भैरहवामा सुधार गृहबाट १७ किशोरलाई अन्यत्र सारियो, प्रहरी घाइते

भैरहवामा सुधार गृहबाट १७ किशोरलाई अन्यत्र सारियो, प्रहरी घाइते

भैरहवा : भैरहवास्थित बालसुधार गृहमा रहेका किशोरहरुलाई सुरक्षित रुपमा अन्यत्र स्थानान्तरण गरिएको छ।

सुधार गृहको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै गृहमा रहेका १७ जना किशोरहरुलाई विभिन्न जिल्लामा स्थानान्तरण गरिएको हो।

मंगलबार उनीहरुलाई सुरक्षित रुपमा स्थानान्तरण गर्न खोज्दा उनीहरुले गाली गलौच गर्दै सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेका छन्। आक्रमणबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल घाइते भएका छन्। डिएसपी पौडेलको टाउकोमा र अंगरक्षकको हातमा गम्भिर चोट लागेको छ। उनीहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते प्रहरीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान अस्पताल पुगेका छन्। उनले घाइते प्रहरी र चिक्तिसकहरुसगँ कुराकानी गरेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सुरक्षित रुपमा स्थानान्तरण गर्न खोज्दा सुधार गृहका किशोरहरुले सिसा, रड, छाताका डण्डीलगायतले सुरक्षाकर्मीमाथि प्रहार गरेका थिए। सुधारगृह प्रशासनले केही किशोरलाई स्थानान्तरणका लागि तयारी गरेको थियो। त्यसपछि उनीहरुले कोठाको ताल्चा खोल्न जाने प्रहरीलाई सिसालगायतका साम्रगीले घाइते बनाउने, झ्यालको सिसा फोडेर सिसाले आक्रमण गर्ने गरेका थिए। साथै उनीहरुले गृहको झ्यालको सिसा, टेलिभिजन, पंखालगायत तोडफोड गरेको बाल सुधार गृहकी प्रमुख सुभद्रा गौतमले बताइन्। उनका अनुसार यसअघि गत बैशाखमा पनि उनीहरुले तोडफोड गर्दा सुधार गृहमा करिब एक लाख बराबरको क्षति पुरएका थिए।

तनावका बीच उनीहरुले गृहमा रहेका किताब, सिरक, डसनामा आगाजनीसमेत गरेका थिए। उक्त आगाजनीलाई दमकलमार्फत नियन्त्रणमा लिइएको थियो। किशोरहरु निरन्तर होहल्ला, तोडफोड, आगाजनी गरेपनि सुरक्षाकर्मीले अन्य कुनै घटना नहोस् भनेर संयमता अपनाएका थिए।

लामो प्रयासपछि आक्रोशित किशोरहरुलाई नियन्त्रणमा राख्न सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।

सुधार गृहमा रहेका किशोरहरुले विगतदेखि नै यस्तै क्रियाकलाप गर्दै आएका छन्। उनीहरुले झ्यालबाट बाटोमा हिंडडुल गर्ने युवतीहरुलाई जिस्क्याउने, अश्लील शब्दको प्रयोग गर्दा स्थानीयवासीहरु पीडित भएका छन्। यसबाट आजीत भएका स्थानीयले मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर सुधार गृह स्थानान्तरण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए।

भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह संचालनमा आएको हो। कानुनको विवादमा परेका नाबालकहरुलाई यहाँ राखिन्छ। तर बालिक भइसकेका व्यक्तिलाई पनि कागज मिलाएर नाबालक बनाएर सुधार गृहमा राख्दा उनीहरुले अवाञ्छनीय क्रियाकलाप गर्दै आएका छन्। जसले गृहको सुरक्षामा असर पुगेको छ।

पटक–पटकको घटनापछि सुधार गृहबाट केही किशोरहरुलाई स्थानान्तरण गरिएको हो। सुधार गृह प्रमुख गौतमका अनुसार १७ जना किशोरलाई यहाँबाट नेपालगंज, भक्तपुर र कास्की जिल्लामा स्थानान्तरण गरिएको छ। १० जनालाई नेपालगंज, चार जनालाई कास्की र तीन जनालाई भक्तपुरमा रहेको सुधार गृहमा स्थानान्तरण गरिएको छ। उनीहरुलाई बुधबार बिहानसम्म ती सुधार गृहमा पुर्याइने प्रमुख गौतमले जनाइन्।

‘क्षमता भन्दा बढी भएका र पटक–पटक अवाञ्छनीय गतिविधि गर्ने किशोरहरुलाई हामीले स्थानान्तरण गरेका हौं’, उनले भनिन्। ६० जना क्षमता रहेको सुधारगृहमा १ सय १० जनालाई राखिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.