आत्मा नबेचेका चेतन मिथ

आत्मा नबेचेका चेतन मिथ

मोबाइलको सानो पर्दामा निर्निमेष आँखा लाउँदै सोचिरहेछु– चेतन दाजुको अवशानले नेपाली साहित्य र चलचित्र क्षेत्रमा अपूरणीय क्षति त भयो नै तर सबैभन्दा ठूलो र भावनात्मक क्षति पोखरालाई भयो। चेतन दाइ पोखराको अत्यन्त सक्रिय र अगुवा सांस्कृतिक संस्था हिमाली सांस्कृतिक परिवारको प्रमुख संरक्षक हुनुहुन्थ्यो। अब उहाँको अभिभावकत्व पोखराले कहिले पनि नपाउने भयो। 


विक्रमाब्द २०७८, जेठ १४ गते शुक्रबार। समय– साँझ ५ः३० बजे।

नेपाल मुक्तक प्रतिष्ठानद्वारा आयोजित भर्चुअल शोकसभा !

शोकसभामा उक्त प्रतिष्ठानको सल्लाहकार भएको नाताले घरको सानो पुस्तकालय कक्षमा बसी जुम एपमा प्रत्यक्ष उपस्थित भएको छु। शोकसभा– दिवंगत वरिष्ठ मुक्तककार, समग्रमा नेपाली साहित्य र चलचित्र क्षेत्रका बहुआयामिक अग्रज स्रष्टा चेतन कार्कीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न आयोजना गरिएको थियो।

देशमा पूर्ण बन्दाबन्दी (लकडाउन) को अवस्था नभए पनि सन्त्रासको वातावरण छ। देश विदेशका सम्पूर्ण सञ्चारमाध्यममा कोभिडकै अप्रिय र सन्त्रास उत्पन्न गर्ने खबरहरू छन्। जाबो एउटा विषाणुले (भाइरस) मानिसका सभ्यनालाई यति ठूलो चुनौती उत्पन्न गर्न सक्ला भनेर कसले सोच्न सक्थ्यो र !

छिमेकी देश भारतमा कोभिडको प्रकोप बढिरहेको अवस्थामा चेतन कार्की दाजु देहरादुनतर्फ प्रस्थान गर्नुभएको थियो भन्ने सुनेको हुँ। सुन्दा सुखकर लागेको थिएन तर दुःख मान्नुपर्ने कारण पनि थिएन। थाहा थियो, चेतन दाजुको पहिलेको उत्तरप्रदेश, अहिलेको उत्तराखण्डको देहरादुनसित पुरानो नाता छ। १९९५ सालमा स्याङ्जाको आरुखर्कमा कप्तान जुद्धवीर कार्की र चन्द्रमाया कार्कीको सन्तानका रूपमा जन्मेका, कप्तान बाबु जुद्धवीर साथ देहरादुन पुगी त्यहीँ हुर्केका, हिन्दी साहित्यमा एम.ए, जीव विज्ञानमा बी.एस्सी गरेका र उतैबाट साहित्य लेखन आरम्भ गरेका चेतन दाजुको देहरादुनसित सम्बन्ध कसरी टुट्न सक्थ्यो र ? सम्भवतः अनिवार्यरूपले जानैपर्ने परिस्थितिको कारण उहाँ देहरादुन जानुभयो। देश फर्कंदा कोभिड संक्रमित भएर फर्कनु भयो। कोभिड संक्रमणकै कारण २०७८ जेठ २ गते उहाँको असामयिक देहावसान भयो।

