त्रिशुलीमा पक्कि पुल निर्माण कार्य सुरु
नुवाकोट : नुवाकोटको प्रसिद्ध त्रिशुलीबजारमा नयाँ पक्कि पुलको निर्माण सुरु भएको छ। सदियौं पुरानो पुल जीर्ण भएर आवागमन जोखिमपूर्ण भएका कारण विकल्पका रुपमा नयाँ पक्कि मोटरेबल पुलको निर्माण सुरु भएको हो।
विदुर नगरपालिका–१ धोवीखोल्सामा त्रिशुली नदीमाथि पक्कि पुलको निर्माण सुरु भएको विदुर नगरपालिका-१ को कार्यालयले जनाएको छ। त्रिशुली र ढुंगे जोड्ने त्रिशुली नदीमा नयाँ पक्की पुलको धमाधम निर्माण सुरु भएको वडासदस्य रामगोपाल श्रेष्ठले जानकारी दिए।
साविकमा पश्चिम १ नं. को प्रमुख नाकाको रुपमा रहेको साँघु अर्थात् त्रिशुलीबजार हालको त्रिशुली बजारमा रहेको पुरानो पुल निकै जीर्ण भइसकेको श्रेष्ठको भनाई छ । गत २०१७ सालमा निर्मित हालको त्रिशुली पुल निकै जीर्ण हुँदै गइरहेको छ।
शहरी विकाससँगै साँघुरो पनि हुँदै गइरहेको कारण नयाँ पुलले सर्वसाधारणको जीवन आवतजावतमा सुविधा पुग्ने वडाध्यक्ष लेनिन रन्जितले बताए। कार्यालयको समयमा ट्राफिक जामको समस्या झेल्नुपरिरहेको अवस्था छ।” उनले अगाडि भने “पुल निर्माण भएपछि नयाँ र पुरानो पुलमा एकतर्फी नियम लागू गरी ट्राफिक व्यवस्थापन हुने र त्रिशुली ढुंगेको व्यपार प्रवर्द्धनमा टेवा पुग्नुको साथै बिरामीलाई नुवाकोट जिल्ला अस्पताल त्रिशुलीसम्म पुग्न पनि सहज हुनेछ।” निर्माण भइरहेको पुलको कुल लागत भ्याटसहित ८ करोड रुपैयाँ रहेको छ।
आरसीसी बक्स ग्रिडर प्रि-स्ट्रेसमा निर्माण हुन सो पुलको लम्बाई ६० मिटर र ११ मिटर चौडाई हुनेछ। दायाँबायाँ १ मिटर ७५ सेन्टिमिटर फुटपाथ रहने पुलको आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीका राजेन्द्र थपलियाले जानकारी दिए।
सरकारी नीतिअनुसार ११ मिटरभन्दा सानो बनाउन नमिल्ने र हाल पुल रहेको सोहि स्थानमा नयाँ पुल बनाउँदा क्षति धेरै हुने भएकोले एकसय ५० मिटर तल नयाँ पुल निर्माण सुरु गरिएको हो। प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडा र विदुर नगरपालिकाका तत्कालीन मेयर सञ्जु पण्डितको पहलमा बागमती प्रदेश सरकारबाट विनियोजित बजेटबाट पुल निर्माणमा सुरु भएको हो।