लोकजीवनका अभियन्ता अलि मियाँ
अनेकन आरोह, अवरोह पार गरेर पोखरेलीहरूको मनमन्दिर र नसानसामा प्रवेश गरेका अलि मियाँ विशेषगरी २०४७ पछि मात्र राष्ट्रिय चर्चामा देखा परेका हुन्। उनले आफूलाई सुन्दर रूपमा देश–विदेशमा परिचित गराए।
नेपाली भाषा साहित्यमा गण्डकी अञ्चलको तर्फबाट प्रतिनिधित्व गर्ने आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल र राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई त्रिमूर्ति भनेर सम्बोधन गरिन्छ। यस्तै, नेपाली लोकसंस्कृति, लोकगीत, लोकसंगीत र प्रचुर गायनको क्षेत्रमा गण्डकीको माटोले अर्को पाटोमा लोककवि अलि मियाँ, जनकविकेशरी धर्मराज थापा र लोकगायक झलकमान गन्धर्वलाई जन्माएको छ। त्यसैले, प्रतिभा जन्मनु सहज र सारको कुरा होइन किन्तु संयोगको कुरा पनि हो। लोककवि अलि मियाँ यस क्षेत्रका अभियन्ता नै हुन्। यस दृष्टान्तमा एक संवेदनशील लोककवि, लोकगायक अलि मियाँसित बहुमुखी व्यवधानलाई पाचन गरेर उच्चस्तर जीवन बाँच्ने एक जन्मजात प्रतिभा थियो। उनले सीमित भूगोलबाट असीम अनन्त छलाङ लगाएको दिन उनको जीवनयात्राको प्रस्थान दिवस आरम्भ भएको छ–
यो वनमा छैन कि चरी
चरी भए कराउँथ्यो केही गरी।
नेपाली लोकभाकालाई प्राण सम्झने अलि मियाँको ८४औं शुभजन्मोत्सवको अवसरमा तमाम पोखरेलीले २०५९ फागुनमा भव्यरूपमा रथारोहण शोभायात्रा गरी लोककविको योगदानप्रति सम्मान प्रकट गरेका थिए। आफ्नै जन्म र कर्मथलो पोखरामा जीवन–मृत्यु चक्रको परिज्ञानको विकल्प पनि २०६३ साउन १८ गते अलि मियाँले सदाका लागि नेपाली मनहरूबाट बिदा लिए। कला र गलाका जन्मजात प्रतिभा अलि मियाँको सम्झनामा उनको सिर्जनाभित्र नेपाली मनहरू जीवन्त छन्।
प्रकृति र संस्कृति, रमणीय हिमशिखरहरू कास्की पोखरा कुँडहरमा १९७६ फागुनमा अलि मियाँको जन्म एउटा सामान्य मुसलमान परिवारमा भएको थियो। कँुंडहरमा जन्मेका अलि मियाँ, १८ महिनाको शिशु बालक छँदा आमा र तीन वर्षको उमेरमा बाबुले टुहुरो बालकलाई छोडेर बिदा लिए। मुसलमान धर्मावलम्बी संस्कृतिमा जन्मेर आमाबाबुको मातृत्व स्नेहबाट पूर्ण उपेक्षित टुहुरो बालक अलि मियाँ आज नेपाली वाङ्मय जगत्का सचेत साधक बन्न पुगे। आमा बाबुको निधनपछि आफ्नै दाजु भाउजूको टर्रो लालनपालनमा हुर्केकाले पनि मातृस्नेहको अभावमा अलि मियाँ दिक्क थिए। यस्तो अवस्थामा हुर्केका अलि मियाँ सानै उमेरदेखि झरना, वनजंगल र चराचुरुंगीको नजिकमा रमाउँदा बढी हर्षित हुन्थे।
स्थानीय काहुँखोला, लाखुपाटा र ढाँड्बेसी जंगलमा घाँसदाउरा र मेलापात गर्दा १०, १२ वर्षको उमेरदेखि अलि मियाँ अरूले गाएको गीत टपक्कै टिप्थे। गीतको जवाफसमेत फर्काउने गर्थे। वनको काँडालाई तिखार्नु पर्दैन भनेजस्तै घाँसदाउरा र मेलापातबाटै तिखारिएका प्रतिभा अलि मियाँ आफ्ना लागि स्वयं गुरु हुन्। १९९९ सालमा भारतीय सेनामा भर्ती भएर जापानसँगको युद्धमा बर्मा पुगेका अलि मियाँ तीन वर्षको अन्तरालपछि पहिलो छुट्टि मनाउन स्वदेश फर्केका थिए। स्वदेशप्रेमी अलि मियाँमा विदेशीको गुलामी भएर बाँच्नु हुँदैन भन्ने भावना जागृत थियो।
