लासहरूको थान गन्ती
जिन्दगी चलिरहन्छ
उसै पनि चलिरहन्छ
बाजेको पालाको खलाँती जस्तै
कसैले थिचिदेला र सास फेरौंला
भनेर आस गर्नेहरू पनि छन्
बगरको ढुंगा झैं
नदीको लहरले छोला र ब्युँझुँला भनेर
प्रतीक्षाको अनन्ततासँगै निदाउनेहरू पनि छन्
अर्काको आशीर्वादमा उदाउने
र, अर्काकै सरापमा अस्ताउनेहरू पनि छन्।
अपराधी चरणहरूमा
शिर बिसाएर
जीवनको वैतरणी तर्न खोज्नेहरूको
लाम लामो छ
बन्दुकका कारखानाहरूबाट आर्जित रकमले
शान्तिका लागि गोलमेच सम्मेलनको आयोजनामा
मक्ख छन् मान्छेहरू।
पातहरू झरेर नांगिएको रुखको हाँगामा छ गिद्ध
युगौंदेखिका अर्ती उपदेशहरू बन्द छन् सन्दुकमा
र, त्यसैमाथि स्वर्ण जलपसहित भव्य प्रतिमामा
कैद छ बुद्ध!
आँसु निख्रिएर सुक्खा छन्
आमाका आँखाहरू
लासहरूको थान गन्तीमा छन्
युगका सारथीहरू।
आमाहरू,
सायद यति अभिशप्त कहिल्यै भएनन्
लासहरू जन्माउनु पर्ने विवशताभन्दा ठूलो पीडा
इतिहासमा सायद आमाहरूले कहिल्यै भोग्नु परेन।