मुक्तककार भाइ यादव भट्टराईले शोकसभा सञ्चालन गर्दैछन्। मोबाइलको सानो पर्दामा निर्निमेष आँखा लाउँदै सोचिरहेछु– चेतन दाजुको अवशानले नेपाली साहित्य र चलचित्र क्षेत्रमा अपूरणीय क्षति त भयो नै तर सबैभन्दा ठूलो र भावनात्मक क्षति पोखरालाई भयो। चेतन दाइ पोखराको अत्यन्त सक्रिय र अगुवा सांस्कृतिक संस्था हिमाली सांस्कृतिक परिवारको प्रमुख संरक्षक हुनुहुन्थ्यो। अब उहाँको अभिभावकत्व पोखराले कहिले पनि नपाउने भयो। यो अपरिमित दुःखलाई पोखराका अर्का सांस्कृतिक अभिभावक नरबहादुर शेरचन (अवकाश प्राप्त प्रहरी निरीक्षक) काकाले कसरी सहनु भयो मैले सोध्ने आँट गरिनँ। यो दुःखमा चाँडै नै अर्को दुःख थपियो– हिमाली सांस्कृतिक परिवारका अत्यन्त सक्रिय, स्थापना कालदेखिका अध्यक्ष एवं सांस्कृतिक नायक मेनकाजी गुरुङको कोभिडजन्य समस्याकै कारण भएको आकस्मिक निधनले ! केही समय अगाडि मात्र उनकी श्रीमतीको पनि कोभिडकै कारण निधन भएको थियो।
हिमाली सांस्कृतिक परिवार र पोखरेली संस्कृतिलाई बज्रपातमाथि बज्रपात ! शोकसभामा देशविदेशबाट जोडिएका वरिष्ठदेखि कनिष्ठसम्म – मुक्तककाररूका श्रद्धा शोक मन्तव्यहरू आरम्भ भइसकेको छ।

चेतन दाजुको नेपाल चलचित्रमा योगदानको सिंहावलोकन र बहस सुयोग्य चलचित्रकर्मीहरूले नै गरुन्। मेरो उद्देश्य खाली चेतन दाइको ‘पोखरा कनेक्सन’ लाई स्मरण गर्नु हो, पोखरामा परिव्याप्त चेतन मिथहरूलाई स्मरण गर्नु हो। जससित उहाँको साहित्यकर्म र संस्कृतिकर्म अभिन्न रूपले जोडिएका छन्। 

म चेतन दाजुमा केन्द्रित हुन खोज्दैछु। मनमा चेतन दाजुका मिथिकल बिम्वहरू मडारिएका छन्। चेतन दाजु मत्स्य विकास र प्रशासनमा डिप्लोमा पनि भएकाले फेवाताल बैदामस्थित पोखरा–ताल विकास योजनामा प्रमुख र मत्स्यशास्त्रको प्राविधिकको जिम्मेवारी सम्हाल्न २०१८ माघदेखि नै पोखरा बस्नुभएको थियो। उहाँ विशेषगरी २०२०/२१ देखि २०२४/२५ को समयावधिमा पोखराको सांस्कृतिक एवं रंगमञ्चीय क्रियाकलापमा सक्रिय हुनुभएको थियो। उहाँ तत्कालीन ‘हिमाञ्चल सांस्कृतिक परिषद्’को अगुवा व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले २०२२ सालमा मल्टिपर्पोज हाइस्कुल, पुरानो टँुडिखेलका प्रधानाध्यापक श्याम पन्तको अनुरोधमा ‘आत्मा बेचेको छैन’ नामको नाटक लेखेर स्वयं निर्देशन गरेर प्रदर्शन गराउनु भएको थियो।

चेतन दाजु पोखरामा केही वर्ष मात्र बस्नु भयो तर उहाँसम्बन्धी मिथहरू अहिले पनि पोखराको हावापानीमा घुलेर बसेका छन्। चेतन कार्कीको संस्कृति प्रियताको मिथ, चेतन कार्कीको स्वाभिमानको मिथ, चेतन कार्कीको घोडाको मिथ, चेतन कार्कीको कवि भूपि शेरचनसितको परिचय र घनिष्ठताको मिथ।

