जोमसोम बजार क्षेत्रमा सडक चौडा गर्दै करिडोर
जोमसोम : कालिगण्डकी करिडोर अन्तर्गत उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किलोमिटर सडकको चौथो खण्डमा पर्ने मुस्ताङ सदरमुकाम जोमसोम बजार क्षेत्रमा सडक चौडा गर्ने कार्यलाई तीव्रता दिईएको छ। आयोजना सुरु भएको दुई वर्षपछि मुस्ताङ सदरमुकामको जोमसोम बजार क्षेत्रमा सडक चौडा गर्नका लागि करिडोर सडकले रेजा लगाएर घर\टहरा मार्किङ गरिएको भएपनि निर्माण कम्पनीको ढिलासुस्तीले सडक चौडा गर्ने काम अघि बढ्न सकेको थिएन।
अहिले जोमसोम बजार क्षेत्रमा सडक मापदण्डमा परेका घर/टहराको उचित मुआब्जा दिलाउने गरी धमाधम सडक चौडा गर्न घर/टहरा भत्काउन सुरु गरिएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए। आयोजना प्रमुख प्रजापतीका अनुसार बेनी–जोमसोम ७६ किमी सडक अन्तर्गत मुस्ताङ खण्डमा पर्ने ९२ वटा घर/टहरा मध्ये अधिकांश घर/टहराको मुआब्जा दिलाउने सहमती भईसकेकाले सडक स्तरोन्नतिकार्यमा कुनै समस्या नभएको जनाए।
बेनी–जोमसोम ४ खण्ड मध्ये अहिले चौथो खण्ड अन्तर्गत जोमसोम बजार क्षेत्रको १६ सय मिटर दुरीमा सडक चौडा गर्ने काम भईरहेको छ। सुरुआती चरणमा पप्पु गौरी पावती, कोशी एण्ड न्यौपाने जेभीबाट कोशी एण्ड न्यौपानेले सडक स्तरोन्नतिको जिम्मा लिएको भएपनि उक्त निर्माण कम्पनीले १० प्रतिशत मात्र काम गरी सडक स्तरोन्नति कार्य अलपत्र छोडेको थियो।
निर्माण कम्पनीले २०७४ सालमा ७० करोड ५२ लाख रुपैयाँ लागतमा मुस्ताङको खन्तीदेखि जोमसोमसम्म १६ किमी कालोपत्रे सडक स्तरोन्नति गर्ने सम्झौता गरेको आयोजना प्रमुख जगत प्रजापतीले बताए। उनका अनुसार उक्त ठेक्का सम्झौता गरेको मध्ये आधिकारिक रुपमा कोशी एण्ड न्यौपाने जेभीले सडक स्तरोन्नतिको काम थालेपनि सो निर्माण कम्पनीले २ वर्षपछि निर्माण व्यवसायी होमनाथ गौतमलाई निर्माणको जिम्मा दिएको थियो। गौतमले कोशी एण्ड न्यौपानेलाई सप्तकोशी जलाधार कन्ट्रक्सन नामको रुपमा परिवर्तन गरी सडक स्तरोन्नतिको काम गरेको थियो। तर सो कन्ट्रक्सनले पनि काम गर्न नसक्दा भाबेस बोहरालाई स्वामित्व हस्तान्तरण गरेको थियो। बोहराको भूमी कन्ट्रक्सन समेत रहेको र अहिले सप्तकोशी जलाधार कन्ट्रक्सनकै नाममै कोवाङ देखि जोमसोमसम्मको १६ किमी सडक स्तरोन्नतिको काम गर्दैआईरहेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए।
बेनी–जोमसोम ४ खण्डको सडक स्तरोन्नति ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेपनि निर्माण कम्पनीको हेरफेर र प्राकृतिक विपद्को समस्या देखाएर ३ पटकसम्म म्याद थपिएको छ। निर्माण कम्पनी हेरफेर र विभिन्न समस्या देखाएर ३ पटकसम्म म्याद थपिएको खन्ती–जोमसोम १६ किमी सडकको अहिले भौतिक प्रगती ६५ प्रतिशत रहेको आयोजना प्रमुख प्रजापतीको भनाई छ। जसअन्तर्गत निर्माण कम्पनीले ३७ करोड ४३ लाख रकम भुक्तानी बुझिसकेको छ।
खन्ती–कोवाङ सडकको पछिल्लो जिम्मा लिएको बोहराले जोमसोम बजार क्षेत्रमा ड्रेन र फुटपाथसहित ११ मिटरको सडक स्तरोन्नति गर्दैछ। साविक सडकको मध्य भागबाट दायाँ/बाँया ५ दशमलव ५ मिटर ओगट्ने गरी सडक चौडा गर्ने काम अघि बढाईएको हो। सडकमा सवारी आउजाउ गर्न मिल्ने ८ मिटरको सडक हुनेछ।
करिडोर सडक आयोजनाका अनुसार जोमसोमको दोहोरो घर/टहरा भएको स्थानमा आरसीसी सडक र सिंगल घर/टहरा र बस्ती नभएको ठाउँमा अस्फाल्ट कालोपत्रे सडक स्तरोन्नति गरिने आयोजना प्रमुख प्रजापतीको भनाई छ।
खन्ती/जोमसोम सडक खण्ड अन्तर्गत निर्माण कम्पनीले ५ सय मिटर दुरीमा ग्याबिन वाल,आरसीसी वाल र प्लम् कंक्रिट लगाईसकेको छ। तर उक्त खण्डको थासाङ–१ टुकुचेमा १ दशमलव २५ किमी सडकको काम अझै अघि बढ्न नसकेको आयोजना प्रमुख प्रजापतीले जनाए।
स्थानीयले थासाङको टुकुचे गाउँभन्दा बाहिर सडक लैजान माग गरेकाले सडक स्तरोन्नतिको काममा ढिलाई भएको हो। तर सो स्थानमा बस्तीदेखि बाहिरबाट सडक बिस्तार गर्दा बस्ती समेत जोगिने, घर/टहराको मुआब्जा दिनु नपर्ने, ड्रेन निर्माण गर्न नपर्ने र सडक दुर्घटनाको जोखिम नहुने भएकाले बस्ती देखि बाहिरबाटै सडक विस्तार गर्नुपर्ने स्थानीयको माग छ।