स्वागत गेट स्थानीय सरकारले गर्ने सबैभन्दा अनुत्पादक खर्च हो : महामन्त्री थापा
तनहुँ : नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले अब देशमा प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन्। आइतबार तनहुँको शुक्लागण्डकी ४ दुलेगौँडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान् तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापा भने, ‘प्रत्यक्ष निर्वाचन प्रणालीबाटै दलित, महिला, अल्पसंख्यकको उचित प्रतिनिधित्व कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरौं। होइन भने, नेपालमा कहिले पनि कुनै एउटा पार्टीको बहुमतको सरकार नबन्ने भयो।’
कुनै एकल पार्टीको बहुमत सरकार नबन्ने हो भने अनिवार्यरुपमा गठबन्धन वा तालमेलमा जानुपर्ने महामन्त्री थापाको भनाई थियो। उनले भने, ‘गठबन्धन र तालमेल भनेको भागबण्डा मात्र हो भन्दै गइयो भने नेपालको राजनीतिक व्यवस्थामाथि नै लगातार जनविश्वास गुम्दै जान्छ। त्यो अर्को कुनै सन्दर्भमा छलफल गरौंला। अहिलेका लागि हामीसँग अरु बाटो छैन। असारको बैठकबाट निर्णय गर्छौँ। चुनावको मितिपनि तोकिन्छ। नयाँ कार्यक्रम पनि आउँछ।’
पूर्वमन्त्रीसमेत रहेका थापाले इतिहासलाई जोडेर वा प्रतिपक्षलाई आक्षेप लगाएर चुनावी प्रचार नगरिकन हिजोको सही कुराको प्रेरणा लिएर गलत कुराबाट सिकेर राम्रो कामका लागि लगातार विज्ञहरुलाई संलग्न गराई तयारी गरिरहेको जानकारी दिए।
जवाफदेहिता र पारदर्शिता हरायो भने चुनावको मात्र केही अर्थ नहुने र त्यो प्राविधिक विषयमात्र हुने उनको तर्क थियो। उनले भने, ‘चुनाव एउटा माध्यम हो। हामीले चुनावलाई लाइसेन्सको रुपमा बुझ्यौं। चुनावबाट निर्वाचित भएर आएपछि पाँच वर्षका लागि लाइसेन्स हो? होइन, त्यो लाइसेन्स प्रत्येक पल रिन्यू (नविकरण) गर्नुपर्छ ।‘ उनले चुनावलाई बुझन नसकेको जिकिर गरे ।
नेता थापाले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट मेयर, उपमेयर, वडाध्यक्ष जितेको र अबको जवाफदेहिता भनेको जनताको सेवा गर्नु रहेको बताए। उनले भने, ‘गठबन्धन गरेर जित्नु भनेको हामी मिलेर काम गर्छौँ भनेर आएको हो। मिलेर काम गर्न छलफल र संवाद हुनुपर्छ। उनले नेपाली काँग्रेसको भयानक कमजोरी भनेको संवाद नहुनु रहेको उल्लेख गरे। उनले संवादबाटै निष्कर्ष आउने भएकाले संवादमा जोड दिनुपर्ने बताए।
जनप्रतिनिधिहरुलाई सम्बोभन गर्दै महामन्त्री थापाले आम्दानीको श्रोत र खर्चको सन्तुलन मिलाएर योजना बनाउन सुझाव दिए। उनले स्वागत गेट र भ्यू टावर जस्ता अनुत्पादन क्षेत्रमा लगानी नगर्न पनि सुझाए। भने, ‘हामीले हाम्रो संकल्पपत्रमा देशभरि एउटा पनि स्वागत गेट नबनाउने भनेका छौं। स्वागत गेट आजको दिनमा स्थानीय सरकारले गर्ने सबैभन्दा अनुत्पादक खर्चमध्ये हो। हामीले भ्यू टावर पनि बनाउने छैनौं।’
स्थानीय सरकारले अझैपनि आय श्रोतको पहिचान गर्न नसकेको उनको भनाई छ। उनले जनप्रतिनिधिहरुमा म शासक होइन, म सेवक हुँ भन्ने भावना पैदा हुनुपर्ने बताए। जनप्रतिनिधिमा नम्रता र बढी बोल्ने भन्दा अरुलाई धेरै सुन्ने र समेट्न सक्नु पर्नेमा जोड दिए।