बिएन्डसी मेडिकल कलेज र नोबेल मेडिकल कलेजले रोके स्वास्थ्य बिमा कार्यक्रम
काठमाडौं : झापाको बिएन्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बि एन्ड सी र नोवेलले स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएको हो।
उनीहरुले २०७८ मंसिरपछि बिमा वापतको रकम नपाएको भन्दै जानकारी दिएका छन्। बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले स्वास्थ्य बिमा बापतको ४५ करोड रुपैयाँ भन्दा बढी र नोबेलको ५४ करोड भन्दा बढी रुपैयाँ लिन बाँकी रहेको जानकारी दिए। यसअघि १५–१५ दिनमा भुक्तानी गर्ने भनिएपछि अझै पनि बिमा वापतको रकम नपाएको बताए।
सरकारले ७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ। प्रतिपरिवार ५ जनासम्मको ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ ।