ठडिँदै धरोहर
काठमाडौं : धरहरा उद्घाटन भएको एक वर्ष भइसकेको छ। तर, अझै पूर्णता पाउन सकेको छैन। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको अवसर पारेर गत वर्षको वैशाख ११ गते धरहराको उद्घाटन गरेका थिए। त्यतिबेला सर्वसाधारणका लागि दसैं–तिहारमा धरहरा खुला गरिने घोषणा पनि गरियो। तर, आगामी दसैंसम्म पनि पुनर्निर्माण सम्पन्न नहुने देखिएको छ। भवन विभागले धरहराका केही बाहिरी र केही भित्री संरचना निर्माण गर्न अझै एक वर्ष लाग्ने जनाएको छ।
सात वर्षअघि २०७२ वैशाख १२ गतेको महाभूकम्पले धरहरा ढलेको थियो। धरहराको लगानीतर्पm भने स्तम्भ र स्तम्भमा राखिएको सुनको गजुरको गरी ३ अर्ब ४८ करोड २१ लाख बजेट छुट्ट्याइएको थियो। धरहरा टावरको काम पूरा भए पनि भित्री संरचनाको केही भाग र संरचनाको काम सम्पन्न हुन अझै एक वर्ष जति समय लाग्ने भवन विभागले जनाएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको स्वामित्व भवन विभागलाई जिम्मा लगाइसकेको छ। भवन विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले भने, ‘करिब ६५ प्रतिशत काम मात्र सकिएको थियो। यस हिसाबले पनि धरहराको पुनर्निर्माण सकिन अझैं एक वर्ष जति लाग्छ।’ बाहिरी संरचनाका काम बेसमेन्ट, म्युजियम, पार्किङको काम, प्रशासनिक भवन निर्माण बाँकी नै छ। निर्देशक अधिकारीले धरहराको भौतिक प्रगति ७४ प्रतिशत र वित्तीय प्रगति ६४.०७ प्रतिशत रहेको जानकारी दिए।
भवन विभागका इन्जिनियर गोपाल भट्टराईका अनुसार भित्री संरचनाअन्तर्गतको मेकानिकल, इलेक्ट्रिकल र एसीलगायतका काम सम्पन्न हुने चरणमा छन्। रंगरोगन पनि भइरहेको छ। लिफ्ट सुरुमै जडान गरिए पनि त्यसलाई फिनिसिङ भर्खरै सकिएको छ। सिसा, भर्याङको काम पनि प्रोसेसको चरणमा छ। झ्याल ढोका निर्माणको काम बाँकी नै छ।
भूकम्प गएको सात वर्ष बितिसक्दा पनि एकतिहाइ सम्पदाको पुनर्निर्माण हुन अझै बाँकी छ। भूकम्प क्षति भएका ९ सय २० सम्पदामध्ये ६ सय ६ वटाको पुनर्निर्माण भएको छ। २ सय ८८ वटा सम्पदाको पुनर्निर्माण जारी छ। राष्ट्रिय सम्पदा पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिएपछि उसले सम्पादन गर्दै आएका बाँकी काम सम्बन्धित मन्त्रालय, विभाग र निकायमा हस्तान्तरण भइसकेका छन्। २०७२ सालको भूकम्पका कारण देशभरका विश्व सम्पदा सूचीमा सूचीकृत १ सय ७० सांस्कृतिक धरोहरहरूमा क्षति पुगेको पुरातत्त्व विभागसँग तथ्यांक छ। भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ (२) अनुसार प्राधिकरणको कार्य क्षेत्र भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाहरूमा थियो।
भूकम्पले क्षति पुगेको सात वर्षभन्दा बढी भइसक्दा पनि अझै धेरै सम्पदाको कुनै काम अघि बढेको छैन। सम्पदा पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न सम्बद्ध निकायहरूले इच्छाशक्ति नदेखाएका कारण भन्दा पनि स्थानीय गुठी, उपभोक्ता समिति र सम्पदा मैत्री ढंगले मिलाएर पुनर्निर्माण गर्नुपर्ने बाध्यताका कारण पनि कतिपय सम्पदाको पुनर्निर्माण अघि बढ्न नसकेको काठमाडौं ट्रस्ट प्रिर्जभेसनका नेपालका प्रतिनिधि रोहितकुमार रञ्जितकारले बताए।
सम्पदा पुनर्निर्माण
भूकम्प गएपश्चात् यो बीचमा आकर्षणको केन्द्र रहेको रानीपोखरीको पुनर्निर्माण भयो। विसं १९९० को भूकम्पले भत्काउनुभन्दा पनि अघिको स्वरूपमा बालगोपालेश्वर मन्दिर बन्यो। काठमाडौं सहरको परिचय जोडिएको काष्ठमण्डपको पनि पुनर्निर्माण सम्पन्न भयो। क्षतिग्रस्त कतिपय सम्पदाको पुनर्निर्माणको सुरसारसम्म गरिएको छैन। पशुपति क्षेत्रको मुख्य मन्दिरमध्येमा पर्ने विश्वरूपको पुनर्निर्माण भर्खरै मात्र पुनर्निर्माण थालिएको छ। भत्किएर भग्नावशेषमा परिणत भइसकेको मन्दिरको मूलढोकाबाहिरै नित्य पूजा भइरहेको छ।
पशुपति क्षेत्रकै पञ्चदेवलदेवी वज्रघरसम्म पुनर्निर्माणकै पर्खाइमा छन्। सम्पदा पुनर्निर्माणमा प्राधिकरणबाहेक पुरातत्त्व विभाग, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न दातृ निकायहरू, स्थानीय उपभोक्ता समितिसमेत संलग्न छन्। पशुपति क्षेत्रभित्र मात्र साना ठूला गरेर ६२ वटा सम्पदाको पुनर्निर्माण गर्नु पर्नेछ।