शोकसभामा मन्तव्यको क्रम जारी छ।

२०२५ सालतिर स्वाभिमानकै कारण मत्स्य विकासको जागिरबाट राजीनामा दिई चेतन दाजु चलचित्र विकासतर्फ लाग्नुभयो। भनिन्छ, चलचित्र निर्देशक हरिसिंह खत्रीको आग्रहमा उहाँ ‘परिवर्तन’ नामक चलचित्रको पटकथा लेखक बन्नु भएको थियो। २०२८ सालमा शाही चलचित्र संस्थान स्थापना भएपछि उहाँ उक्त संस्थानको निर्माण अधिकृत बन्नुभयो। उहाँ निर्माण अधिकृत रहेकै समय ‘मनको बाँध’, ‘कुमारी’, ‘सिन्दूर’, ‘जीवन रेखा’जस्ता चलचित्र बनेका थिए। उहाँले ‘बैनीको दया छ भने’, ‘तीजको लहर आयो बरी लै’ जस्ता सुप्रसिद्ध चलचित्र गीतहरू पनि रच्नु भएको थियो।

१० वर्षसम्म निर्माण अधिकृतको जागिर खाएपछि स्वाभिमानकै कारण राजीनामा, कैयौं चलचित्रमा पटकथा र गीतलेखन, चलचित्र ‘भुँमरी’बाट चलचित्र निर्देशन, प्राविधिक सल्लाहकार आदि अनेक अवतारमा देखिनुभएका चेतन दाजुले चलचित्र जगत्मा पाँच दशकभन्दा बढी समय गुजार्नु भयो। हिन्दी चलचित्रका अभिनेता बलराज साहनीले झैं उहाँले आफ्नो फिल्मी आत्मकथा लेख्नुभएको भए त्यो निक्कै रोचक र पठनीय हुन सक्थ्यो।

चेतन दाजुको नेपाल चलचित्रमा योगदानको सिंहावलोकन र बहस सुयोग्य चलचित्रकर्मीहरूले नै गरुन्। मेरो उद्देश्य खाली चेतन दाइको ‘पोखरा कनेक्सन’ लाई स्मरण गर्नु हो, पोखरामा परिव्याप्त चेतन मिथहरूलाई स्मरण गर्नु हो। जससित उहाँको साहित्यकर्म र संस्कृतिकर्म अभिन्न रूपले जोडिएका छन्। उहाँ चलचित्रका विराट व्यक्तित्व बन्न सक्नुमा पनि पोखरा कनेक्सन– याने कि पोखराको साहित्य र संस्कृतिसितको गहिरो सम्बन्ध नै त जिम्मेवार छ !

पुस्तकाकार रूपमा चेतन दाजुका ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’, ‘ढलेको गिलास’जस्ता उपन्यास, ‘जून निदाउन थाल्यो’, ‘हत्केलाले सधैंभरि सूर्य छेकिँदैन’ जस्ता गीत र मुक्तक संग्रह, ‘हो देश मेरो पनि’ नामको गजल संग्रह प्रकाशित भए। उहाँको ‘कल्पना टुट चुकी है’ नाममा हिन्दी–उर्दू कविता संग्रह पनि प्रकाशित भयो। सहलेखनमा उहाँको ‘साइट, साउन्ड एन्ड पल्स’ पनि प्रकाशित भयो। पुस्तकाकार रूपमा संग्रहीत नभएका, विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका उहाँका लेख, रचनाहरू, गीत–गजलहरू, मुक्तक–हाइकुहरू, कविता र कथाहरू कति छन्, यी भविष्यमा अध्ययन–अनुसन्धानका विषय हुन्। यी सबै प्रकाशित–अप्रकाशित कृतिहरू, जानकारीहरू उहाँको समग्र व्यक्तित्व पोखरासित कति घनिभूतरूपले जोडिएको थियो भन्ने कुरा उहाँका यी शब्दहरूले अभिव्यक्त गरेका छन्। उदाहरणको रूपमा, ‘स्याङ्जामा जन्मेर, देहरादुनमा हुर्के पनि, कला र संस्कृतिप्रतिको मेरो बालककालदेखिको अभिरुचिलाई, जुन पारिवारिक र सामाजिक परिवेशले गर्दा एउटा बीउझैं सुषुप्त अवस्थामा मभित्र कतै लुकी बसेको थियो। पोखराको अपरिमित प्राकृतिक सौन्दर्यको र पोखरेलीहरूको स्नेहपूर्ण व्यवहारले अंकुरित बनाएर ल्यायो। त्यसैले पनि होला, स्याङ्जाले मलाई जन्म दिएर गुन लगाएको छ भने देहरादुनले मलाई केही देख्ने र सुन्ने योग्य तुल्याएको छ। पोखराले मलाई र मभित्र अन्तर्निहित कलापे्रमीलाई आफ्नु सहज सौन्दर्यले कहिल्यै तिरेर नसक्ने गुन लगाएको छ भन्ने कुरा जीवनपर्यन्त बिर्सन सक्दिनँ।’ (‘आत्मा बेचेको छैन’ को जन्मकथाबाट)।

