रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आइपियो निष्कासन गर्ने
रसुवा : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि आइपियो निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि आइपियो निष्कासन गर्ने लागेको हो। रसुवाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्ने छ। यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ।
कम्पनीले गोसाइँकुण्ड गाउँपालिका–१ थुमन र वडा नम्बर २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेलाई अति प्रभावित क्षेत्र र गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ। निष्कासन गरिएको १० प्रतिशत सेयरमा अति प्रभावित, प्रभावित र सामान्यलाई क्रमशः ४.५:१.५:१ अनुपातमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। निष्कासन बन्द छिटोमा असार २७ र ढिलोमा साउन १० गते तोकिएको छ। आइपियोमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ। आइपियोमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ।