ल्याइयो ‘सुन्दरी’
दैलेख : नारायण नगरपालिका–९ का पदमबहादुर बुढाथोकी २०२० सालमा नेपाली सेनामा भर्ना भए। तत्कालीन समयमा जिल्लास्थित सेनाको ज्वाला दल गुल्ममा भर्ना भएका बुढाथोकी २०३९ मै रिटायर्ड भइसकेका छन्। उमेरले ७९ वर्ष पुगिसकेका बुढाथोकी बिहीबार खुसी देखिन्थे। कारण थियो, सेनामा कार्यरत रहँदा उनी आफैंले पूजापाठ गरेको अर्गा र सुन्दरीमध्ये सुन्दरी तोप फिर्ता हुनु।
उनले २०२८ यता गुमनाम जस्तै बनेको सुन्दरी तोप ५१ वर्षपछि जिल्लामै फिर्ता हुँदा खुसीसँगै अर्गा तोप फिर्ता हुने अपेक्षा व्यक्त गरे। ‘अहिले ल्याइएको सुन्दरी तोप आकारका हिसावले सानो हो, ठूलो तोप अर्गा कहाँ छ ? त्यसको पनि खोजी हुनुपर्छ’, उनले भने।
नारायण नगरपालिका–२ का ७३ वर्षीय लालबहादुर थापाले पनि अर्गा तोप फिर्ता गरिनुपर्ने बताए। ‘जिल्लासँग जोडिएको ऐतिहासिक दुई वटामध्ये एउटा तोप फिर्ता हुनु खुसीको कुरा हो, तर अर्गा तोप गुमनाम हुनु सुखद् पक्ष होइन,’ उनले भने। अब अर्गा तोपको पर्खाइमा रहेको उनको भनाइ छ।
लालबहादुर र पदमजस्तै तोप फिर्ता हुँदा जिल्लाबासी खुसी छन्। जिल्ला सदरमुकामको पुरानो बजारस्थित ऐतिहासिक कोतगढीमा परापूर्वकालदेखि नै सुन्दरी र अर्गा नामका दुईवटा तोपहरू थिए। तत्कालीन समयमा जिल्लामा बडादसैं लगायतका महत्वपूर्ण चार्डपर्वमा
तोपको बढाइपछि मात्र पूजाआजा तथा टीका थाप्ने चलन थियो। २०२८ सालमा दैलेखस्थित नेपाली सेनाको ज्वाला दल गुल्म सुर्खेतको मंगलगढी चोकमा स¥यो। गणसँगै सुर्खेत लगिएका दुईवटा तोपहरू ‘सुन्दरी र अर्गा’ मध्ये सुन्दरी तोप गत माघ २१ गते फिर्ता ल्याइएको थियो। सेनाको पश्चिम पृतना नेवारे सुर्खेतबाट फिर्ता ल्याईएको सुन्दरी तोप ऐतिहासिक कोतगढीमा पुनर्स्थापना गरिएको हो। अहिले सुन्दरी तोप र ८१ थान गोला कोतगढीमा राखिएको छ।
अर्गा तोप भने अझै गुमनाम छ। जिल्लाको ऐतिहासिक एवं पुरातात्विक सम्पत्तिको रुपमा रहेको अर्गा तोप खोजी गरेर फिर्ता ल्याउनुपर्ने स्थानीय सरस्वती श्रेष्ठले बताइन्। ‘एउटा तोप फिर्ता भयो, त्यसमा हामी खुसी छौं, तोपलाई कोतगढीमा खुल्ला आकासमूनी राखिएको छ, सुरक्षाको चुनौती पनि उत्तिकै छ,’ उनले भनिन्। नारायण नगरका मेयर लोमन शर्माले कार्यविधि निर्माण गरेर कोतगढी र त्यहाँ राखिएको तोपको संरक्षण गर्ने बताए।
नेपाल एकीकरणको सिलसिलामा निर्माण गरिएको ऐतिहासिक कोतगढीमा तत्कालीन समयमा निर्माण भएका र लामो समय गुमनाम रहेको तोप पुनर्स्थापना गरिएको मेयर शर्माको भनाइ छ। उनले तोप पुनर्स्थापनाले दैलेखको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए।
कोतगढीमा राखिएको ऐतिहासिक तोपलाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने सेनाको पश्चिम कमाण्ड हेडक्वाटरका सेनापति उपरथी प्रेम शाही बताउँछन्। अर्गा तोप अझैसम्म फेला नपरेको उपरथी शाहीले बताए। सुन्दरीसँगै अर्गा तोप पनि दैलेखबाट ल्याइएको थियो। उक्त तोपको खोजी भइरहेको उपरथीले बताए। उनले ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरूको हेरचाह, रेखदेख र संरक्षणमा स्थानीय तहले विशेष चासो राख्नुपर्ने बताए।
कालीदत्त गुल्म काँडाचौर ब्यारेकका गुल्मपति सेनानी विनोद चौलागाईंले कोतगढीमा सुन्दरी तोप पुनर्स्थापनासँगै सेनाको मातहतमा रहेको ब्यारेक वनमा झण्डै एक हजार पाँच सय बिरुवा रोपिएको छ। चिउरी, सल्ला, रिट्ठा, लप्सी लगायतका विरुवा रोपण गरिएको सेनानी चौलागाईंले जानकारी दिए।