भर्चुअल शोकसभामा मन्तव्यको क्रम उत्तरार्धतर्फ लम्किरहेको छ। नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष वरिष्ठ मुक्तककार रामकाजी कोनेबाट आज सभापतिको मन्तव्यमा नेपाली साहित्यका अग्रगन्य मुक्तककारत्रय रत्नशमशेर थापा, कृष्णप्रसाद पराजुली र चेतन कार्कीको स्मृति र सम्मानमा नेपाल मुक्तक पुरस्कारको घोषणा हुने कार्यक्रम छ। साथमा भीमदर्शन रोकाको सम्झनामा भीमदर्शन रोका सम्मानको घोषणा पनि। मन्तव्यको क्रममा के बोलुँ भनेर सोचिरहेछु, केही सम्झने कोसिस गरिरहेछु।

सम्झनामा ‘आत्मा बेचेको छैन’ अत्यन्त बलशाली भई उपस्थित छ। चेतन दाजुको पहिलो प्रकाशित कृति ‘आत्मा बेचेको छैन’ उपन्यासको रूपमा २०२३ सालमै पोखराको कल्याण पाकेट बुक्सबाट प्रकाशित भएको थियो। लाहुरे कथाव्यथा र राष्ट्रियतामा आधारित यस चर्चित उपन्यासको दोस्रो संस्करण २०३० सालमा भानु प्रकाशनबाट प्रकाशित भएको थियो। पहिलो संस्करणमा पढें कि दोस्रो ? यकिन सम्झना भएन। क्याम्पस जीवनका प्रारम्भिक वर्षहरूमै यो उपन्यास पढेको थिएँ। आफू लाहुरे पोखराको बासिन्दा भएको, बालककालदेखि लाहुरेहरूलाई बजारमा गाइने पछि लगाई ट्रान्जिस्टर भिरेर ठाँटपूर्वक हिँडेको देखेको र यो उपन्यास पनि लाहुरे जनजीवनमा केन्द्रित भएकाले मलाई उपन्यासले चुम्बकले फलामलाई झैं तानेको थियो।

म चेतन दाजुझैं लाहुरेको छोरा नभए पनि लाहुरेको भाञ्जा थिएँ। आत्मा बेचेको छैन– उपन्यासको नामले त एउटा गहकिलो र श्वाश्वत मूल्यको उखानले झैं तानेको थियो। तर पोखराको नाटक र रंगमञ्चको इतिहास खोजी गर्ने क्रममा जब चेतन दाजुको बहुचर्चित उपन्यास ‘आत्मा बेचेको छैन’ पहिले नाटकको रूपमा रचना भई २०२२ सालमा पोखरामा उहाँकै निर्देशनमा मञ्चित भएको जानकारी प्राप्त भयो, म अल्हादित भएँ। सोच्न थालें, आत्मा बेचेको छैन नाटकलाई म नाटक रुचाउने मान्छे, नाटककै रूपमा पढ्न पाएको भए कस्तो हुन्थ्यो होला ?