२००४ सालमा नेपालमा एकतन्त्रीय राणाशासनको अन्त गर्न अधिराज्यका विभिन्न ठाउँबाट छात्र आन्दोलन र मजदुर आन्दोलन प्रारम्भ भइसकेको अवस्था थियो। क्रान्तिको सन्देश अशिक्षित समाजमा पुर्याउन सचेत वर्गको खाँचो रहन्छ। तत्काल गीत र कविताको माध्यमद्वारा स्वदेशमा रहेर जहाँनियाँ शासनको विरोध गर्ने मोडमा उभिएका अलि मियाँले गीतिशैलीमा पत्र लेखेर आपूm भारतीय सेनामा नफर्कने खबर पठाएका थिए। राणाशासनको विरोधमा २००५ सालमा उनले प्रधानमन्त्री श्री ३ मोहन शमशेरको दमनकारी रबैयाप्रति लक्षित गर्दै व्यंग्यगीत यसरी गाए–
रानी चरी नेपालै वनभरि
बोल माया तिम्रै छ मनपरि।
नेपाली, हिन्दी र उर्दू भाषाका हिमायती आँसुकवि अलि मियाँले जनतामारा शोषकको पक्षमा
चोटिलो प्रहार गरेका छन्। उनका गीत र कवितामा समग्र राष्ट्रको आत्मा बोल्छ। यस क्रममा
उनले यसो भनेका थिए–
रवि पुग्न नसक्नेमा कवि पुग्छ अरे
बढेबढे कविहरू कति भोकै मरे।
देशका लागि कति वीरले आफ्नो रगत छरे
मौका छोपी सामन्तले आफ्नो भुँडी भरे।
गीत र कविताबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ। अलि मियाँले निकै लोकप्रिय स्तरमा गीत, लोकगीत र कविता रचना गरेका छन्। विरक्त वेदनाको प्रभावबाट उनका २००६ सालमा विरक्त लहरी, २००९ सालमा नेपाली मौलिक झ्याउरे गीतसंग्रह, जसलाई महेन्द्र लहरीको नाम दिएका छन्। यस्तै २०१० सालमा लोकगीत संग्रह न्याउलीको पुकार रहेको छ। लोकसंस्कृति र संगीतप्रेमी अलि मियाँले २०१२ सालमा नेपाल भारत सांस्कृतिक केन्द्रको उद्घाटनमा गीत गाएर प्रथम पुरस्कार प्राप्त गरे। २०१३ सालमा पहाडको उद्गारलाई वनारसबाट प्रकाशित गरेका थिए। उनका जन्मभूमिप्रतिको पीडा, सेतीको सुस्केरा, उज्यालो भइसक्यो। जगदम्बा प्रकाशनबाट २०५१ मा सम्झनाको दियोजस्ता कृतिहरू लोकगीत तथा कवितासंग्रहका रूपमा प्रकाशित छन्। अलि मियाँको जीवनीपरक कृति पनि प्रकाशित छ, जसभित्र चर्चित नमिता—सुमिता काण्डपश्चात्का फुटकर कवितालाई उनले निराश पोखरा भन्न बढी मन पराएका छन्।
नेपाली लोकगीत र लोकसंस्कृति साहित्यको पुरानो र नयाँ जीवनसँग सम्बद्ध विधाको रूपमा आदिममानव मात्र होइन। आजको मानिसका सुख र दुःख, रुवाइ र बिलौना तथा हर्ष र विस्मात जातीय परिवारको एउटा अलिखित इतिहास हो। जसरी नङ र मासुबीच जति सम्बन्ध रहन्छ, त्यसरी नै लोकगीत बिना नेपाली समाज पनि पृथक् रहन सक्दैन भन्ने पक्षभाव अलि मियाँको छ।
जीवनको आरोह अवरोहमा उनले ठाउँ ठाउँमा सुनाएका गीत र कवितालाई लय र संगीतसहित कण्ठस्थ सुनाउन सक्ने अलि मियाँ साहित्य, कला, संगीत र संस्कृतिको विकासमा आजीवन समर्पित रहे। मान–सम्मानबाट टाढै रहेर पनि अलि मियाँले स्थानीय लोकसंस्कृतिको जागरणका निमित्त विशेष गरेर पश्चिमाञ्चल क्षेत्रलाई साधना क्षेत्र बनाउँदै आधा शताब्दीदेखि नेपाली लोकसाहित्य र लोकसंस्कृतिको उत्थान, विकास र संरक्षणको पक्षमा उल्लेखनीय एवं अविच्छिन्न रूपमा योगदान पुर्याए। गला र कलाका धनी अलि मियाँले लोकलय र लोकभाकामा आधारित असंख्य गीत र लोकगीत रचना गरेका छन्, तीमध्ये केही मार्मिक गीतका बोल–
घर त मेरो लथालिंग पाली मात्र छाउँछु
