कृषिलाई प्राथमिकता दिँदै प्रतापपुरको नीति तथा कार्यक्रम सार्वजनिक
परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँपालिकाको १२ औं गाउँसभामामा ‘किसानको उन्नती, प्रतापपुरवासीको प्रगति’भन्ने मुल नाराकासाथ कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अध्यक्ष उमेशचन्द्र यादवले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
कृषि प्रणालीलाई व्यवसायीककरण गर्न कृषि प्रयोगशाला निर्माण गरिने उल्लेख छ। गाउँपालिकालाई केरा पकेट क्षेत्रको रुपमा विस्तारगर्दै केरा र उखुको बिउबिजनको व्यवस्था गरी अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ। कृषिमा युवा विशेष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कृषक परिचयपत्र उपलब्ध गराइने अध्यक्ष यादवले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
स्वास्थ्यतर्फ १५ शैयाको अस्पताल निर्माणलाई निरन्तरता दिदै आयुर्वेद गाउँघर क्लिनिकलाई निरन्तरता दिइने उल्लेख छ। ६० वर्ष पूरा भएका महिला स्वास्थ्य स्वंय सेविकाहरुका लागि स्वयंसेविका कल्याण कोष स्थापना गरिने उल्लेख छ।
शिक्षातर्फ गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एकरुपता ल्याउन एउटै रंगरोगनको व्यवस्था गरिने छ। भने १२ कक्षा उत्तिर्ण गरी स्नातक प्रथम वर्षमा अध्ययनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।