मौरी चराउन झापादेखि पाँचथर
फिदिम : ‘मौरी पनि चराउनु पर्छ र ?, मौरी कसरी चर्छन् ?’ नन्दकुमार दंगाललाई यस्तै प्रश्नको जवाफ दिन भ्याइनभ्याइ छ। उनी झापादेखि मौरी चराउँदै पाँचथर आइपुगेका छन्। फिदिम–४ थाक्लेमा मौरी चराइरहेका छन्। ‘धेरैले अचम्म मान्दै सोधिरहनु भएको छ। मौरी चरेको हेर्न आउनुहुन्छ,’ उनले भने।
झापा शिवशतासी–११ दुधेका दंगाल मेलिफेरा जातका ९३ घार मौरी लिएर पाँचथर आएका हुन्। थाक्लेका आनन्द खनालको बारीमा मौरी राखेका छन्। दिनभरि मौरीको रेखदेख गर्छन्। मौरीको बारेमा बुझ्न पुगेका मानिसलाई विशेषता बताउँछन्। उनले खनालको जमिन भाडामा लिएका छन्।
दंगालले घार राखेको पाँच किलोमिटर वरपरको जमिन सर्वेक्षण गरेका छन्। मौरी चर्न पुग्ने जमिनमा विषादी प्रयोग नभएको पाएपछि यहाँ आएको उनले सुनाए। ‘घार भएको ठाउँदेखि पाँच किलोमिटरसम्म मौरी चर्न जान्छ,’ दंगालले भने, ‘यहाँको ठाउँ उपयुक्त छ।’
अहिले झापामा वर्षा, झरी, विषादी र गर्मीबाट मौरीलाई बचाउन हम्मे पर्ने उनले सुनाए। यो सिजन तराईमा गर्मी धेरै हुने र आहाराको कमी हुने भएकाले मौरी बचाउन पहाड उक्लिएका हुन्। झापालगायत तराईका जिल्लामा व्यावसायिक रूपमा मौरी पालेका किसान जेठदेखि कात्तिकसम्म मौरी लिएर पहाड चढ्छन्।
दंगालले २०७२ सालदेखि व्यावसायिक मौरीपालन थालेका हुन्। विगतमा बराह क्षेत्र र चतरातर्फ लाने गरेका थिए। ‘चतराभन्दा यो ठाउँ उपयुक्त रहेछ,’ उनले भने, ‘३० हजार भाडा तिरेर दुई वटा गाडीमा मौरी ल्याएको हुँ।’
फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग हुन थालेपछि तराईमा मौरी बचाउन किसानलाई मुस्किल पर्न थालेको छ। ‘चरन क्षेत्रको अभावसहित तराईमा गर्मी र विषादीबाट मौरी बचाउन कठिन भएपछि पहाड उक्लन थालेका हांै,’ दंगाल भन्छन्, ‘मौरीलाई बचाउन पहाड उक्लनुपर्ने किसानको बाध्यता हो।’ मौरीका लागि चरन क्षेत्रका फलफूलमा विषादी प्रयोग नभएको ठाउँ चाहिन्छ। ‘कात्तिकसम्म यहीँ राख्छु,’ उनी भन्छन्, ‘त्यसपछि फेरि झापा लिएर जान्छु।’
दंगालले श्री शतासी महिला मौरीपालन सहकारीमार्फत मौरी पाल्न सुरु गरेका हुन्। यो सहकारीमा ५ सय ५३ सदस्य छन्। जसमध्ये ३५ जनाले व्यावसायिक रूपमा मौरी पालेका छन्। आफूजस्तै अरू किसान पनि मौरी बचाउन अहिले पहाड उक्लिने गरेको उनले बताए। ‘सहकारीमार्फत पाँच सय घारसम्म मौरी पाल्ने किसानहरू छन्,’ दंगालले भने, ‘अरू किसान पनि अहिले मौरी लिएर पहाडका विभिन्न स्थानमा पुगेका छन्।’