स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा, बयालपाटा अस्पताललाई एक करोड
अछाम : साँफेबगर नगरपालिकाले आर्थिक संकट झेलिरहेको बयालपाटा अस्पताललाई एक करोड बजेट विनियोजन गरेको छ।
शुक्रबार बसेको नगरसभाले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै एक करोड बजेट बिनियोजन गरेको हो। बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले पुँजीगततर्फ साढे चार करोड बजेट बिनियोजन गरेको छ। बयालपाटा अस्पताल सञ्चालनका लागि १२ करोड रकम आवश्यक रहेको अस्पतालले जनाएको छ।
साँफेबगर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७९/८० का लागि ६९ करोड २७ लाख ६३ हजारको बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ।
नगरपालिकाले स्वास्थ बिमालाई प्रभावकारीरुपमा कार्यान्वय गर्ने, सुरक्षित गर्भपतन सेवा बिस्तार गर्ने, दुर्गमका वडाहरुमा एकीकृत स्वास्थ्य शिविर, प्रसुती गृह सञ्चालन, पोषण विशेष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
कृषिको क्षेत्रमा एक वडा एक उत्पादन, रैथाने बाली संरक्षण, कृषक पाठशाला सञ्चालन गर्ने नीति लिएको छ। त्यसैगरी नगरका विपन्न समुदायको २५ युनिट विद्युत नि:शुल्क गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
शिक्षा, पूर्वाधार, वन वातावरण, लैंगिक समानता तथा सामाजिक समावेशीकरणर पर्यटनका क्षेत्रमा बजेट विनियोजन गरिएको छ।
नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको नगरसभामा नीति तथा कार्यक्रम र बजेट नगर उपप्रमुख शिवबहादुर कुँवरले प्रस्तुत गरेका थिए।