बर्खा खान पर्ने छैन बाली मात्रै लाउँछु।
०००
रुन्छन् मुसा केही छैन आँटीमा
बित्यो जीवन अँधेरो पाटीमा।
०००
त्यो मायाले जाऊँ लाहुर भन्थ्यो
दुःख पाउने करिम के मान्थ्यो।
नेपाली लोकवाङ्मयका धरोहर अलि मियाँले आफ्नो जीवन पीडा र अभावमा बिताए। यी सर्जकले सयौं गीतरचना संकलन गरेका छन्। भकारीका भकारी गीत र कविता वाचन गर्न सक्ने क्षमता उनीसँग थियो। गाउँघर, पाखापखेरा एवं पानीपँधेराका सुखदुःखलाई टपक्क टिपेर शब्दको माला उन्दै रहँदा उनलाई अमर बनाएको हो। अनेकन आरोह, अवरोह पार गरेर पोखरेलीहरूको मनमन्दिर र नसानसामा प्रवेश गरेका अलि मियाँ विशेषगरी २०४७ पछि मात्र राष्ट्रिय चर्चामा देखा परेका हुन्। उनले २०४७–२०६३ बीच आपूmलाई सुन्दर रूपमा देश–विदेशमा परिचित गराउने अवसर प्राप्त गरेका थिए। यसको श्रेय उनी तमाम शुभचिन्तक र आम सञ्चारमाध्यमलाई दिन चाहन्थे।
जुन अवधिमा उनले धेरै पुरस्कार, मान–सम्मान र पदक प्राप्त गरेका छन्। उनले प्राप्त गरेका दर्जन सम्मानमध्ये विगत ६० वर्षभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसिर्जनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान गरिरहेबापत मदन पुरस्कार गुठीद्वारा २०६० सालको एक लाख राशिको जगदम्बाश्री पुरस्कार लोकप्रिय कवि अलि मियाँलाई सम्मानस्वरूप प्रदान गरिएको छ। यस्तै, लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा नेपाली लोकजीवनलाई अत्यन्त सुझबुझका साथ अधिकतम सफल रूपमा प्रस्तुत गरेबापत लोककवि अलि मियाँलाई ५१ हजार राशिको २०५७ सालको नारायणगोपाल संगीतसम्मान समर्पण गरिएको छ।
यसैगरी, विगत पाँच दशकदेखि नेपाली लोकसंस्कृतिको क्षेत्रमा अविच्छिन्न सेवा र साधना गर्दै आएबापत नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा ५० हजार राशिको २०४७ सालको इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार प्रदान गरिएको छ। यी तीनवटा सम्मानको साथै उनले स्थानीय स्तरमा दर्जन सम्मान र पुरस्कार प्राप्त गरेका छन्। यस क्षेत्रमा उनको योगदानलाई लिएर स्कुल कलेज क्याम्पस र विश्वविद्यालयहरूमा दर्जन शोधपत्र लेखिएका छन्। अलि मियाँलाई सञ्चारमाध्यमबाट गुणात्मक प्रचारप्रसारमा ल्याउने कार्यमा रेडियो सञ्चारकर्मी प्रकाश सायमीको योगदान पनि पोखरेली माँझ कम छैन–
रातो भाले पूर्वैमा करायो
गरिबीको निसापै हरायो।
नेपाली लोकसाहित्य र लोकसंगीतको क्षेत्रमा अतुलनीय योगदान दिएका अलि मियाँले सिर्जना र संकलन गरेका मार्मिक र कर्णप्रिय गीतहरू प्रसिद्ध लोकगायक गायिकाहरू हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, ठाकुर सिग्देल, प्रेमराजा महत, दुर्गा रायमाझी र पद्मराज ढकाललगायतले आवाज बुलन्द गरेका छन्। गायिका हरिदेवी कोइराला र लोकगायक प्रेमराजा महतले दुई दशकअघि गाएको अलि मियाँ केन्द्रित चर्चित गीत अझै पनि नेपाली मनमनमा कर्णप्रिय छ–
आकाशमा बादल डम्मै छ
मनमा के छ भन्नेलाई सम्मै छ।
