बिमला वलीको विषयलाई लिएर लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध
बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री बिमला वलीको विषयलाई लिएर लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ।
स्वास्थ्य राज्यमन्त्री वली प्रकरणबारे प्रदेश सभाको बैठकमा जबाफको माग गर्दै एमालेले अवरोध गरेपछि बजेट प्रस्तुतका लागि बसेको बैठक २५ मिनेटका लागि स्थगित भएको हो।
बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीसँग जवाफ माग गरेका थिए।
यस्तै, आज राज्यमन्त्री वलीमाथि छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ।
बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले आन्तरिक मामला तथा संचारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए।
मंगलबार बिहान तुलसीपुर-५ बसपार्क निवासी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै पीडितले जाहेरी दिएकी छन्।