सम्झना भयो, २०५४ सालमा हामी केही साहित्यकार मिलेर मेघा प्रकाशन स्थापना गरेका थियौं। यस प्रकाशनको मुख्य उद्देश्य पोखराबाट राष्ट्रियरूपमा एउटा स्तरीय साहित्यिक पत्रिका प्रकाशन गर्नु थियो। जसको नाम ‘सारस्वत’ राखियो। साहित्यिक मित्रहरूले कविवर तेजनाथ घिमिरे र मलाई सारस्वतको सम्पादनको जिम्मेवारी सुम्पिए। कविवर तेजनाथ घिमिरे अग्रज हुनुभएकाले देशभरबाट लेखरचना संकलन गर्ने जिम्मा मैले लिएँ। त्यस क्रममा सारस्वतको दोस्रो अंकका लागि लेखरचना संकलन गर्ने क्रममा मैले चेतन दाजुलाई सम्पर्क गरें।

परिवर्तन’ नामक चलचित्रको पटकथा लेखक बनेका चेतन कार्की २०२८ सालमा शाही चलचित्र संस्थानमा निर्माण अधिकृत भए। सोही समयमा ‘मनको बाँध’, ‘कुमारी’, ‘सिन्दूर’, ‘जीवन रेखा’जस्ता चलचित्र बनेका थिए। उहाँले ‘बैनीको दया छ भने’, ‘तीजको लहर आयो बरी लै’ जस्ता सुप्रसिद्घ चलचित्र गीतहरू पनि रच्नु भएको थियो।

‘दाजु, तपाईंले बीसको दशकमा ‘आत्मा बेचेको छैन’लाई मूल नाटकको रूपमा लेखेर मञ्चन गर्नुभएको कुरा सुनेको छु। यो पछि उपन्यासमा कसरी रूपान्तरित भयो र पोखरा बसाइँमा तपाईंका साहित्यिक–सांस्कृतिक क्रियाकलाप कस्ता रहे। यससम्बन्धी एउटा सस्मरण लेखिदिन अनुरोध गरें। यसले हामीलाई भविष्यमा सांस्कृतिक इतिहास लेखन गर्न सहयोग पुर्‍याउनेछ’, मैले आग्रह गरें। ‘म प्रयास गरुँला भाइ !’ उहाँले वचन दिनुभयो।

थाहा थियो, अग्रजहरूलाई आग्रह गर्न जति सजिलो हुन्छ, उहाँहरूबाट समयमा लेखरचना पाउन त्यत्ति नै गाह्रो हुन्छ। अग्रजहरूलाई बारम्बार आग्रह गरिरहनु पर्ने बाध्यता हुन्छ। तर यस अप्रिय बाध्यताको विपरीत चेतन दाजुबाट अनपेक्षितरूपले समयमै संस्मरण आइपुग्यो– आत्मा बेचेको छैनको जन्मकथा। मैले संस्मरणका पाना पल्टाएँ। सुनजस्ता असाध्य 
दामी र सुन्दर अक्षरमा संस्मरण लेखिएको रहेछ। मैले एकै सासमा संस्मरण पढें। खुसीले मेरो 
मन तीन बित्ता उफ्रियो।
मन तीन बित्ता उफ्रनुको कारण चेतन दाजुबाट आग्रह अनुरूपको संस्मरण पाउनु मात्र थिएन, विस्मरणको अँध्यारोमा हराउँदै गएको एउटा इतिहासको सम्प्राप्ति पनि थियो। संस्मरणमा चेतन दाजुले २०२१ सालसम्ममा आफू पोखराको सांस्कृतिक र रंगमञ्चीय जीवनमा पूर्णरूपले समाहित भइसकेको, हिमाली सांस्कृतिक परिषद्मा आबद्ध भएको, राष्ट्रिय नाचघरबाट आयोजना गरिने अञ्चलस्तरीय नेपाली लोकनृत्य प्रतियोगितामा गण्डकी अञ्चलको प्रतिनिधित्व गरी लोकनृत्य टोली पुरस्कृत भएको उल्लेख गर्नुभएको थियो। प्रसिद्ध कवि भूपि शेरचनसित परिचय भएको, मल्टी पर्पस हाइस्कुलका प्रधानाध्यापक श्यामप्रसाद पन्तको आग्रहमा ‘आत्मा बेचेको छैन’ नाटक लेखी प्रदर्शन गरेको, व्यक्तिगत अहंको कारण तत्कालीन सहायक अञ्चलाधीशले नाटक प्रदर्शनका सिलसिलामा भाँचो हाल्ने प्रयास गरेको पाएँ।

