मुस्ताङ अदालतमा ८४ दशमलव २ प्रतिशत मुद्धा फर्छयौट
जोमसोम : मुस्ताङमा चालु वर्ष २०७८/०७९ मा ८४ दशलव २ प्रतिशत मुद्धाफर्छयौट भएको छ। आईतबार जिल्ला अदालत जोमसोमले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा हालसम्मकै बढी मुद्धा फर्छयौट भएको अदालतले जानकारी दिएको हो।
जिल्ला अदालत मुस्ताङका श्रेस्तेदार मुकुन्द आचार्यले गत वर्ष जिम्मेवारी सरेका १३ मुद्धा र चालु वर्ष दर्ता भएका २५ मुद्धा गरी कुल ३८ मुद्धा मध्ये ३२ वटा मुद्धाफर्छयौट भएको बताए। उनका अनुसार गतवर्ष जिम्मेवारी सरेको देवानी मुद्धा ६ थान र सरकारवादी फोजदारी मुद्धा ७ थान गरी १३ थान सरकारी मुद्धा चालु वर्ष जिम्मेवारी थपिएको थियो। चालुवर्ष २५ थान मुद्धा दर्ता भएकोमा देवानी मुद्धा १४ थान, दुनियावादी मुद्धा २ थान, सरकारवादी फौजदारी मुद्धा ९ थान दर्ता भएको अदालतका श्रेस्तेदार आचार्यले उल्लेख गरे।
जिल्ला अदालत मुस्ताङमा चालुवर्ष देवानी मुद्धा शतप्रतिशत फछ्यौट भईसकेर शून्यमा झारिएको छ। गतवर्ष जिम्मेवारी सरेको ६ वटा र चालु वर्षको १४ थान देवानी मुद्धा फर्छयौट भएको हो। चालुवर्ष अदालतमा दर्ता भएको २ थान दुनियावादी मुद्धामध्ये १ को फर्छयौट भईसकेको छ भने १ बाँकी छ। यस्तै गत वर्ष जिम्मेवारी सरेको ७ र चालुवर्षको ९ थान सरकारवादी फौजदारी मुद्धा गरी १६ मुद्धामध्ये ११ वटा मुद्धा फर्छयौट भएको श्रेस्तेदार आचार्यले जानकारी दिए।
अहिले जिल्ला अदालत मुस्ताङमा जवरजस्ती करणी मुद्धा ३ थान,सवारी ज्यान १ थान र सवारी अंगभंग १ थान मुद्धाफर्छयौट हुन बाँकी रहेको छ। यस्तै दुनियावादी फौजदारी मुद्धा १ थान पनि फछ्यौट हुन बाँकी छ। मुस्ताङ जिल्ला अदालतमा दर्ता भएका मुद्धा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेद मुद्धा बढी भएको जिल्ला न्यायधिश रोमाकान्त ज्ञवालीले जानकारी दिए। उनका अनुसार मुस्ताङ जिल्ला अदालतमा सम्वन्धविच्छेद, लागू औषध, सवारी ज्यान, जबरजस्ती करणी, कुटपिट अंगभंग, अंश चलन, लिखत बदर, बकसपत्र बदरलगायतका मुद्धा दर्ता हुने गरेको छ।
चालु वर्ष २२ थान मुद्धा दर्ता हुने प्रक्षेपण गरिएकोमा २५ थान मुद्धा दर्ता भएको थियो। यस्तै जिल्ला अदालत मुस्ताङले चालुवर्ष २४ थान मुद्धा फर्छयौट गर्ने प्रक्षेपण गरेकोमा ३२ थान मुद्धा फर्छयौट भएको जनाईएको छ। जिल्ला न्यायाधिश रोमाकान्त ज्ञवालीले अदालतको सेवा प्रवाह प्रभावकारी बनाउन सेवामैत्री परामर्श ‘मिट द जज, जडिसियल आउटरिच’ जस्ता कार्यक्रम सम्पन्न भएको जानकारी दिए।
नागरिकलाई छिटो छरितो र गुणस्तरीय न्याय सम्पादनलाई अदालतले जोड दिएको जिल्ला न्यायधिश ज्ञवालीले उल्लेख गरे।