कर्मचारी कटौती हुँदा जोमसोम अस्पतालको फार्मेसी सेवा बन्द
जोमसोम : जिल्ला अस्पताल जोमसोममा संञ्चालन भईरहेको औषधि बिक्री कक्ष (फार्मेसी) सेवा बन्द भएको छ। २०७५ साल मंसिरमा सदरमुकामको घरपझोङ गाउँपालिकाले १ जना फार्मेसी कर्मचारी व्यवस्थापन गरेपछि सञ्चालनमा आएको सेवा ३ वर्षपछि मंगलबार बन्द भएको जनाईएको छ।
जिल्ला अस्पताल जोमसोममा नागरिकले स्वास्थ्य परीक्षण गराईपनि अस्पतालमा सुपथ मूल्यको औषधि बिक्री कक्ष (फार्मेसी) नहुँदा बिरामीले महङ्गो मुल्यमा औषधि खरिद गर्न बाध्य थिए। मुस्ताङको जोमसोम अस्पतालमा स्वास्थ्य चेकजाँच गर्न आउने सेवाग्राहीहरुलाई आर्थिक भार कम गर्ने उद्देश्यले ३ वर्षअघि घरपझोङ गाउँपालिकाले १ जना फार्मेसीलाई मासिक तलब दिने गरी कर्मचारी व्यवस्थापन गरेको थियो।
घरपझोङ गाउँपालिकाले व्यवस्थापन गरेको कर्मचारीलाई ५ औं तहको सरकारी तलब सुविधा दिने गरी मासिक ३० हजार उपलब्ध गराउँदै आईरहेको थियो। स्थानीय तहको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आएपछि भएपछि जोमसोम अस्पतालको करारमा भर्ना गरीएको फार्मेसी कर्मचारीलाई यसअघि उपलब्ध गराउँदै आईरहेको सेवा कटौती गरेको जोमसोम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. विशाल तिवारीले जानकारी दिए।
उनका अनुसार घरपझोङ गाउँपालिकाले असार २ गते कार्यपालिका निर्णय गरेर फार्मेसी कर्मचारी कटौती गरेको पत्र पठाएको डा. तिवारीले उल्लेख गरे। घरपझोङ गाउँपालिकाले जोमसोम अस्पताल प्रदेश सरकार अन्तर्गत पर्ने र फार्मेसी कर्मचारी व्यवस्थापन गर्ने हो भने जिल्लाका ५ वटै पालिकाले अपनत्व लिनु पर्ने जनाएको डा. विशाल तिवारीको भनाई छ।
घरपझोङ गाउँपालिकाले फार्मेसी कर्मचारीलाई दिने पारिश्रमिक नदिने भएपनि जोमसोम अस्पतालको औषधि बिक्री कक्ष अहिले बन्द हुने अवस्था आएको डा. तिवारीले बताए।