्षसको आन्द्राभुडी झरे। अहिले त्यसस्थानमा राक्षसको आन्द्रा भुडी झरेको ऐतिहासिक किवदन्ती देख्न सकिन्छ। आन्द्रा भुडी झरेका राक्षसलाई प्रहार गर्दा रगतहरु ढाक्मर गाउँको पहाडमा लतपतिएको रातो पहाड देख्न सकिन्छ।
यसरी पद्यसम्भवको प्रहारबाट घाईते भएको राक्षस उकालो उक्लिदै मराङ पुग्यो। मराङ खोलाको पहाडमा पुगेका राक्षसको पद्यसम्भवले मुटु झिकिदिएर अन्तिम समाधी गरिदिए। त्यहाँ राक्षस उत्तानो पारेर बध गरिएको थियो। लोघेकर गुम्बा रहेकोबीच भागको जमिनमुनी राक्षसको मुट राखेर पद्यसम्भवले लोघेकर गुम्बा निर्माण थाले। पद्यसम्भवले बनाएको ९ तले लोघेकर गुम्बा निर्माणमा तिब्बतका धर्म राजा ठिसोङ देउचानले सहयोग पुर्याए। पद्यसम्भवले केही दुई राक्षसहरुलाई त्यही कैद गरी तिब्बत गएर साम्ये गुम्बा बनाउन सहयोग गरे। कतिपयले तिब्बतमा साम्ये गुम्बा बनेपछि लोघेकर गुम्बा बनेको भन्ने पनि एकथरीको बुझाई छ।
मुख्य अवरोध पुर्याउने राक्षसलाई परास्त गरेपछि तिब्बतमा साम्ये गुम्बा बनाउन थालियो। गुम्बा बनाउँदा यसअघि भाँजो हाल्ने अन्य व्यक्तिहरुले साथ दिए। सबैको सहयोगले तिब्बतमा साम्ये गुम्बा निर्माण भयो।
२२६ वर्षअघि नेपाल–तिब्बत युद्ध हुनु अघि तिब्बत नेपालको भूभाग थियो। त्यसबेलाको लडाईपछि नेपालको धेरै भूभागमा तिब्बतमा गाँभियो, जुन नेपाल थियो। नेपालमा जतिपनि पुराना गुम्बाहरु छन् ति सबै तिब्बतका धर्म राजाहरुले निर्माण गरिदिएको भन्ने ईतिहाँसमा उल्लेख गरिदिएको लामा लेक्सेले जानकारी दिए।
लोघेकर गुम्बामा गुरु पद्यसम्भवको मूर्तिहरु विराजमान गरिएको छ। तिब्बतमा साम्ये गुम्बा निर्माण गर्ने क्रममा भएको सम्पूर्ण घटनाहरु ढुङ्गामा कुदिएका हस्तलिखित सयौं चित्रहरु छन्। कुनैपनि कंक्रिट प्रयोग नगरी निर्माण गरिएको लोघेकर गुम्बा अहिले ३ तलाको छ। यहाँ विदेशी पर्यटक विभिन्न खोज अनुसन्धान र तथा अवलोकनका लागि पुग्ने गर्छन।
विश्वकै पुरानो दाबी गरिएको लोघेकर गुम्बा पुन: निर्माण :
ऐतिहासिक लोघेकर गुम्बा २०७२ सालको भूकम्पले क्षति बनाएको थियो। भूकम्पले गुम्बाको माथिल्लो भाग र गोम्पा घर चर्किएको थियो। अमेरिकी राजदूतको सांस्कृतिक कोषको अनुदान २ लाख ८५ हजार अमेरिकी डलर सहयोगमा लोघेकर गुम्बा जिर्णोद्धार थालिएको थियो। जिर्णोद्धारको शुभारम्भ असोज १५ गते गरिएको थियो।
लोघेकर गुम्बा पूननिर्माण तथा जिर्णोद्धार गर्ने जिम्मा नर्वुसुङ फाउन्डेसनले लिएको थियो। फाउन्डेसनले सन् २०२३ सम्म जिर्णोद्धार सम्पन्न गर्ने गरी जनशक्ति र स्रोत साधन जुटाएर काम गरिरहेको जनाएको छ। गुम्बा पूननिर्माण तथा जिर्णोद्धार गर्दा गोम्पाको साविकको पहिचान नमासिने गरी निर्माण गरिरहेको जनाएको छ।
यस्तै लोघेकर गुम्बामा पाटीपौवा निर्माण, छपनी ढुङ्गा बिच्छ्याउने र गोम्पाको गेटदेखि गुम्बासम्मको दुरीमा भर्याङ निर्माणलगायतको काममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गतवर्ष ४ करोड १३ लाख बजेट विनियोजन गरेको थियो। बहुवर्षीय योजना अनुसार गुम्बाको अन्य पूर्वाधार निर्माणको काम भईरहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए।