वडाबासीलाई व्यक्तिगतरुपमा खानेपानीको पाइप
नुवाकोट : नुवाकोटको विदुर नगरपालिकामा निर्वाचित एक जना वडाध्यक्षले व्यक्तिगत खर्चमा वडावासीका लागि पानीको पाइप उपलब्ध गराएका छन्। विदुर नगरपालिका-२ का वडाध्यक्ष दीपक कायस्थ चुनाव प्रतिबद्धता पूरा गर्दै अहिले समुदाय र गाउँटोलमा पुगिरहेका छन्।
निर्वाचनका अगाडि मत माग्ने क्रममा मतदाताको घरदैलोमा पुग्दा उनले देखेको खानेपानीको समस्या हटाउने प्रतिबद्धता वडाध्यक्ष कायस्थले जितेको केही दिनमै खानेपानीको समस्या समाधान गरेका हुन्। पाइप दिएपछि स्थानीयवासीको पिउने पानीको समस्या समाधान भएको छ।
वडाध्यक्ष कायस्थको सहयोगबाट सूर्यगढी गाँउपालिकाको सिप्लिघान मुहान गरी विदुरको नुवाकोट दरबार क्षेत्रसम्म पिउनेपानी ल्याएपछि दुई सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन्। चुनाव जितेपछिको भोजभतेर जस्ता अनावश्यक खर्च नगरी गाउँवासीको दैनिक जीवनमा परेको समस्या समाधान तर्फ आफू लागेको वडाध्यक्ष कायस्थले बताए।
सिप्लिघान मुहान गरी नुवाकोट क्षेत्रसम्म लाग्ने ६३ र ५० ईन्च साइजको पाइप र सम्पूर्ण ‘फिटिङ’का सामग्रीहरू उपलब्ध गराएको उनले बताएका छन्।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा ४७ वर्षिय कायस्थ नेकपा एमालेबाट विदुर नगरपालिका-२ मा वडाध्यक्षमा निर्वाचित भएका हुन्।