उडान यथावत्, वार्ता जारी

उडान यथावत्, वार्ता जारी

काठमाडौैं  : बुधबारदेखि आन्तरिक उडान बन्द हुने घोषणासँगै मंगलबार दिनभर तातेको उड्डयन क्षेत्र सहमतिमा अघि बढेको छ। सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। 

प्रधानमन्त्री कार्यालयको पहलमा सरकार र संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितको वायुसेवा सञ्चालकहरूको टोलीबीच मंगलबार राति वार्ता भएको थियो। मध्यरातमा वार्ता भएका कारण उडान बन्द नगर्ने बाहेक अन्य मागको विषयमा टुंगो नलागेको बताइएको छ। सरकारसँग बुधबार मध्याह्न पुनः वार्तामा बसी सबै विषय टुंगो लगाइने बताइएको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यावहारिक निर्णय भएको भन्दै संघले बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो। यसअघि भएका निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरूले उद्धार र नियमित उडानहरू बन्द गर्ने भएका थिए। 

प्राधिकरणले यही असार ५ गते विज्ञप्ति जारी गर्दै सबै आन्तरिक उडान गर्ने कम्पनीहरूले तोकिएको आधार विमानस्थलमा (अपरेटिङ बेस) रात्रिविसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न निर्देशन गरेको थियो। हवाईजहाजको हकमा असार १३ गते र हेलिकप्टरको हकमा असार ७ गतेबाट लागू हुने गरी निर्देशन दिइएको थियो। पूर्वसूचना बिना दिएको निर्देशन कार्यान्वयनमा कठिनाइ हुने भन्दै वायुसेवा सञ्चालकहरूले 
यसैको विरोध स्वरूप उडान बन्द गर्ने निर्णय गरिएको थियो। 

‘क्षेत्रीय विमानस्थलहरूको बढोत्तरी तथा स्तरोन्नति भए पनि हवाईजहाज तथा हेलिकप्टरको मर्मत सम्भार तथा चेकजाँच गर्ने प्राविधिक पक्षहरूलगायत अन्य विविध भौतिक पूर्वाधारहरूको विकास भई नसकेकाले हालको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका विमानस्थलहरूमा रात्रि विश्राम गरी उडान भर्न असमर्थ छौं।’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

संघले, निजी क्षेत्रका विमान तथा हेलिकप्टरहरूको काठमाडौं बाहिरका एयरपोर्टमा रात्रिकालीन बास अनिवार्य भनिएको व्यवस्था हटाइनुपर्ने, ल्यान्डिङ, नेभिगेसन, पार्किङलगायता सम्पूर्ण शुल्कवृद्धि फिर्ता लिनुपर्ने, दीर्घकालीन हेलिप्याड तथा मर्मत सम्भारका लागि ह्यांगरको व्यवस्था, नेपाली उड्डयनलाई कालोसूचीबाट हटाउन पहल र विमान सेवा कम्पनीहरूले हवाई सेवाका लागि प्रयोग गरिरहेका स्थान तथा संरचनाहरूको प्रयोगमा निरन्तरता दिने गरी पाँचबुँदे माग अघि सारेको थियो। राज्य र नागरिकसँग प्रत्यक्ष जोडिएको अति संवेदनशील विषयहरूमा उत्पन्न समस्याको तत्काल निराकरणका लागि संघले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण पनि गराएको थियो। 

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको ट्राफिक व्यवस्थापन गर्दै उडान सुरक्षा प्रत्याभूतिका लागि अपेरेटिङ बेसलाई कार्यान्वयन गरेको बताएको थियो। त्रिभुवन विमानस्थल बाहेक चन्द्रगढी, विराटनगर, जनकपुर, रामेछाप, भरतपुर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी, सुर्खेत र सिमरामा रात्रिविसान गर्न सकिने प्राधिकरणले सुुझाएको थियो। हाल १० वटा कम्पनीको साना तथा ठूला गरी ५२ जहाज र ११ कम्पनीको ३८ हेलिकप्टर सञ्चालनमा छन्। 

निजी वायुसेवा कम्पनीहरूले आन्तरिक उड्डयन क्षेत्रमा मात्रै करिब ४० अर्ब रुपैयाँ लगानी गरेका छन्। दैनिक करिब ३ सयभन्दा बढी उडानमा १० हजारभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको आन्तरिक उड्डयन क्षेत्रले वार्षिक करोडौं रुपैयाँ राजस्व बुुझाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.