कोसी अस्पतालको ल्याब रिपोर्टमा कम्प्युटरराइज प्रणाली

कोसी अस्पतालको ल्याब रिपोर्टमा कम्प्युटरराइज प्रणाली

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरको कोसी अस्पतालमा बिरामीलाई कम्प्युटरराइज प्रणालीबाट ल्याब (प्रयोगशाला)को रिपोर्ट उपलब्ध गरान थालिएको छ।

ल्याब परीक्षणको रिपोर्ट यसअघि हातले लेखेर बिरामीलाई उपलब्ध गराइन्थ्यो। अस्पतालले पहिलो पटक कम्प्युटरबाटै प्रिन्ट गरेर रिपोर्ट उपलब्ध गराउन थालेपछि स्वास्थ्य परीक्षण एवं उपचारका लागि पुग्ने बिरामीलाई सहज भएको छ। अस्पतालकी कन्सलटेन्ट प्याथोलोजिष्ट एवं प्रयोगशाला प्रमुख डा. प्रतीक्षा कार्कीले बिरामीलाई हातले लेखेर ल्याब रिपोर्ट उपलब्ध गराउनुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिइन्।

‘रिपोर्ट कम्प्युटरबाट तयार पार्न थालिएपछि हातले लेख्नुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भनिन्, ‘कम्प्युटरराइज प्रणालीसँगै प्रयोगशालमा रहेका विभिन्न खाले समस्याको समाधान भएको छ।’ यो प्रणाली सुरु भएसँगै सीमित प्राविधिकबाट पनि धेरै काम लिने अवस्था बनेको उनको भनाइ छ। ल्याब परीक्षणका लागि सुरुमा बिरामीको फाराम भर्नुपर्छ।

डा. कार्कीका अनुसार हातले लेखेर परीक्षण फाराम भर्नुपर्ने, हस्तलिखित रिपोर्टमा अक्षर नबुझ्ने, काममा ढिलो हुने, परीक्षणका लागि संकलन गरिएका नमुना हेरफेर हुने, रिपोर्ट वितरणका लागि कर्मचारी छुट्टै खटाउनुपर्ने, रिपोर्ट हराउने, एउटा बिरामीको रिपोर्ट अर्कोलाई पर्नेलगायतका समस्या यसअघि थिए। रिपोर्टलाई कम्प्युटरराइज प्रणालीमा लगेपछि सबै समस्याबाट मुक्ति मिलेको जानकारी उनले दिइन्।

अहिले हातले फाराम भर्न नपर्ने र बिरामीको नामको बारकोड नम्बरलाई राख्नेवित्तिकै कम्प्युटरबाट प्रिन्ट रिपोर्ट प्राप्त गर्न सकिने उनको भनाइ छ। ‘सुरुमा बिरामीको नामको बारकोड स्टिकर कम्प्युटरदेखि निकालेर ओपीडी (बहिरंग विभाग)को टिकटमा राख्ने गरिएको छ,’ उनले भनिन्, ‘त्यसपछि कम्प्युटरबाटै प्रिन्ट गरेर बिरामीलाई रिपोर्ट दिइन्छ।’

कम्प्युटराइज प्रणालीमार्फत बिरामीलाई रिपोर्ट उपलब्ध गराउन थालेपछि ल्याबबाट हुने विभिन्न गल्ती हुन नपाएको डा. कार्कीले बताइन्। भनिन्, ‘अहिले कम्प्युटरबाट निकालिने भएकाले बिरामीले प्राप्त गर्ने रिपोर्टमा कुनै समस्या र गल्ती हुँदैन।’ कम्प्युटरबाट काम हुन थालेपछि बिरामीले सहज रूपमा रिपोर्ट प्राप्त गर्ने अवस्था बनेको जानकारी डा. कार्कीले दिएकी छन्।

बिरामीको भीडभाड अत्यधिक हुने अस्पतालको प्रयोगशालामा यसअघि फारम भर्नकै लागि ६ जनासम्म जनशक्ति खटाउनुपर्ने अवस्था थियो। ‘ल्याबको फाराम हातले भर्नुपर्ने अस्पतालको पुरानै समस्या हो। रिपोर्ट पनि हातले नै लेखेर बिरामीलाई दिइन्थो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले भने, ‘फारम भर्नकै लागि मात्रै धेरै जनशक्ति खपत हुन्थ्यो। जनशक्ति पर्याप्त नहुँदा तत्काल रिपोर्ट उपलब्ध गराउनुपर्ने बिरामी मर्कामा परिरहेका थिए।’

कम्प्युटरराइज प्रणालीले ल्याबबाट हुने चुहावट नियन्त्रणमा सहयोग पुग्नुका साथै जनशक्ति खपत कम भएको उनको भनाइ छ। वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञसमेत रहेका डा. खरेलले अस्पतालमा अत्याधुनिक मेसिन एवं उपकरणबाट धेरै खालका ल्याब परीक्षणको सुविधा उपलब्ध रहेको र सेवालाई अझै विस्तार गर्ने योजना बनाइएको जानकारी दिए।

उनका अनुसार प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालको प्रयोगशालामा दिसा, पिसाबसहित रगत सम्बन्धी सबै खालका परीक्षण हुने गरेको छ। साथै हेमोग्लोबिन, मधुमेह, मृगौलासहित एचआईभी, हेपाटाइटिस, मलेरिया, कालाजार लगायतका विभिन्न संक्रामक रोगको समेत परीक्षण हुन्छ।

त्यसबाहेक हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, वायोप्सी, हेपाटाइटिस ‘बी’ र ‘सी’समेतका स्पेशल परीक्षण पनि हुने डा. खरेलले बताए। उनले बोनम्यारोलगायत हड्डीसँग सम्बन्धी जाँच र महिलाको पाठेघरको मुखमा क्यान्सर गराउने जीवाणु एवं भाइरसको डिएनए परीक्षणसमेत हुने जानकारी दिए।

कोसीमा दैनिक ७ सय जनासम्म बिरामीको ल्याब परीक्षण हुने गरेको छ। एउटै बिरामीको धेरै खालका जाँच गर्नुपर्ने हुँदा परीक्षण भने तीन हजारभन्दा बढी हुने गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.