वायुसेवा निगमको महाप्रबन्धकमा ज्वारचन
काठमाडौं : सरकारले क्याप्टेन दिपुराज ज्वारचनलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्त गरेको छ।
निगमको अप्रेसन विभाग प्रमुख ज्वारचनलाई असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार महाप्रवन्धकको जिम्मेवारी बहन गर्ने गरी नियुक्त गरेको हो। ज्वारचनले निगमको एयरबस उडाउँदै आएका छन्।
असार ६ गतेको मन्त्रिपरिषद्को निर्णयले ज्वारचनलाई निगमको निमित्त महाप्रबन्धक बनाउने निर्णय गरेको थियो।
नवनियुक्त महाप्रबन्धक ज्वारचनले विहीबारै पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणका अवसरमा सबैबाट पूर्ण सहयोग पाउने अपेक्षा राखे।
समग्रतामा सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना र सो को लागि रणनीति एवंम कार्ययोजना बनाई सबैलाई साथ लिएर अघि बढ्ने उनको भनाइ थियो।
यसैगरी मन्त्रिपरिषद्ले निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनलाई जिम्मेवारीबाट निलम्बन गरेको थियो। आफूसँग ‘पंगा’ लिएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर आलेले तत्कालीन निगमका अध्यक्ष अधिकारीलाई बर्खास्त गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए।