न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पताल डोटीको ७५ प्रतिशत
डोटी : न्युनतम सेवा मापदण्डको आधारमा जिल्ला अस्पताल डोटीले ७५ प्रतिशत अंक प्राप्त गरेको छ ।
विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले ७५ प्रतिशत अंक पाएको हो ।
यो विगतको तुलनामा सुधारोन्मुत अंक हो । छ महिना अगाडिको मापन अनुसार ७० प्रतिशत रहेकोमा अहिले ५ प्रतिशत बढेर ७५ प्रतिशत भएको हो ।
स्वास्थ्य निर्देशनालय राजपुरको आयोजना तथा जिल्ला अस्पताल डोटीको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
यसको मुल्याङ्कन स्वास्थ्य निर्देशनालयले गर्दछ ।
फोहर व्यवस्थापन, लुगा धुनेलगायतका केहि सूचकमा भने व्यवस्थापन राम्रो नभएका कारण अंक कम पाएको छ भने औषधिको व्यवस्थापन, बिरामी उपचारलगायतका केहि सूचकमा भने सन्तोषजनक अंक पाएको देखिन्छ ।
न्युनतक सेवा मापदण्डमा सुधार गर्दै जाने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर निराजन श्रेष्ठले बताए ।
‘अस्पतालका पुराना भवन भत्काएर नयाँ भवनहरु बनिरहेका कारण व्यवस्थापनमा केहि समस्या आइरहेको छ,' डाक्टर श्रेष्ठले भने, 'केहि समयपछि भवन निर्माण सकियो भने हामी नयाँ व्यवस्थापनका साथ अस्पताललाई अगाडि बढाउनेछौं ।’
नयाँ आर्थिक वर्षमा एम्बुलेन्स, शव बाहन संचालन तथा शव व्यवस्थापनका लागि फ्रिजलगायतको व्यवस्था हुने डा. श्रेष्ठले बताए ।
सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लाहरुमध्ये नमूनाको अस्पताल बनाउनुपर्ने डोटी जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंहले बताए ।
दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काले सबैको उद्देश्य जनताको सेवा गर्नु भएकाले इमान्दार भएर काम गर्न अस्पतालका कर्मचारीलाई आग्रह गरे ।
डोटेली जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफू अहोरात्र खट्ने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताए ।
अक्सिजन प्लान्ट जडान भइसकेको छ, अस्पतालमा इन्डोस्कोपी मेसिन स्थापनालगायतका थप सेवासुविधाका लागि आगामी दिनमा सक्रिय रहने अध्यक्ष नेपालीले जनाए ।