जसअन्तर्गत भारतीय अनुदानमा २८, एसियाली विकास बैंकको सहयोगमा २०, चीन सरकारको सहयोगमा २, जापान सरकारको सहयोगमा २, श्रीलंकाको सहयोगमा २, युनेस्कोको सहयोगमा दुई वटा सम्पदा निर्माणाधीन छन्। काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टले १५ वटा सम्पदा निर्माण गरिरहेको छ।
विश्वसम्पदा क्षेत्रकै एकतिहाइभन्दा बढी अर्थात् ६० सम्पदा अझै पनि बन्न बाँकी छन्। मुलुकका निम्ति अन्तर्राष्ट्रिय शानका रूपमा रहेका महत्त्वपूर्ण धरोहरहरू बन्न बाँकी नै छन्। पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए। उनले भने, ‘तत्कालीन सरकारले हामीलाई कुनै औपचारिक पत्रमार्पmत यति समयमा पुनर्निर्माण हुनुपर्छ भनेर तोकेको हैन। मौखिक रूपमा ६, ७ वर्षमा पुनर्निर्माण सक्छौं भनेको हिसाबमा पनि हामीले निर्धारित समय अगावै काम गरेका छौं। अबको एक वर्षमा त अधिकांश सम्पदाको काम सकिन्छ।’
वसन्तपुर दरबार स्क्वायरलाई अझै एक वर्ष
वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा ९२ संरचना छन्। ३० वटा बनिसकेका छन्। २५ ओटा संरचना निर्माणाधीन छन्। १७ वटा सम्पदा अहिलेसम्म सुरु भएकै छैनन्। हनुमानढोका दरबार स्क्वायर विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार नौतले दरबार र राणाकालीन सेतो भवनको काम ९५ प्रतिशत पूरा भएको छ।
निर्देशक खनालले भने, ‘एउटा समूहले भवन पुनर्निर्माण गर्नुपर्छ भन्छ। अर्को समूहले बनाउनु पर्दैन यसैले काम चलेको छ भन्ने छ। यसैका कारण बन्न ढिलाइ भएको हो। कुमारी भवन यो वर्ष निर्माण गर्नका लागि बजेट विनियोजन भइसकेको छ।’
पाटन दरबारको पुनर्निर्माण अझै एक वर्ष लाग्ने
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत उक्त क्षेत्रका सम्पदाको पुनर्निर्माण ९५ प्रतिशत सकिएको छ। काठमाडौं उपत्यकाको तीनवटै जिल्लामध्ये ललितपुरको पाटन क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाको पुनर्निर्माण सबैभन्दा अगाडि रहेको छ। पाटनको देवु तलेजुको मन्दिरमा भने पुनर्निर्माण उपभोक्ता समितिमार्फत हुँदैछ।
चार महिनादेखि निर्माण थालिएको तलेजु मन्दिरको पुनर्निर्माण सकिँदा अझै चार वर्ष लाग्न सक्ने पाटन दरबार परिसरका उपभोक्ता समितिका अध्यक्ष किरणमान प्रधानले बताए। भूकम्पले क्षतिग्रस्त पाटन क्षेत्रका मुख्य रूपमा रहेको कृष्ण मन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिरलगायतका सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ। पुरातत्त्व विभागको प्राविधिक सहयोगमा उक्त क्षेत्रका सम्पदाको पुनर्निर्माण भइरहेका छन्। पुरातत्त्व विभागका प्रवक्ता कुँवरले अब फिनिसिङको काम मात्र बाँकी छन्।
भूकम्पले पाटन दरबार क्षेत्रका सुन्दरी चोक, उत्तरी तलेजु, दक्षिणी तलेजु, बहादुर शाह बैठक भवन तथा मूल चोक, कृष्ण मन्दिर, चार नारायण मन्दिर, विश्वेश्वर, मणिमण्डप, हरिशंकर मन्दिर, योगनरेन्द्र मल्लको सालिकलगायत सम्पदामा क्षति पुर्याएको थियो। ५० रोपनी क्षेत्रफलमा फैलिएको पाटन दरबार क्षेत्रमा विभिन्न धार्मिक एवं ऐतिहासिक महत्त्वका सम्पदा र चोक छन्। काठमाडौं संरक्षण कोषका निर्देशक रोहित रञ्जितकारले पाटन दरबार क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त भएका २२ सम्पदामध्ये २० वटाको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिए।
भक्तपुर दरबार स्क्वायर ८० प्रतिशत काम
भक्तपुर नगरपालिकाअन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरका रामगोविन्द श्रेष्ठका अनुसार २०७२ को भूकम्पले दरबार स्क्वायरमा आठवटा सम्पदाहरूमा क्षति पुर्याएको थियो। भूकम्पले क्षति पुगेका सम्पदाहरूमा सत्तल दरबार, शिलु महादेव, वत्सला, रामेश्वर, द्वारिका, केदारनाथ, बद्रीनारायण, नारायण मन्दिरलगायत छन्।