नुवाकोटमा विपद व्यवस्थापन सम्बन्धी अभ्यास
नुवाकोट : वर्खायाममा आउन सक्ने विपद सम्वन्धी सचेतनाका लागि नुवाकोटमा कार्यक्रम सन्चालन गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा पहिरोसम्बन्धी कृतिम घटना अभ्यास गरिएको हो।
नुवाकोट पहिरोको उच्च जोखिममा रहेकाले पहिरोसम्बन्धी नै कृतिम घटना अभ्यास गरिएको हो। पहिरोको चित्रांकन नै गरेर पहिरो रोकथाम तथा सचेतना सम्वन्धी जानकारी गराइएको आयोजक जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए।
विदुर नगरपालिका–५ लामिबगैचास्थित चन्द्रज्योति माविको खुल्ला चौरमा पहिरो नियन्त्रण सम्वन्धी प्रयोगात्मक कार्य गरिएको रिसालले बताए। सोही क्रममा सेना, प्रहरीसहितको संयुक्त सुरक्षा टोलीले पहिरोपीडित उद्धार तालिम तथा डेमोष्ट्रेसन (स्थलगत अभ्यास) सञ्चालन गरेको हो।
नेपाली सेना, प्रहरीको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायसँग मिलेर यो अभ्यास सञ्चालन गरिएको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा अभ्यास गरेर देखाएका थिए।
सोही क्रममा जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो। विपद्को दृष्टिकोणले महत्वपूर्ण र संवेदनशील देखिएका स्थानहरूमा वर्षायाममा हुनसक्ने पहिरोबारे जानकारी संकलन गरी अभ्यास सञ्चालन गर्ने र परेको समयमा प्रभावकारी रूपमा परिचालित भई धनजनको क्षति न्यूनीकरण गर्नका लागि अभ्यास गरिएको प्रजिअ रिसालले बताए।
कार्यक्रममा पहिरोसम्बन्धी जानकारी दिनुका साथै पहिरोमा परि साधारण घाइते भएका, धनजनको क्षति भएका व्यक्तिलाई डोरी, जुमर, क्याराबिनर र ल्याडरको सहायताले उद्धार गरी सुरक्षित स्थानमा लैजाने कार्य गरिएको थियो। यसका साथै भीषण पहिरोमा परि पुरिएका पीडित व्यक्तिको खोजतलास तथा शवलाई डोरी, जुमर र स्टे«चरको सहायताले सुरक्षित स्थानमा लगिने अभ्यास गरिएको थियो।
अभ्यासमा पहिरोको क्षति न्युनीकरण र यसको नियन्त्रण र घटनापछि गरिने उद्धारको अभ्यास गरिएको थियो। बर्खायाम सुरु भएसँगै नुवाकोटमा पहिरोको घटना हुने गरेको छ भने यसले गर्दा बर्सेनि जनधनको ठूलो क्षति गर्ने गरेको कारण यस्तो अभ्यासले सचेतना पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।