नेपाली लोक साहित्यका जीवन्त प्रतिभा अलि मियाँको योगदानको सम्मान हेतु भावी सन्ततिलाई लोकसाहित्यसम्बन्धी बोध गराउने उद्देश्यले उनका सुपुत्र कवि हनिफ मियाँको अध्यक्षतामा २०५९ वैशाखमा पोखरामा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको स्थापना भएको छ। यस प्रतिष्ठानले उनको सम्झनामा दुईवटा पुरस्कारको प्रबन्ध गरेको छ। लोकसाहित्यसँग सम्बन्धित कृतिहरू, लोककवि र लोकसाहित्यमा लागेका व्यक्तिहरूको जीवनीसंग्रहको संरक्षण गर्ने उद्देश्यले पोखरामा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको भवन निर्माण गरिएको छ।
प्रतिष्ठानका अध्यक्ष हरिफ मियाँको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमबीच भवनको शिलान्यास भएको हो। करिब १५ लाख रुपैयाँको लागतमा भवनको निर्माणकार्य सम्पन्न भएको छ। पोखराको अलि मियाँ चोक मालेपाटनमा उनको सम्झनामा छ कोठाको पक्की भवनसहित अलि मियाँ लोकवाङ्मय सचिवालयको निर्माण गरिएको छ। जसलाई अलि मियाँ संग्रहालयको नामले चिनिन्छ–
अजम्बरी बन्ने बुटी अब आमा चिनें
लाहुरे हुने हैन मत बाटो खन्न हिनें।
जीवनभर लोकसाहित्य, लोकसंस्कृति र लोकगीतको जगेर्ना गर्नमा क्रियाशील अलि मियाँको योगदानको मर्यादा रहोस् भनेर यस प्रतिष्ठानले अलि मियाँ लोक वाङ्मय पुरस्कारको स्थापना गरेको हो। पूर्णतया अलि मियाँको पाटोमा यात्रा गर्ने सर्जक प्रतिभाहरूलाई यो पुरस्कार प्रदान गरिन्छ। प्रति दुई वर्षमा प्रदान गरिने प्रस्तुत पुरस्कार पहिलो पटक २०५९ का लागि उनले जीवित छँदादेखि नै यस क्षेत्रमा धेरै आशा र भरोसा गरेकी चर्चित लोकगायिका हरिदेवी कोइरालालाई अर्पण गरिएको छ। जीवनको अन्तिम अवस्थातिर आउँदा उनका सबै गीतको जिम्मा उनले हरिदेवीलाई दिए। नेपाली लोकसंस्कृति र लोकगीतको क्षेत्रमा देखिएका उदीयमान प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अलि मियाँ प्रोत्साहन प्रतिभा पुरस्कारको पनि प्रबन्ध गरिएको छ। त्यसैले भावविभोर बन्दै लोककवि अलि मियाँ पुनः बोल्छन्–
कविको कदर मरेमा हुन्छ बाँचेमा खरानी
रोएर मुक्त हुँदो हो तिनको एकमुठी परानी।
नेपाली लोकगायन र लोकसंगीत क्षेत्रका उत्कृष्ट प्रतिभा गन्धर्वहरूले बजाउने सारंगी र गन्धर्व जातिलाई कवि म.वी.वि. शाहले देशको आत्मा भनेका छन्। कवि कलाकार संगीतकारलाई असाध्यै माया गर्ने कवि शाह २०२१–०२२ सालतिर पोखराको फेवातालमा डुंगा चलाउने सिलसिलामा नेपाली लोकगीत लोकसंगीतका महारथिद्वय लोककवि अलि मिया र जनकविकेशरी धर्मराज थापालाई डुंगाको दायाँबायाँ किनारमा राखेर बीचमा बसेर चलाउँदा कवि शाहप्रति संकेत गर्दै मियाँ र थापाले गाएका थिए–
सलल बगेको डुंगा
मुसुक्क हाँसेको माझी दाइ।
बाबुको योगदानको बिँडो थाम्ने थोरै छोरामा कविपुत्र कवि हनिफ मियाँ पनि एक हुन्। उनी पनि बाबुकै शैली, भाका र लयमा गीत गाउन सक्छन्। कविता सिर्जना गर्न सक्छन्। सबैलाई मोहित पार्न सक्छन्। उनलाई कला र गला दुवैले साथ दिएको छ। अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान उनलाई जीवन्त राख्ने एउटा ऐतिहासिक साहित्यिक संस्था हो। जसबाट नेपाली लोकजीवनमा अलि मियाँको सदा सम्मान र सम्झना भइरहनेछ। यसका संस्थापक कवि हनिफ मियाँ यही वाचा गर्छन्।