नेआत्मा नबेची स्वाभिमान कमाउनुको नाम हो– चेतन कार्की। उकालीकै ओराली, दृढता जमाउनुको नाम हो– चेतन कार्की। ढुंगामाटो, हावापानी सृष्टिभरि सर्वत्र ‘चेतन’ छरिएर चेतनाविहीनलाई चेतना थमाउनुको नाम हो– चेतन कार्की।

नाटकको एक मात्र पाण्डुलिपिप्रति अञ्चलाधीश कार्यालयमा प्रदर्शन स्वीकृतिका लागि बुझाउन बाध्य भएको, नाटकको सफलतापूर्ण प्रदर्शनपछि नाटकलाई आफूले उपन्यासको रूप दिएर प्रकाशित गर्ने निर्णय गरेको पनि त्यसमा थियो। निर्णय अनुरूप उपन्यास लेखेपछि चीनबहादुर बड्गामीद्वारा सञ्चालित पोखराको एकमात्र छापाखाना ‘लक्ष्मी पे्रस’मा छपाइको काम थालिएको पनि रहेछ। सहायक अञ्चलाधीशले चीनबहादुर बड्गामीलाई उपन्यास नछाप्नू, छापे कारबाही गरिनेछ भनी व्यक्तिगत रिसइबीका कारण धम्क्याएको समेत उल्लेख छ। पछि आफू अञ्चलाधीश कार्यालय गई सहायक अञ्चलाधीशलाई शक्तिको दुरुपयोग नगर्न चेताउँदै, आफ्नो स्वाभिमानमा स्थिर रही उपन्यास प्रकाशित गरेको जस्ता रोचक, ऐतिहासिक र नाटकीय जस्ता प्रसंगहरू उल्लेख गर्नुभएको छ। यो संस्मरणात्मक आलेख तत्कालीन समयको एक जीवन अभिलेखको रूपमा सुरक्षित रहनेछ।

भर्चुअल शोकसभामा अब मन्तव्यको पालो मेरो आउने सूचना पाइसकेको छु। अब सबै सम्झनालाई साँचिराखेर एउटा मात्र प्रसंग उल्लेख गर्छु, जसबाट चेतन दाजुको चेतना पोखरेली माटोमा कति गहिरिएर बसेको रहेछ भन्ने प्रमाणित हुन्छ।

पचासको दशकको कुनै महिना। चेतन दाजु पोखरा आउनु भएको जानकारी पाएर उहाँलाई पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रत्येक महिनाको पहिलो शनिबार आयोजना हुने ‘समता काव्यसन्ध्या’ मा सन्ध्या नायक बन्न आमन्त्रित गर्‍र्यौं। आमन्त्रण स्वीकार गरेर उहाँ पोखरा, नदीपुरस्थित कन्या स्कुलमा आउनुभयो, जहाँको एउटा सानो कक्षा कोठामा नियमितरूपले समता काव्यसन्ध्याका कार्यक्रम हुने गर्थे।

