नुवाकोटका अधिकांश उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
नुवाकोट : नुवाकोटमा निर्वाचन खर्च बुझाउन अधिकांश उम्मेदवारले चासो दिएका छैनन्। स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र निर्वाचनमा भाग लिएका उम्मेदवाहरुले निर्वाचन खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था भएपनि नुवाकोटका स्थानीय तह निर्वाचनका उम्मेदवारहरुले अटेरी गर्दै आएका छन्।
हालसम्म उम्मेदवारहरुले बुझाएका रकम वितरण सोही सीमाभित्र रहेर बुझाएका छन्। निर्वाचनमा धेरै खर्च भएपनि आयोगको सीमामा रहेर नै उम्मेदवारहरुले खर्च वितरण बुझाउने गरेका छन्।
नुवाकोटमा केही साना दलका उम्मेदवारहरुले निर्वाचन खर्च वितरण बुझाए पनि ठूला दलका उम्मेदवारहरु जसले निर्वाचन नै जितेका छन्, उनीहरुले खर्च वितरण बुझाउन अटेरी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। हालसम्म नुवाकोटमा एकसय जना उम्मेदवारले मात्र खर्च वितरण बुझाएका छन्।
मंगोल नेशनल अर्गनाइजेसनका जिल्लाभरका सबै ८९ जना उम्मेदवारहरुले निर्वाचन खर्च विवरण बुझाएका छन्। नेकपा राष्ट्रवादीका विदुर-५ का वडाध्यक्षका उम्मेदवार केशव कुमाल एक लाख ५५ हजार पाँच सय, नेकपा राष्ट्रवादी विदुर नगरपालिका प्रमुखका उम्मेदवार भरत कुमाल तीन लाख ५९ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।
मंगोलियन नेसनल अर्गनाइजेसनबाट किस्पाङका अध्यक्षका उम्मेदवार शेरबहादुर तामाङ ९९ हजार, मंगोलियन नेसनल अर्गनाइजेसन तारकेश्वरका अध्यक्षमा उम्मेदवार रेन्छेन तामाङले २३ हजार, सोही दलका उपाध्यक्षमा उम्मेदवार सुनमाया तामाङले २० हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। उता मौलिक जरोकिलो पार्टीबाट तादी गाउँपालिकाको अध्यक्षका उम्मेदवार वासु उप्रेती १० हजार एक सय ४० रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।
नुवाकोटका प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन खर्च बुझाएका छैनन्। नुवाकोटमा स्थानीय तह निर्वाचनमा २ हजार २ जना उम्मेदवारी दर्ता भएको थियो।