मन्त्री आले र निगमका अध्यक्षबीच टसल : ८ महिनामै अधिकारी निलम्बनमा
काठमाडौं : सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई निलम्बन गरेको पर्यटन मन्त्रालय स्रोतले बताएको छ। पर्यटनमन्त्री प्रेमबहादुर आलेले सक्षम भनेर अधिकारीलाई २०७८ कात्तिकमा ४ वर्षका लागि निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएका थिए।
८ महिना पनि नपुग्दै आलेले नै अधिकारीलाई निलम्बन गरेका छन्। काम गर्न नसकेको भन्दै आलेले जेठ २६ गते नै निलम्बनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए। अनुशासनहिनता, निगमको रणनीतिक योजना कार्यान्वयन गर्न नसकेको, नियमविपरीत काम गर्दै आएको जस्ता कारण देखाउँदै आलेले अधिकारीको निलम्बन माग गरेको स्रोतको भनाइ छ।
मन्त्री आले र अधिकारीबीचको टसलका धेरै समाचार बाहिर आइसकेका छन्। पछिल्लो अडियो प्रकरण असार ३ गतेको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको थियो। उक्त अडियोमा मन्त्री आलेले अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका थिए। मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए। त्यसमा ढिला भएको र अटेरी गरेको भन्दै मन्त्रीले अश्लील गाली गरेका थिए। यो प्रकरण बाहिरिएपछि सरकारले अधिकारीका विषयमा छानबिन समिति गठन गरेको थियो। छानबिन प्रक्रियालाई सहज बनाउन पनि अधिकारीलाई निलम्बन गरिएको र उक्त समितिले दोषी ठहर गरे बर्खास्त हुने छन्।
अब नयाँ कार्यकारी अध्यक्षको खोजीका लागि पर्यटन मन्त्रालयले कदम पनि अघि बढाइसकेको छ। मन्त्रीस्तरीय निर्णय गरी पूर्वकर्मचारी अमृत श्रेष्ठलाई निगमको बोर्ड सदस्यमा नियुक्ति गरिसकेको तर सार्वजनिक नगरिएको स्रोत बताउँछ। नेपाल वायुसेवा निगम ऐन २०१९ को तेस्रो संशोधन(२०६६) को दफा ४ को उपदफा ४ मा निगम सञ्चालक मध्येबाट नै निगम अध्यक्ष बनाइने भनिएको छ।
बोर्ड सदस्य नभई कार्यकारी अध्यक्ष बन्न नपाउने प्रावधानअनुसार श्रेष्ठलाई बोर्डमा नियुक्ति दिइएको छ। उनै श्रेष्ठलाई नै कार्यकारी अध्यक्ष दिने तयारी मन्त्रालयको रहेको स्रोतको दाबी छ। श्रेष्ठ सामान्य सेवा विभागका निर्देशकसम्म भई रिटायर्ड भएका निगमकै पूर्वकर्मचारी हुन्। उनी १ वर्षअघि रिटायर्ड भएका थिए। महाप्रबन्धका लागि नाम अघि आएका श्रेष्ठ अहिले कार्यकारी अध्यक्षका लागि प्रबल सम्भावित व्यक्ति बन्न पुुगेका छन्।
यता, अध्यक्ष निलम्बनमा परेसँगै निमित्त अध्यक्षका लागि पनि चलखेल सुरु भएको निगम स्रोत बताउँछ। निमित्त अध्यक्षका लागि क्याप्टेन दिपु ज्वारचनको नाम अग्रपंक्तिमा छ। तर, ज्वारचनको मापदण्ड नपुग्ने स्रोतको भनाइ छ। ९ औं तहका कर्मचारी ज्वारचन उक्त पदमा नियुक्त हुन कि बोर्ड सदस्य हुनुपर्छ। कि १२औं तहका कर्मचारी।