देश विदेशका भव्य–विशाल पे्रक्षालयहरूमा हजारौं जनसमुदायको उपस्थितिमा सम्मानित भएका चेतन दाजुलाई हामीले कन्याहरू अध्ययन गर्ने सानो कक्षाकोठामा, सानो उपस्थितिमा, खाली फूलमाला अर्पण गरी सामान्यरूपले सम्मान गर्‍यौंै। सम्मान गरेपछि हामीले उहाँलाई कार्यक्रमको प्रचलित क्रम अनुरूप मन्तव्य व्यक्त गर्न अनुरोध गर्‍यौं। उमेर र अनुभवले पाकेका श्वेत केशराशि, प्राज्ञिक विद्वताले आभामण्डित भएको गम्भीर चेहरा लिएर उहाँ शिक्षकझैं उभिनु भयो, हामी विद्यार्थीझैं लामालामा बेन्चमा बसिरह्यौं।

एक दुई पटक मैले चेतन दाजुलाई काठमाडौंका कवि गोष्ठीहरूमा संस्कृतको कुनै श्लोकबाट वा प्रख्यात हिन्दी, उर्दू र नेपाली कविका केही हरफहरूबाट सम्बोधन आरम्भ गरेको देखेको थिएँ। सायद यहाँ पनि त्यसै गर्नुहोला, सोचें। तर, उहाँ शिक्षकझैं उभिएर लामो समयसम्म बोल्न सक्नु भएन। मैले बुझें, सबैले बुझें– अन्तर्मनमा खेलेका बगे्रल्ती भावनाहरूले गर्दा उहाँ मौन र ध्यानस्थ हुनुभएको छ। भावनाहरू केही नियन्त्रणमा आएपछि उहाँ सुस्तरी, मधुर स्वरले बोल्न थाल्नुभयो। हाम्रो अपेक्षाअनुरूप उहाँले आफ्नो लेखनयात्रा र पोखरा कनेक्सनबारे बोल्नु भयो।

‘मैले जीवनमा धेरै स्थानमा धेरै प्रकारले सम्मानित हुने अवसर पाएको छु। तर आज पोखराले जुन सम्मान दिएको छ, यसको अरू केहीसित तुलना गर्न सकिँदैन। पोखराले मलाई आज मेरो पहिचान दिएको छ।’ पोखराको हावा, पानी र माटोमा घुलमिल भएको भावनामा डुबुल्की मार्दै उहाँले भन्नुभयो। भन्दाभन्दै, बोल्दाबोल्दै उहाँको गला अवरुद्ध भयो। चेहरामा पे्रम–अभिषिक्त रोदनका लक्षणहरू प्रकट भए। आँखाहरू रसाए। उहाँ बस्नु भयो। हामीले थाहा पायौं, उहाँको मन्तव्य अन्त्यबिनै अन्त्य भयो।

शोकसभामा मन्तव्यको पालो आई नै हाल्यो। म सोच्दै थिएँ, पोखरामा आत्मा छोडी काठमाडौं जाने चेतन दाजुबारे, आत्मा बेच्नु हँुदैन भन्ने चेतन दाजुबारे, आत्मा नबेच्ने चेतन दाजुबारे र आत्माभिमानको लागि जुनसुकै पहाडलाई पनि टक्कर मार्ने चेतन दाजुबारे। यस्ता मिथिकल चेतन दाजुको नाममा म 
के बोलुँ ? मुक्तककारहरूद्वारा आयोजित भर्चुअल शोकसभामा अरू केही बोल्नुभन्दा बरु एउटा मुक्तक वाचन गर्नु नै वेश, चेतन दाजुप्रति हार्दिक सम्मान  श्रद्धाञ्जलि अर्पण गर्दै :
आत्मा नबेची स्वाभिमान कमाउनुको 
नाम हो– चेतन कार्की।
उकालीकै ओराली, दृढता जमाउनुको 
नाम हो– चेतन कार्की।
ढुंगामाटो, हावापानी सृष्टिभरि 
सर्वत्र ‘चेतन’ छरिएर चेतनाविहीनलाई 
चेतना थमाउनुको नाम हो– चेतन कार्की।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.