लोभलाग्दो कृषि कर्म
फिदिम : साँवा अक्षरसम्म फुटाउन नसक्ने उनीसँग सरकारी जागिरको कुनै गुञ्जायस थिएन। पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन। बरु गाउँघरमै छिमेकीको मेलापात र आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँथे, फाल्गुनन्द–५ का प्रीतिहाङ नेम्वाङ।
दुई छोरा (अरुण र राजकुमार) हुर्कंदै गएपछि नेम्वाङलाई खर्च अभावले परिवार सञ्चालन गर्न र उच्च शिक्षा दिलाउन समस्या हुन थाल्यो। त्यसपछि थाले, व्यावसायिक अकबरे खेती। अहिले उनी त्यसैबाट राम्रो आम्दानी
गरिरहेका छन्। सरकारी जागिर खानेको भन्दा उनको कमाइ कम छैन। विदेश पलायन हुने युवाका लागि उनी उदाहरण नै बनेका छन्। ‘छोरा हुर्केपछि उनीहरूलाई उच्च शिक्षा दिलाउन खर्च अभावले समस्या पर्यो,’ प्रीतिहाङले विगत सम्झँदै भने, ‘खर्चको समस्या हुन थालेपछि व्यावसायिक रूपमा खेती थालें।’
फाल्गुनन्द—५ निबुखोलामा उनले १५ रोपनी जमिनमा व्यावसायिक खेती गरेका छन्। ‘दाजुभाइ कृषि तथा बंगुरपालन फर्म’ दर्ता गरेर प्रीतिहाङ व्यावसायिक रूपमा कृषि कर्मामा लागेका हुन्। उनको कृषि फर्मबाट सुन्तला र कागतीका हजारौं बेर्ना उत्पादन भएका छन्। अकबरे र अंगुर खेती फष्टाएको छ। सूर्यमुखी, अदुवा, लसुन र प्याज खेती लहलहाउँदो छ। माछा र बंगुर पनि पालेका छन्। घर वरिपरि मौरीका घार छन्। ‘व्यावसायिक रूपमा कृषि गरेरै राम्रो आम्दानी गर्न सकिने रहेछ,’ प्रीतिहाङ भन्छन् ‘खेतीबाट राम्रो आम्दानी भइरहेको छ, खर्चको अभाव छैन।’ जेठो अरुणले कक्षा १२ पढिसके। कान्छो राजकुमार पढिरहेका छन्। फुसर्दको समयमा अरुण र राजकुमार आमाबुवासँग काम गर्छन्। ‘श्रीमती विमला चेम्जोङ र छोराहरू पनि खेतीमा निपुण भइसके,’ प्रीतिहाङले भने ‘हाम्रो परिवार नै कृषि कर्ममा लागेको छ। कृषिमा छोराहरूको मेहनत देखेर खुसी लाग्छ।’
प्रीतिहाङले अकबरे (हरियो) प्रतिकिलो चार सय रुपैयाँले घरबाटै बिक्री गर्छन्। सुन्तला र कागतीको बेर्ना प्रतिगोटा २० रुपैयाँले बिक्री हुन्छ।