५० प्रतिशत अनुदानमा हाते ट्याक्टर
स्याङ्जा : आँधीखोला गाउँपालिकाले ८० जना किसानलाई हाते ट्याक्टर उपलब्ध गराएको छ। पालिकाको ५० प्रतिशत र किसानका ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको हो।
प्रविधिसंगै यान्त्रिकरण र ब्यावसायिकरण गर्ने उद्धेश्यले हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताए। उनले भने, ‘गाउँघरमा गोरु पाल्ने चलन हराउनु र कामदार पनि पाउन कठिन भएपछि किसानलाई सहज बनाउन ट्याक्टर दिएका हौं।’
कार्यक्रममा बोल्दै उपाध्यक्ष सीता थापा, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले यस आर्थिक वर्षको बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको र पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेकोमा जोड दिए।
एउटा ट्याक्टरको मुल्य ४९ हजार रुपैयाँ पर्ने पालिकाले जनाएको छ। सो रकम मध्ये गाउँपालिकाले प्रति किसानलाई २४ हजार ५ सय रुपैयाँ अनुदान दिएको र किसानले २४ हजार ५ सय रुपैयाँ तिर्नु परेको सूचना प्रविधी अधिकृत रोशन लामिछानेले जानकारी दिए।